संस्थाको हितलाई सहयोग गर्नुस : मन्त्री अर्याल

काठमाडौं । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले निजी स्वार्थ नभएर संस्थागत स्वार्थलाई सर्वोपरि ठान्ने व्यक्तिलाई सहयोग गर्न सहकारी संस्थाहरुलाई आग्रह गरेकी छन । नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघको ३२ औं स्थापना दिवसको सन्दर्भमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै मन्त्री अर्यालले त्यस्तो बताएकी हुन । मन्त्री अर्यालले ऋण लिनको लागि मात्रै सदस्य बन्ने सदस्यले सहकारी संस्थाको हितमा काम नगर्ने बताईन ।

‘जब ऋण चाहियो तपाईंको सहकारी खोज्दै आउँछ । अन्य समयमा त्यो सहकारीका बारेमा कहिले केही गर्दैन आउदैन । त्यस्ता व्यक्तिलाई सहयोग नगर्नुस’, मन्त्री अर्यालले भनिन, ‘सधैं तपाईंको सहकारीको हितमा काम गर्ने व्यक्तिलाई तपाईंको संस्थाको लगानीको प्राथमिकता बनोस् ।’ लगानीको प्राथमिकता सहकारी संस्थाको हित चाहनेलाई हुनुपर्ने उनको भनाइ थियो । सहकारी संस्थाहरु अब लगानीमा केन्द्रित हुनुपर्ने बताउदै मन्त्री अर्यालले उत्पादनमूलक क्षेत्रमा केन्द्रित हुन आग्रह गरिन । मन्त्री अर्यालले भनिन, ‘अब लगानीका दिशामा अगाडि बढ्नुस । उत्पादनमूलक क्षेत्रमा लगानी गर्नुस । विषयगत सहकारी संस्था जसले उत्पादनमा हात हालेका छन् तर उनीहरूसँग पैसा छैन । ती संस्थालाई तपाई पैसा भएका संस्थाहरूले सहयोग गर्नुस् ।’

सहकारी क्षेत्रबाट नियमावली नभएका कारण काम गर्न सकिएन भन्ने गुनासो आएपछि सहकारी क्षेत्र, सरोकारवाला सबैसँग छलफल, समन्वय गरेर नियमावली ल्याएको भन्दै अब कार्यान्वयन गर्ने जिम्मेवारी सहकारी क्षेत्रकै भएको मन्त्री अर्यालले बताईन । मन्त्रालयले भर्खरै सन्दर्भ ब्याजदर निर्धारण गरेको भन्दै मन्त्री अर्यालले यो पहिलोपटक गरिएको बताईन । सबै सहकारी संस्थामा एकरुपता कायम गर्नेगरी सन्दर्भ ब्याजदर निर्धारण गरिएको भन्दै मन्त्री अर्यालले कानुनका मातहतमा रहेर एउटै ब्याजदर निर्माण गरिएको बताईन । तर यस विषयमा केही गुनासो आएकाले यसबारेमा छलफल गर्न तयार रहेको बताईन ।

‘सहकारीले सबैभन्दा बढी आफ्ना सदस्यहरुको हितमा काम गर्नुपर्छ । यस विषयमा गुनासो आएको छ । यस विषयमा हामीले बुझ्नुपर्छु’ मन्त्री अर्यालले भने, ‘हामीलाई ठिक हो भन्ने लाग्यो, बेठीक हो भन्नेहरुका मत के छन् त्यो पनि बुझौ । हामी छलफलकै क्रममा छौ । छलफल गरेर जाउ, छलफलको बाटो हुदाहुदै फरक बाटोमा नजान अनुरोध गर्दछु ।ु फरक बाटोको खोजी नगर्न र छलफलको बाटो रोज्न मन्त्री अर्यालले आग्रह  गरिन । मन्त्रालयले सहकारी संस्था मर्जरको अभियान थालेको भन्दै मन्त्री अर्यालले प्रकृया पुगेर मर्जरका निम्ति आएका संस्थाको काम एकदिन भन्दा बढी नरोकिने बताईन । उनले भनिन, ‘हामीले एक दिनमा काम सक्नेगरी विकागलाई भनिसकेका छौ । सबै कागज पुर्याएर ल्याउने काम तपाईहरुको हो ।’ मन्त्री अर्यालले संस्थालाई इमान्दारी र नैतिकवान बनाउने जिम्मेवारी सहकारीकर्मीहरुकै भएको बताईन ।

राष्ट्रिय सहकारी महासंघका अध्यक्ष तथा पूर्वमन्त्री केशव बडाल, नेपाली काँग्रेसका नेता बालकृष्ण खाँड र नेकपाका नेता तथा सहकारी अभियन्ता पशुपति चौलागाईंले पनि सहकारी क्षेत्रलाई राम्रो बनाउन लानु पर्ने बताए। त्यस्तै, पूर्व मन्त्री सुरेन्द्र पाण्डे, नेफ्सकुनका पुर्व महासचिव तथा सांसद घनश्याम खतिवडा, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव गोपिनाथ मैनाली, नेफ्सकुनका अध्यक्ष डिबी बस्नेतले आ–आफ्ना विचार व्यक्त गरेका थिए ।

प्रतिक्रिया