सर्वनाममा ‘अर्को कुरु क्षेत्र’

काठमाडौं । महाभारतको युद्ध भएको स्थललाई कुरुक्षेत्रका नाममा चिनिन्छ । पौराणिक कालको भयानक युद्धकोरूपमा चिनिने महाभारतलाई वेलावेलामा बिम्बकोरूपमा प्रयोग समेत गरिँदै आएको छ ।

यसैबीच कालिकास्थानस्थित सर्वनाम थिएटरमा सम्पदा मल्लको कथालाई नाटककार अशेष मल्लले परिकल्पना, लेखन र निर्देशन गरेको नाटक ‘अर्को कुरु क्षेत्र’ मञ्चन भइरहेको छ । निरन्तर सत्तामाथि निरन्तर प्रश्न गरिरहने यस नाटकले नेपालको राजनीतिक परिवर्तनलाई इंगित गर्दै त्यसले समाजमा जागरण ल्याउन नसकेको विषय उठान गरेको छ ।

नाटकमा नारी स्वतन्त्रता अझै हुन नसकेको र उनीहरू तनावको जीवनयापन गरिरहेको अवस्थालाई केलाउने प्रयत्न गरिएको छ । दिनानुदिन बढ्दै गइरहेको महिला हिंसा र बलात्कारका घटनाले समाजमा न्याय मर्दै गइरहेको भयानक चित्रलाई नाटककारले कलात्मकरूपमा मञ्चमा देखाएका छन् ।

समाजमा केहीमात्रामा भए पनि महिला हिंसाविरुद्ध आवाज उठेको छ । तर, अपराधीले कडा सजाय नपाउँदा त्योक्रम रोकिएको छैन । जसरी पौराणिक पात्र द्रौपदी, सीता लगायतले भोगेको धार्मिक, सांस्कृतिक तथा सामाजिक यातना २१औँ शताब्दीका महिलाले पनि भोग्नु परिरहेको छ । दिनदहाडै महिला हिंसासँग हत्या र बलात्कारका घटना बढिरहेको छन् ।

नाटकले महिला स्वतन्त्रताको विषयलाई बहसका रूपमा उठाउन आग्रह समेत गरेको छ । पौराणिककालीन सामाजिक अवस्थादेखि महिलामाथि भइरहेको वर्तमान युगसम्म पनि विभेदको दुःखद परिवेशलाई कलाकारले मार्मिक ढंगले प्रस्तुत गरेका छन्

यस सम्बन्धमा सत्ता र शक्तिले न्यायका लागि काम गरिरहेको आभास जनताले अनुभूत गर्न नसकेको विषयलाई भीम र अर्जनुसँग तुलना गरेर नाटकमा प्रस्तुत गरिएको छ । अहिले सत्ता र शक्ति जसरी मौन छन् त्यसैगरी भीम र अर्जुन पनि महाभारतमा मौन थिए भन्ने विषयलाई नाटकले बिम्बात्मक ढंगले उठान गरेको छ ।

समाज महिलामैत्री बन्न सकिरहेको छैन । विद्रोहीमा उत्रेका महिलामा पनि संवेदना र प्रेम छ । जसलाई पुरुषवादी समाज र चिन्तनले नियाल्न सकिरहेको छैन र उनीहरूलाई स्वतन्त्रता दिन सकेको छैन । नारी आफूले समाज र राज्यलाई नेतृत्व गर्न सक्षम छन् तर पुरुषप्रधान समाजले रोकेको छ ।

नाटकले नारीलाई समाज र सत्ताको जन्जिरबाट महिलाले मुक्ति पाउन कडा संघर्ष गर्नुपर्ने तर्क अगाडि सारेको छ । नाटकमा बलियो रूपबाट महिलाका कथालाई बिम्बात्मकरूपमा उन्दै उनीहरूका पीडा, संघर्ष, जीवन सौन्दर्यलाई उधिन्ने काम भएको छ ।

२१ औँ शताब्दीका महिलालाई पौराणिक युगका सीता र द्रौपतिसँग तुलना गर्दै महिला मुक्तिको आवाजलाई घनिभूतरूपमा प्रस्तुत गर्ने जमर्को गरिएको छ । धर्म तथा संस्कृतिले महिलामाथि लादेको चिन्तनलाई कलात्मक रूपमा नाटककारले उठान गरेका छन् । नाटकले महिला स्वतन्त्रताको विषयलाई बहसका रूपमा उठाउन आग्रह समेत गरेको छ । पौराणिककालीन सामाजिक अवस्थादेखि महिलामाथि भइरहेको वर्तमान युगसम्म पनि विभेदको दुःखद परिवेशलाई कलाकारले मार्मिक ढंगले प्रस्तुत गरेका छन् ।

नाटकले महिलाले जहिले पनि पुरुषवादी समाजको कठघरामा उभिइरहनुपर्ने कथालाई चित्रण गरेको छ । जसरी रावणले हरण गरेकी सीताले आफूलाई पतिव्रता देखाउन अग्निपरीक्षा लिनुपरेको कथा रामायणमा छ, त्यस्तै कथा २१ औँ शताब्दीका नारीले व्योहोर्नु परिरहेको छ भन्ने भाव नाटकमा रहेको छ ।

