नेकपामा बामदेवलाई महत्वपूर्ण जिम्मेवारी

केन्द्रीय विभागमा नेतृत्व चयन, स्कुल विभागमा पोखरेल, सात प्रदेशमा १४ सह–इन्चार्च थप पार्टी एकता हुनुअघिदेखि नै असन्तुष्ट रहँदै आएका वामदेव पुनः अध्यक्ष ओलीसँग नजिकिएको चर्चा चलिरहेका बेला उपाध्यक्ष प्रस्तावित, सबैभन्दा धेरै संगठित सदस्य रहेको नेकपाको संगठन विभाग प्रमुख पनि तोकियो

काठमाडौं । खरो वक्ताका रूपमा चिनिने बामदेव गौतम सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपामा नयाँ जिम्मेवारी पाएका छन् । सचिवालय बैठकले उनलाई उपाध्यक्षसहित संगठन विभाग प्रमुख बनाएको छ ।

‘पार्टीमा काम पाइन भने बरू नाचेर मर्छु, तर, चुप लागेर बस्दिन’, प्रतिनिधि सभाको निर्वाचनपछि गौतमले भनेका थिए । ७१ वर्षीय उनलाई सबैभन्दा धेरै संगठित सदस्य रहेको नेकपाको प्रमुख विभागको जिम्मेवारी सम्हाल्नुपर्ने चुनौति आएको छ । लामो समयको विवादपछि शुक्रबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले गौतमलाई उपाध्यक्ष बनाउन सिफारिस गरेको हो ।

पार्टीका वरिष्ठ नेता झलनाथ खनालका अनुसार अध्यक्ष केपी शर्मा ओलीले उपाध्यक्षमा गौतमको नाम सिफारिस गरेका थिए । ‘अध्यक्ष कमरेडले बामदेव कमरेडलाई उपाध्यक्ष बनाऊ भनेर प्रस्ताव गर्नुभयो’, नेता खनालले अगाडि भन्नुभयो, ‘उहाँको प्रस्तावमा कसैले पनि बिमति जनाउनु भएन ।’ उनलाई उपाध्यक्ष बनाउन भने विधान संशोधन गर्नुपर्ने देखिन्छ ।

सचिवालयले त्यसका लागि विधान संशोधनसमेत गर्ने प्रस्ताव लैजाने भएको छ । साथै कुन वरियतामा राख्ने भन्ने निर्णय पनि भएको छैन । विधानको दफा १८ मा दुई अध्यक्ष, दुई वरिष्ठ नेता, एक प्रवक्ता र एक महासचिव मात्रै रहने व्यवस्था गरिएको छ । तर, नेकपाको सचिवालयले विधानको प्रावधानविपरीत गौतमलाई उपाध्यक्ष प्रस्ताव गरेको हो । सो प्रस्ताव अब स्थायी कमिटीमा लगिने छ ।

पछिल्लो समय बामदेव ओली नजिक छन् । पार्टी एकता हुनुअघिदेखि नै असन्तुष्ट रहँदै आएका वामदेव पुनः ओलीसँग नजिकिएको चर्चा चलिरहेका बेला उपाध्यक्ष प्रस्तावित भएका हुन् । अध्यक्ष ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गरेर गौतमलाई उपाध्यक्ष बनाउने प्रस्ताव गरेको स्रोतले जानकारी दिएको छ ।

हक्की र मनमा लागेका कुरा बोल्न सक्ने छवि बनाएका नेता गौतम विगतमा पनि संगठन विभाग प्रमुखको जिम्मेवारी सम्हालेका थिए । २०५० जेष्ठ ३ गते तत्कालीन महासचिव मदन भण्डारी र संगठन विभाग प्रमुख जीवराज आश्रितको दासढुंगामा परेर निधन भएपछि उनले सो जिम्मेवारी पाएका थिए । भण्डारी र आश्रितको निधन भएपछि माधवकुमार नेपालले महासचिवको जिम्मेवारी पाएका थिए भने बामदेवले संगठन विभागको जिम्मेवारी सम्हालेका थिए । उनले करिब ३० महिना तत्कालीन एमालेको संगठन विभाग प्रमुख भएर काम गरेका थिए ।

