डेढ अर्बको बजेट फिर्ता

हेटौंडा । संघीय सरकारले गत आर्थिक वर्ष ०७५-७६ मा मकवानपुरका विभिन्न कार्यालय र स्थानीय तहमा पठाएको एकीकृत विनियोजनतर्फको एक अर्ब ३८ करोड ४४ लाख रुपैयाँ फिर्ता भएको छ । कोष तथा लेखा नियन्त्रण कार्यालय (कोलेनिका) मकवानपुरका अनुसार जिल्लामा पठाइएको विनियोजन खर्चबापतको १४ अर्ब १४ करोड ९१ लाखमध्ये १२ अर्ब ७६ करोड ४६ लाख मात्र खर्च भएको कारण बाँकी रकम फिर्ता भएको हो ।

कोलेनिकाका अनुसार डिभिजन सडक कार्यालय हेटौंडाको बजेट सबैभन्दा बढी रकम फ्रिज भएको छ । कार्यालयको लागि सरकारले ९७ करोड ७८ लाख ९५ हजार छुट्याएकामा ३५ करोड ९६ लाख ६३ हजार रुपैयाँ खर्च हुन नसकेको हो । त्यस्तै संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजनाको लागि छुट्याइएको एक अर्ब ३६ करोड ९४ लाख ६५ हजारमध्ये ३० करोड तीन लाख खर्च हुन नसकी फ्रिज भएको कोलेनिकाका कोष नियन्त्रक प्रमोद मैनालीले बताए ।

उनका अनुसार जिल्ला आयोजना कार्यान्वयन इकाइ शिक्षातर्फको पनि एक करोड १५ लाख रुपैयाँ बजेट फिर्ता गएको छ । कोष नियन्त्रक मैनालीले शिक्षाको भवन पुनःनिर्माणको लागि ४७ करोड ४६ लाख रुपैयाँ छुट्याइएको बताए । मकवानपुरका १० वटा स्थानीय तहमा पठाइएको एकीकृत विनियोजन खर्चतर्फको करिब ६ करोड रुपैयाँ फ्रिज भएको छ ।

सबै स्थानीय तहमा गरी ७४ करोड ६९ लाख ६० हजार पठाइएकामा ६ करोड ८ लाख १९ हजार रुपैयाँ खर्च हुन नसकेको उनको भनाइ छ । स्थानीय तहहरूले एकीकृत विनियोजन खर्चतर्फको ६८ करोड ६१ लाख ४० हजार मात्र खर्च गर्नसकेका हुन् । १० स्थानीय तहमध्ये थाहा नगरपालिका र इन्द्रसरोबर गाउँपालिकाले छुट्याइएको सबै रकम खर्च गर्न सफल भएका छन् ।
थाहा नगरपालिकाको आठ करोड २१ लाख ७२ हजारमा सबै रकम खर्च भएको हो भने इन्द्रसरोबर गाउँपालिकाको दुई करोड नै खर्च गर्न सफल

भएको कोष नियन्त्रक मैनालीले जानकारी दिए । हेटौंडा उपमहानगरपालिकाले पाएको २२ करोड ७४ लाख रुपैयाँ विनियोजन रकममध्ये पाँचलाख ३४ हजार मात्र फिर्ता भएको छ । मनहरी गाउँपालिकाको कुल ६ करोड २९ लाख ४७ हजार एकीकृत विनियोजन रकममध्ये एक करोढ ९६ लाख खर्च हुन नसकी फ्रिज भएको छ । चार करोड ५३ लाख ८७ हजार पाएको कैलाश गाउँपालिकाले ३३ लाख ९४ हजार खर्च गर्न सकेन ।

त्यसैगरी विकट गाउँपालिकाको रूपमा रहेको राक्सिराङ गाउँपालिकाले पाएको पाँच करोड ७८ लाख १० हजार एकीकृत विनियोजन रकममध्ये पाँच करोड ५३ लाख रुपैयाँ खर्च गरेको छ । मकवानपुरगढी गाउँपालिकाको पाँच करोड ७८ लाख ९९ हजारमध्ये ९८ लाख ३३ हजार रुपैयाँ खर्च हुन नसकेको कार्यालयको तथ्यांकले देखाएको छ । बागमती गाउँपालिकाको पाँच करोड ६१ लाख विनियोजन रकममध्ये २० लाख मात्रै फ्रिज भएको छ भने बकैया गाउँपालिकाको आठ करोड ४३ मध्ये एक करोड ८४ लाख रुपैयाँ खर्च हुन नसकेको कार्यालयले जनाएको छ । त्यस्तै भीमफेदी गाउँपालिकाको–४ करोड १६ विनियोजन रकममध्ये ४४ लाख ४० लाख भने फ्रिज भएको बताइएको छ ।

यसैबीच संघीय सरकारले स्थानीय तहलाई दिएको वित्तीय हस्तान्तरणतर्फको खर्च नभएको बजेट भने स्थानीय तहहरूले फिर्ता पठाइसकेका छैनन् । केही स्थानीय तहले सशर्त र समपूरक अनुदानको खर्च हुन नसकेको रकम फिर्ता पठाए पनि धेरैले हालसम्म फिर्ता नगरेको कोष नियन्त्रक मैनालीले जानकारी दिए । स्थानीय तहको लेखा परीक्षणपछि मात्रै सशर्त र समपूरक अनुदान रकमको वास्तविक खर्च विवरण आउने मैनालीले बताए । मकवानपुरका १० वटा स्थानीय तहलाई संघीय सरकारले दुई अर्ब ९९ करोड ४३ लाख वित्तीय हस्तान्तरणबापतको बजेट पठाएकामध्ये एक अर्ब १० करोड ३१ लाख रुपैयाँ वित्तीय समानीकरण बापतको रकम थियो ।

प्रतिक्रिया