कप्तानबिना राष्ट्रिय फुटबल टोली

काठमाडौं । मलेसियाको लिग च्याम्पियन टिम जोहोर दरुलसँगको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय टिमको घोषणा भएको छ ।  प्रशिक्षक योहान कालिनले घोषणा गरेको २३ खेलाडीको सूचीमा अधिकांश पुराना खेलाडीकै वर्चश्व रहेको छ । तर टिमका मुख्य गोलकिपर किरण चेम्जोङ भने यो खेलमा उपस्थित नहुने भएका छन् । भदौ ९ गतेका लागि तय भएको मैत्रीपूर्ण खेलका कप्तान विराज महर्जन बाहिरिँदा विमल घर्ती मगरले ‘कमब्याक’ गरेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) ले शुक्रबार मलेसियन क्लबसँग खेल्ने २३ सदस्यीय टोलीको घोषणा गर्दा कप्तान विराज महर्जन टोलीमा समावेश भएका छैनन् । घोषणा भएको टोलीमा मुख्य प्रशिक्षक योहान कालिनले स्ट्राइकर विमल घर्ती मगर, दिनेश राजवंशी र हेमन गुरुङले टोलीमा समावेश गरेका छन् ।
नियमित सदस्य तथा कप्तान विराजसँगै किरण चेम्जोङ र रोहित चन्द पनि टिममा छैनन् । पहिलो रोजाइका गोलकिपर किरण जापानको तेस्रो श्रेणीको लिगको क्लबमा ट्रायलका लागि गएका छन् भने रोहित इन्डोनेसियाको लिगमा व्यस्त छन् । मैत्रीपूर्ण खेल भएकाले रोहित टोलीको पहिलो रोजाइमा नपरेका हुन् ।
कतारमा आयोजना हुने सन् २०२२ को फिफा विश्वकपअन्तर्गत एसिया क्षेत्रको दोस्रो चरणको छनोटको तयारीका लागि नेपालले मलेसियाका सुपर लिग विजेतासँग मैत्रीपूर्ण खेल खेल्न लागेको हो । दोस्रो चरणको छनोटमा नेपाल समूह ‘बी’मा छ । नेपालसँगै समूह ‘बी’ एसियाली पावर हाउस अस्ट्रेलिया, जोर्डन, कुवेत र चाइनिज ताइपेइ छन् । कुवेतसँग नेपालले दोस्रो चरणको छनोट खेल खेल्दै विश्वकप छनोट यात्रा सुरुआत गर्दै छ ।
नेपाली टोलीमा गोलकिपरः विकेश कुथु, एलन न्यौपाने,विशाल श्रेष्ठ, रक्षकमा सरोज दाहाल, अजित भण्डारी, दिनेश राजवंशी, अनन्त तामाङ, देवेन्द्र तामाङ, रजिन धिमाल, सुमन अर्याल, मिडफिल्डरमा सुनील वल, रवि पासवान, अन्जन बिष्ट, सुजल श्रेष्ठ, हेमन गुरुङ, विक्रम लामा, तेज तामाङ, सन्तोष तामाङ,विशाल राई तथा स्ट्राइकरमा विमल घर्ती मगरसहित विमल राना, अभिषेक रिजाल र नवयुग श्रेष्ठ छन् ।

प्रतिक्रिया