अरुणखोलाको पुल भाँचिएपछि यात्रुहरु घण्टौँ जाममा

नवलपुर । पूर्वपश्चिम महेन्द्र राजमार्ग अन्तर्गत बुटवल–नारायणगढ सडक खण्ड अरुणखोलाको पुल भाँचिएपछि यात्रुहरुलाइ सास्ती भएको छ । बुधवार विहान ट्रकको ठक्कर वाट अरुणखोलाको पुल भाँचिएपछि अहिले पूर्वपश्चिम राजमार्गको बुटवल–नारायणगढ सडक खण्डको यातायात सेवा प्रभावित बनेको हो ।

बुधवार बिहानदेखि वैकल्पिक मार्गवाट सवारी साधनहरुलाइ आवतजावत गराइए पनि खोलाको बाटो पार गर्न निकै कठिन हुने गरेको सवारी चालकहरुको भनाइ छ । अहिले महेन्द्र राजमार्गको अरुणखोला क्षेत्रको पूर्व र पश्चिममा करीब ५५ किलोमिटर सम्म सवारी साधनको जाम लागेको छ । एउटा गाडी पास हुन कम्तिमा पनि तीन घण्टा लाग्ने गरेको सवारी चालकहरुले वताएका छन् ।

पुल भाँचिएपछि वैकल्पिक मार्गवाट यातायात सुचारु गरिएको भएपनि निकै कम मात्रामा गाडीहरु पास हुने गरेकाले सयौँ सवारी साधनहरु राजमार्गमा अलपत्र परेका छन् । यात्रुहरु चार देखि पाँच किलोमिटरसम्म पैदल हिडेर सवारी साधन परिवर्तन गरि आफ्नो गन्तव्य तर्फ जान बाध्य भएका छन् । ट्रकले भाँचेको अरुणखोला पुल मर्मत गर्न समय लाग्ने सडक डिभिजन कार्यालय बुटवलले जनाएको छ ।

तत्काल पुल मर्मत गरेर सञ्चालनमा ल्याउन ढिलाई हुने भएपछि खोलामा नदीजन्य पदार्थ लोड गर्न जाने बाटोलाई वैकल्पिक मार्गका रुपमा प्रयोगमा ल्याइएको छ । वैकल्पिक बाटो बाहेक अर्को स्थानमा समेत डाइभर्सन गरेर सवारीसाधन सञ्चालन गर्ने तयारी गरिएको सडक डिभिजन कार्यालय बुटवलका इन्जिनियर हरि सुवेदीले जानकारी दिए ।

डाइभर्सन बाटो तयार भएपछि दोहोरो सवारीसाधन सञ्चालनमा आउन सक्ने इन्जिनियर सुवेदीले बताए । निरन्तर पानी परेमा वैकल्पिक बाटो र निर्माण गर्न लागिएको डाइभर्सनबाट पनि सवारीसाधन सञ्चालनमा ल्याउन कठिन हुने देखिएको छ । ट्रकको ठक्करले पुलको ‘भल्टिकल मेम्बर’ भाँचिएको छ ।

जसका कारण पुलको एक भाग धस्सिएकाले सवारी साधन आवतजावत बन्द गर्नु परेको इन्जिनियर सुवेदीको भनाइ छ । पुलको कुनै एउटा ‘भल्टिकल मेम्बर’ भाँचिएपछि अरु मेम्बर पनि क्रमशः भाँचिने सम्भावना रहने हुनाले भाँचिएको भाग नफेरेसम्म पुल सञ्चालनमा आउन नसक्ने सुवेदीले वताए ।

प्रतिक्रिया