महाकाली सन्धिका विषयमा एमालेभित्र विवाद भएपछि उनलाई हटाएर अमृत बोहोरालाई त्यो विभागको जिम्मेवारी दिइएको थियो । भारतसँग २०५२ माघ २९ गते महाकाली सन्धि भएको थियो । त्यसपछि गौतमले पार्टी फुटाएर नेकपा माले गठन गरेका थिए । २०४९ सालदेखि नेकपा एमालेको स्थायी कमिटिमा रहेका गौतम २०५१ सालमा पार्टीले मनमोहन अधिकारीको नेतृत्वमा सरकार चलाउँदा उपमहासचिव पनि बनेका थिए ।

पोखरेललाई स्कुल विभाग
नेकपामा सबैभन्दा विवादित र चर्चामा रहेको स्कुल विभाग अन्ततः ईश्वर पोखरेलले लिन सफल भएका छन् । तत्कालीन एमालेका महासचिव रहेका पोखरेललाई स्कुल विभागको प्रमुख बनाउने विषयमा शुक्रबारको बैठकमा कसैले पनि विरोध गरेनन् ।

अध्यक्ष ‘प्रचण्ड’सँग वैचारिकरूपमा मतभिन्नता राख्दै आएका पोखरेलले जनताको बहुदलीय जनवाद नै पार्टीको मार्गनिर्देशक सिद्धान्त हुनुपर्ने बताउँदै आएका छन् । तर, राजनीतिक प्रतिवेदनमा जनताको जनवाद उल्लेख गरिएको छ । सो विवादपछि पोखरेलका नाममा पूर्वमाओवादीहरू असन्तुष्ट बनेका थिए । तर, सचिवालय बैठकमा सो विभागको दाबेदार मानिएका प्रवक्ता नारायणकाजी श्रेष्ठपछि हटेपछि पोखरेललाई जिम्मेवारी दिइएको हो ।

सो विभागको उपप्रमुखमा जनार्दन शर्मालाई तोकिएको छ । बैठकले ३३ वटै केन्द्रीय विभागको प्रमुख र उपप्रमुख चयन गरेको छ । बैठकले संगठन विभाग प्रमुखमा गौतम र उपप्रमुखमा देवेन्द्र पौडेललाई तोकेको छ । अर्थ तथा योजना विभाग प्रमुखमा सुरेन्द्रप्रसाद पाण्डे र उपप्रमुखमा डोरप्रसाद उपाध्याय, उद्योग तथा वाणिज्य विभाग प्रमुखमा राधाकुमारी ज्ञवाली र उपप्रमुखमा वामदेव क्षेत्री, उपभोक्ता हित तथा आपूर्ति विभाग प्रमुखमा मातृकाप्रसाद यादव र उपप्रमुखमा बलराम बाँस्कोटालाई जिम्मेवारी दिइएको छ ।

यसैगरी कृषि तथा भूमिसुधार विभाग प्रमुखमा चक्रपाणि खनाल र उपप्रमुखमा हरि पराजुली, कोष तथा आर्थिक व्यवस्थापन विभाग प्रमुखमा हरिबोल गजुरेल र उपप्रमुखमा कृष्णगोपाल श्रेष्ठ, खानेपानी तथा सरसफाइ विभाग प्रमुखमा विना मगर र उपप्रमुखमा ममता गिरी, जलस्रोत, सिँचाइ तथा ऊर्जा विभाग प्रमुखमा वर्षमान पुन र उपप्रमुखमा परशु मेघी गुरुङलाई जिम्मेवारी तोकिएको छ ।

निर्वाचन विभाग प्रमुखमा प्रदीपकुमार ज्ञवाली र उपप्रमुखमा खिमलाल देवकोटा, न्याय, कानुन तथा मानवअधिकार विभाग प्रमुखमा रघुजी पन्त र उपप्रमुखमा मुक्तिनारायण प्रधान, पर्यटन प्रवद्र्धन तथा नागरिक उड्डयन विभाग प्रमुखमा योगेशकुमार भट्टराई र उपप्रमुखमा पासाङ शेर्पा, प्रचार तथा प्रकाशन विभाग प्रमुखमा नारायणकाजी श्रेष्ठ र उपप्रमुखमा सूर्यबहादुर थापा, प्रादेशिक मामला विभाग प्रमुखमा घनश्याम भुसाल र उपप्रमुखमा परशुराम तामाङलाई जिम्मेवारी दिइएको छ ।

