राप्रपा बैठक भदौ दोस्रो साता

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले आगामी भदौको दोस्रो सातामा केन्द्रीय समितिको बैठक बोलाएको छ ।

संगठन सुदृढीकरण गर्ने उद्देश्यले आगामी असोज महिनामा सात सय ५३ स्थानीय तहमा प्रशिक्षण पनि सञ्चालन गरिने भएको छ । पार्टीका अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको केन्द्रीय प्रशिक्षक र पदाधिकारीको संयुक्त बैठकले कार्यकर्ताको मनोबल उच्च राख्न आगामी भदौमा देशका ७७ जिल्लामा प्रशिक्षण सञ्चालन गर्ने निर्णय गरेको हो ।

देश दौडाहामा जाँदा पार्टीका पदाधिकारी र प्रशिक्षकले पार्टीले बोकेको विचारलाई दृढ भएर स्थानीय तह, प्रदेशमा पु¥याउन इमान्दारीपूर्वक जिम्मेवारी निर्वाह गर्न बैठकले केन्द्रीय प्रशिक्षकलाई निर्देशन दिएको छ ।

अध्यक्ष थापाले आफ्नो पार्टी निरन्तरतासहितको परिवर्तनको पक्षमा रहेको बताउँदै जनताको विकास र समृद्धिका चाहना पूरा गर्नका लागि भएका परिवर्तनअनुसार सामाजिक रूपान्तरण हुन नसकेकामा चिन्ता व्यक्त गरे । उनले राप्रपाले लिएको वैचारिक दृष्टिकोणकाबारे फैलिएका भ्रमलाई प्रशिक्षकले जनतालाई बुझाउन निर्देशन दिए ।

यसैबीच राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) ले समान विचार भएका विभिन्न दललाई एकताबद्ध गरी बलियो प्रजातन्त्रवादी शक्ति निर्माणका लागि आग्रह गरेको छ । उक्त पार्टीले मुलुकको समसामयिक राजनीतिक अवस्था, आर्थिक विकासका लागि पार्टीले अवलम्बन गर्नुपर्ने आर्थिक नीतिमा अर्थविज्ञ, उद्योगीको सुझावसमेत संकलन गरेको छ ।

प्रतिक्रिया