सत्ता र शक्तिको आडमा रामको चरित्रमाथि कसैले औँला ठडाएनन् । नाटकले पुरुषवादी चिन्तनले विकास गरेको संस्कृति, परम्परा र संस्कारमा सत्ता पनि मौन बसिरहेको तर्क नाटकले पेश गरेको छ । मञ्चित नाटक ‘अर्को कुरुक्षेत्र’ मा महिलामाथि भइरहेका विभेद, हिंसा, अत्याचार र बलात्कारका विषयलाई व्यांग्यात्मकरूपमा उत्खनन् गर्ने कोसिस गरिएको छ । नाटकले धर्म, संस्कृति, परम्परा र नवीनताबीचको अन्तरद्वन्द्वलाई उठान गर्दै महिला सशक्तिकरणका पक्षमा आवाज उठाएको छ ।

नाटकमा अभिनेत्री उषा रजकले महिलाका अनेकन पीडा र संघर्षका पाटालाई निकै कलात्मकरूपमा प्रस्तुत गर्न सफल भएकी छन् । उनको मुख्य भूमिका रहेको नाटकमा महिलाभित्रको आक्रोश र पीडालाई जीवन्त बनाउने प्रयत्न गरिएको छ । उनले नाटकको कथाका अनेक मोडमा कोलाजका रूपमा प्रस्तुत हुँदै एकलरूपमा अभिनय गरेकी छन् ।

उनले नाटकमा आफूलाई को हुँ ? कसले रच्यो भन्दै आक्रोश र पीडालाई निकै भावपूर्णरूपमा प्रस्तुत गरेकी छन् । उनले नाटकमा भनेकी छन्, ‘कसले यो बन्द पर्खालभित्र बन्दी बनायो मलाई ? कुन युग, कालखण्डको अस्तित्व हुँ म ?’

बन्द पर्खालभित्र हातखुट्टामा डोरी बाँधिएकी एक महिलाको रूपमा देखिएकी उनी छट्पटाउटाउँदै रंगमञ्चबाट चिच्याउँछिन् । उनले भन्छिन्, ‘कृष्ण आउने प्रतीक्षामा कतिन्जेल चीरहरण सहेर बसिरहनुपर्ने ? अग्निपरीक्षामा सीता मात्रै कतिन्जेल जलिरहनुपर्ने ? कहिलेसम्म निर्मला मृत्यु सहिरहनुपर्ने ?’

नाटकमा महिलाको चिच्याइबाट दिक्क बनेको पात्रले ती महिलालाई नबोल्न आदेश दिन्छ । पुरुषवादी चिन्तनबाट जन्मिएको बिम्बरूपी रंगमञ्चले जन्माएकी पात्रले आफूले सोचेभन्दा फरक ढंगले बारम्बार प्रश्न गर्न थालेपछि दस्तावेजको पुरुष लेखकले झोक्किँदै भन्छ, ‘ए अभिनेत्री, बन्द गर तिम्रो स्वेच्छाचारिता । मैले देखेको सपनालाई ध्वस्त पार्ने अधिकार तिमीलाई कसले दियो ? यो मैले सिर्जना गरेको रंगमञ्च हो । मैले जे भन्छु, त्योभन्दा अलिकति पनि बाहिर जाने अधिकार तिमीलाई छैन । किनकि म यो नाटकको लेखक हुँ । सूत्राधार पनि हुँ ।’

नाटकमा सूत्राधारले भनेको नमानेर अभिनेत्रीले कथा बदल्न खोज्छे । समाज, सत्ता र शक्तिले महिलालाई दबाएको, पीडा दिएको र उत्पीडनमा पारेको कथाले उसलाई दिक्क बनाउँछ । अभिनेत्रीले रंगमञ्चलाई आफूले अभिनय गर्ने कथा आफैँ लेख्छु भन्दै लेखकको दस्तावेज च्यात्न अघि सर्छे । त्यसपछि सुरु हुने लेखक र अभिनेत्रीबीचको नयाँ कुरुक्षेत्रको लडाइँलाई नाटकले निकै भावोत्तेजकरूपमा उठान गरेको छ ।

नाटककार अशेष मल्लले बिम्ब र प्रतीकलाई आधार मान्दै आफूले नाटक प्रस्तुत गरेको जिकिर गरे । नाटकमा उषासँगै मुकेश हमाल, बिन्दु बिएम, मनोज महर्जन, आरुषजंग सारु, रिया भारती, शोमा कार्की, कसिना बोखिम लिम्बू, पासलाक्पा शेर्पा, धिरज थापामगरको अभिनय छ ।

त्यस्तै, मञ्च तथा प्रकाश परिकल्पना राज शाहको रहेको छ । सञ्चार संयोजनमा सुजिता अधिकारी र मोहन अभिलाषीको रहेको छ । प्रकाश परिचालनमा कृष्ण खड्का, ध्वनी संयोजनमा मोहन अभिलाषी, ध्वनी परिचालनमा बिमल लामिछाने रहेका छन् । मञ्च निर्माण हरि शंकर शर्मा र सुमन राणा मगरले गरेकाहुन् । नाटकमा कला सिर्जना सुन्दर लामाले गरेका छन् । त्यस्तै, प्रमिला कार्की उप्रेतीले कोरियोग्राफी गरेकी छन् । नाटक २१ भदौसम्म मञ्चन हुने सर्वनामले जनाउको छ ।

प्रतिक्रिया