यस्तै, पुस्तकालय तथा अभिलेख विभाग प्रमुखमा नारायणप्रसाद शर्मा र उपप्रमुखमा ज्ञानबहादुर भुजेल, भौतिक पूर्वाधार तथा यातायात व्यवस्था विभाग प्रमुखमा रघुवीर महासेठ र उपप्रमुखमा हरि अधिकारी, युवा तथा खेलकूद विभाग प्रमुखमा टोपबहादुर रायमाझी र उपप्रमुखमा ठाकुर गैरे, राजकीय मामला तथा सुशासन विभाग प्रमुखमा रामबहादुर थापा र उपप्रमुखमा गुरूप्रसाद बराल, वन तथा वातावरण विभाग प्रमुखमा शक्तिबहादुर बस्नेत र उपप्रमुखमा चूडामणि जंगली, विज्ञान तथा प्रविधि विभाग प्रमुखमा गणेश शाह र उपप्रमुखमा अरूणप्रसाद नेपाल, विदेश मामला विभाग प्रमुखमा माधवकुमार नेपाल र उपप्रमुखमा सुरेन्द्र कार्की, शिक्षा तथा मानवश्रोत विभाग प्रमुखमा गिरिराजमणि पोखरेल र उपप्रमुखमा विजय पौडेललाई जिम्मेवारी दिइएको छ ।

श्रम तथा रोजगार विभाग प्रमुखमा गोकर्ण विष्ट र उपप्रमुखमा रामेश्वर राय यादव, संघीय संसदीय विभाग प्रमुखमा सुवास नेम्वाङ र उपप्रमुखमा देवप्रसाद गुरुङ, समाज कल्याण विभाग प्रमुखमा केशवलाल श्रेष्ठ र उपप्रमुखमा गोपाल ठाकुर, सहकारी तथा गरिबी निवारण विभाग प्रमुखमा विष्णुप्रसाद रिमाल र उपप्रमुखमा धर्मदत्त देवकोटा, सहरी विकास विभाग प्रमुखमा लेखराज भट्ट र उपप्रमुखमा जगन्नाथ खतिवडा, सामान्य प्रशासन विभाग प्रमुखमा लालबावु पण्डित र उपप्रमुखमा रेखा शर्मा, साहित्य, कला तथा संस्कृति विभाग प्रमुखमा मणि थापा, स्थानीय तह विभाग प्रमुखमा युवराज ज्ञवाली र उपप्रमुखमा उर्मिला अर्याल, स्वास्थ्य तथा जनसख्या विभाग प्रमुखमा राजेन्द्रप्रसाद पाण्डे र उपप्रमुखमा अञ्जना विसङ्खे तथा नीति अनुसन्धान प्रतिष्ठान संयोजकमा झलनाथ खनाल र सह–संयोजकमा रामचन्द्र झालाई जिम्मेवारी तोकिएको छ ।

सात प्रदेशमा १४ सहइन्चार्ज थप
सातवटा प्रदेश कमिटीमा सहइन्चार्ज थप गरेको छ । प्रदेश–१ मा शेरधन राई र नरेश खरेल प्रदेश–२ नागेन्द्र चौधरी र महेन्द्र पासवान, प्रदेश–३ हितमान शाक्य र काशीनाथ अधिकारी, गण्डकी प्रदेशमा किरण गुरुङ र यशोदा सुवेदी गुरुङ, प्रदेश–५ बैजनाथ चौधरी र कुलबहादुर केसी, कर्णाली प्रदेशमा कालीबहादुर मल्ल र प्रकाश ज्वाला तथा सुदूरपश्चिम प्रदेशमा खगराज भट्ट र भानुभक्त जैसीलाई सहइन्चार्ज तोकिएको छ ।

प्रदेश–१ का राई प्रदेशका मुख्यमन्त्री पनि हुन् । सहइन्चार्ज तोकिएका राई र गण्डकी प्रदेशका सहइन्चार्ज बनेका गुरुङ मन्त्री हुन् । अन्य प्रदेशका हकमा यसअघि जिल्लामा जिम्मेवारी दिँदा असन्तुष्ट रहेका नेता पनि छन् । सुदूरपश्चिम प्रदेशमा डडेल्धुरा जिल्लामा जिम्मेवारी पाएका भट्ट असन्तुष्ट थिए । उनले जिल्लामा पाएको जिम्मेवारी अस्वीकार गरेका थिए । त्यसपछि उनलाई प्रदेश सहइन्चार्ज बनाइएको हो ।

प्रतिक्रिया