बैंकिङ कसुरका घटनामा वृद्धि

काठमाडौं । उपत्यकामा बैंकिङ कसुरका घटनामा वृद्धि भएको छ । महानगरीय प्रहरी कार्यालयले दिएको जानकारी अनुसार काठमाडौं उपत्यकामा मात्र गत आर्थिक वर्षमा दुई हजार ५६६ विरुद्ध बैंकिङ कसुरमा मुद्दा दर्ता भएका छन । जसमा काठमाडौंमा दुई हजार ३३८, भक्तपुरमा ७६ र ललितपुरमा १५२ जनाविरुद्ध मुद्दा दायर भएको हो । बैंकिङ कसुरमा काठमाडौँमा १५, ललितपुरमा तीन र भक्तपुरमा तीन कार्यालयबाट मुद्दा चल्दै आएको छ ।

उपत्यकामा आव २०७४÷०७५ मा ४८७ र आव २०७३÷०७४ मा १० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यसबाहेक उपत्यकाको महानगरीय अपराध महाशाखा र केन्द्रीय अनुसन्धान ब्यूरोमार्फत पनि बैंकिङ कसुरमा मुद्दा चल्दै आएको छ । कार्यालयका प्रवक्ता, प्रहरी वरिष्ठ उपरीक्षक श्यामलाल ज्ञवालीले पछिल्लो समय नेपाल प्रहरीमा लेनदेनको मुद्दा धेरै आउने गरेको बताए । ‘पहिला सहमतिमा कारोवार ग¥यो, पछि पैसा नउठेपछि प्रहरीकोमा मुद्दा हाल्ने प्रचलन बढेको छ’, उनले भने ।

खातामा पर्याप्त रकम नभई भुक्तानीका लागि चेक काट्ने र दिने घटनालाई बैंकिङ कसुरमा मुद्दा चलाइने गरेको छ । केही समय अगाडि देवानी हक अन्तर्गत बैंकिङ कसुरको मुद्दा अदालतले हेर्ने प्रावधान गरेपछि पीडितले उजुरी गर्दा थप दुःख पाएको भन्दै पुनः प्रहरीले नै बैंकिङ कसुरको मुद्दा हेर्ने व्यवस्था मिलाइएको थियो । मुलुकभर आर्थिक वर्ष २०७५÷०७६ मा दुई हजार ६२० जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको थियो । यस्तै आव २०७४÷०७५ मा ७७६ र आव २०७३÷०७४ मा ९३ जनाविरुद्ध बैंकिङ कसुरमा मुद्दा चलाइएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

प्रतिक्रिया