संगीतमार्फत समाजसेवा

काठमाडौं । पर्वतमा सामाजिक सहयोग गर्ने उद्देश्य राखेर सांगीतिक कार्यक्रम गरिने भएको छ । आगामी १४ असोजमा कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा हुने कार्यक्रममा पर्वतका प्रायः गायक गायिकाको प्रस्तुति रहने जनाइएको छ ।

२० लाख रूपैयाँको अक्षयकोष स्थापना गर्ने उद्देश्यका साथ सांगीतिक कार्यक्रम आयोजना गर्न लागिएको पर्वत कलाकार समाजले बताएको छ ।

समाजका अध्यक्ष गायक कस्तुप पन्तले दशैँको छेको पारेर गर्न लागिएको कार्यक्रम विशुद्ध सामाजिक भावनाबाट प्रेरित रहेको बताए । उनले भने, ‘पहिलोपटक पर्वतका कलाकारहरू एउटै मञ्चमा देखिनु र कला प्रर्दशन गर्नु नै हाम्रा लागि ऐतिहासिक हुनेछ ।’ यो कार्यक्रमको बहुपक्षीय अर्थ छ ।’

गायक तथा समाजका अध्यक्ष पन्तले कलाकारहरू समाजका आदर्श हुन् भन्ने मूल मन्त्रमा रहेर यस्तो उद्देश्य राखिएको जिकिर गरे । उनले थपे, ‘कार्यक्रमको उद्देश्य अक्षयकोष स्थापना हो । कार्यक्रमबाट उठेको रकम पर्वतमा सामाजिक सहयोग र पर्वतका प्रतिभाहरू जो आर्थिकरूपमा सबल छैनन्, उनीहरूको सहयोगका लागि खर्च गरिनेछ ।’

कार्यक्रम ऐतिहासिक हुने बताउँदै समाजका महासचिव कृष्ण समीपले सांगीतिक प्रस्तुतिमार्फत पर्वतका कलाकारलाई एक ठाउँमा ल्याउने धारणा व्यक्त गरे । उनले भने, ‘दशैँको उल्लास र एकआपसमा शुभकामना आदानप्रदानको अवसर पनि यो कार्यक्रमले जुटाइदिनेछ ।’

प्रतिक्रिया