किन उठ्यो कोसी हाईड्याम्पको प्रसंग ?

सप्तकोसी उच्च बाँध निर्माणलाई प्राथमिकताको सूचीमा राख्दै भारतको केन्द्र सरकार तथा विहार प्रान्तीय सरकारले खर्बौं रुपैयाँ बजेट विनियोजन गरेको छ । नेपालको नदीमा नेपालको भू–भागभित्रै बाँध निर्माण गर्ने योजना भारतले अघि सार्दै गरेको विषयलाई लिएर अन्तर्राष्ट्रिय मिडियाहरूले समेत समाचार बनाइरहेका छन् । गत साता बिबिसिले यो समाचारलाई निकै प्राथमिकताका साथ प्रसारण गरेको थियो । नेपालसँग सहमति भएरै भारतले यो आयोजना अघि सारेको हो वा होइन ? भन्ने प्रश्न अनुत्तरित छ । यस विषयमा नेपाल सरकारले औपचारिक प्रतिक्रिया दिएको छैन । केपी शर्मा ओली दोस्रो पटक प्रधानमन्त्री निर्वाचित हुनासाथ भारत भ्रमणमा गएका थिए । त्यस क्रममा दुवै देशका प्रधानमन्त्रीहरूले हिन्दमहासागरबाट गंगा नदी हुँदै नेपालसम्म पानी जहाज चलाउने घोषणा गरेका थिए । स्वदेश फर्केपछि पनि प्रधानमन्त्री ओलीले पानी जहाजका धेरै कुरा गरे । कोसी नदीमा ठूलो बाँध बनाउने र पानी जहाज चलाउने घोषणा प्रधानमन्त्री ओलीले सार्वजनिक रूपमै गरेका थिए । प्रधानमन्त्री ओलीले यो घोषणा गर्नु र भारतले अहिले सप्तकोसी उच्च बँ“धका लागि बजेट छुट्याउनु संयोग मात्रै नहुन सक्छ । सप्तकोसी उच्च बाँधका विषयमा नेपाल सरकारले आफ्ना धारणा छिटोभन्दा छिटो सार्वजनिक गर्नुपर्छ । यो नेपाली जनताको सुसूचित हुन पाउने हक भित्रै पर्छ । यस्ता संवदेनशील विषयहरू कुनै पनि हालतमा गोप्य हुनु हुन्न ।

सप्तकोसीमा उच्च बाँध बनाउनै हुन्न भन्ने होइन । जलस्रोतको अधिकतम सदुपयोग गर्नै पर्छ । सप्तकोसी उच्चबाँध निर्माण गर्दा एकातिर सिंचाइको सुविधा प्राप्त हुन्छ , भने अर्कोतिर वर्षा याममा बाढी नियन्त्रण हुन्छ । यसै गरी ठूलो परिमाणमा बिजुली उत्पादन हुन्छ , साथै पानी जहाजसमेत सञ्चालन गर्न सकिने गरी जल यातायातको विकास हुन्छ । नयाँ पर्यटकीय क्षेत्र बन्छ , माछा पालन गर्न सकिन्छ । तर, फाइदा जति छन् नेपाललाई बेफाइदा पनि त्यति नै छन् । यदी फाइदाभन्दा बेफाइदा बढी हुन्छ भने यस्ता परियोजनामा सहमति नगर्दा नै उचित हुन्छ । फाइदा र बेफाइदाका बारेमा प्रशस्त अध्ययन , अनुसन्धान तथा अन्तक्र्रिया गर्नुपर्छ । तर, भइरहेको छैन ।

भारतले चतरामा दुई सय ६९ मिटर अग्लो बाँध निर्माण गर्ने भनेको छ । चतरा समुद्रको सतहबाट एक सय ५२ मिटर उचाइमा छ । यो उचाइमा दुई ६९ मिटर अग्लो बाँध बनाउँदा चार सय २१ मिटर हुन आउँछ । जबकी काभ्रेको दोलालघाटको उचाइ समुन्द्रको सतहबाट तीन सय ५० मिटर छ । सप्तकोशी जलाधार क्षेत्र अन्तर्गतको चार सय २१ मिटरभन्दा कम उचाइको सम्पूर्ण भू–भाग जलासयमा परिणत हुन्छ । लाखौँ हेक्टर खेतियोग्य भू–भाग जलासयमा परिणत हुन्छ भने कम्तीमा पाँच लाख मानिस विस्थापित हुन्छन् । जति भूमि जलासयमा परिणत हुन्छ त्यसको दुई गुणामा मात्रै नेपालले सिंचाई गर्न सक्ने हो । त्यति भूभाग सिंचाई गर्नका लागि त नेपाललाई कोसी उच्च बाँध बनाइरहनु जरूरी छैन । यर्थाथमा भन्ने हो भने कोसी उच्चबाँध भारतलाई ९० प्रतिशत फाइदा हुने परियोजना हो । नेपाललाई १० प्रतिशत फाइदा होला तर २० प्रतिशत नोक्सान हुन्छ । भारतलाई हुने अथाह फाइदा र नेपाललाई हुने नोक्सानीको हिसाब किताब गरेर मात्रै यो आयोजना अघि बढाउन भारत तयार हुन्छ कि हुँदैन ? भन्ने प्रश्न मुख्य हो । नेपालको जति भूभाग जलाशयमा परिणत हुन्छ त्यति नै आफ्नो भूभाग नेपालले रोजेको ठाउँमा नेपालकै सार्वभौमिकता कायम हुने गरी उपलब्ध गराउन भारत तयार हुन्छ कि हुन्न ? पानीको उचित मूल्य दिन भारत तयार हुन्छ कि हुन्न ? लगायतका प्रश्नमा भारत स्पष्ट हुनु जरूरी छ ।

प्रतिक्रिया