माझी समुदाय आन्दोलित

काभ्रे । जातीय भेदभावले गर्दा आफ्नो पुख्र्याैली पेसा लोप भएको भन्दै माझी समुदाय आन्दोलित भएका छन् । भुम्लु गाउँपालिकाले बालुवा उत्खनन्को लागि टेन्डर आह्वान गरेपछि माझी समुदाय आन्दोलित भएका हुन् । यसै विषयमा सो समुदायले स्थानीय सरकारलाई ज्ञापनपत्र बुझाएका छन् । माझी समुदाय सरकारको अति सिमान्तकृत सूचीमा रहेका आदिवासी समुदायको हुन् ।

माझी समुदाय सुनकोसी नदीमा र इन्द्रावती नदीको आसपासमा परापूर्वकालदेखि बस्दै आएका छन् । उनीहरूले परापूर्वकालमा अंगाल्दै आएका माछा मार्ने र डुंगा चलाउने पेसा लोप भइसकेको छ । पुख्र्यौली पेसा लोप भएपछि पछिल्लो समयमा नदी किनारमा बालुुवा निकालेर बालुवा चालेर बेची जीविकोपार्जन गर्दै आएका छन् । पछिल्लो समयमा स्थानीयतहले नदी किनाराको बगर टेन्डरमा दिई आधुनिक प्रविधिको प्रयोग गर्दा उनीहरूको बालुवा निकालेर बेच्ने पेसा पनि लोप हुन लागेको भन्दै आन्दोलनमा उत्रेका हुन् । भुम्लु गाउँपालिकाले ०७६÷७७ का लागि पनि टेन्डरको सूचना आह्वान गरिसकेको छ ।

माझीहरूको भनाइअनुसार सृष्टिको सुरुआतदेखि नै आफूहरूको नदीसँग आत्मीय र विशेष सम्बन्ध रहेको भन्दै आफ्नो प्रमुख परम्परागत व्यवसाय भनेको आफैँले काठको डुंगा बनाई त्यसमार्फत मानिसहरूलाई नदी वारपार गराउनु र प्राकृतिक जलाशयहरूमा रहेका माछा मार्नु रहेको बताए । नदी किनारमा बसी आफ्ना प्र्खाहरूले गर्ने पेसाहरू जातीय भेदभावको कारणले लोप भएको भन्दै उनीहरूले अब थालिरहेको पेसा नदी किनारमै वालुवा चाल्ने मजदुरी गर्न पाउनुपर्ने माग गरेका छन् । काभ्रेको भुम्लु गाउँपालिका–१, ६, ७, ८, र १० वडा गरी हजार घरधुरी माझी समुदाय बसोवास गर्दै आएका छन् ।

सोमबार चर्काे घामको कुनै पर्वाह नै नगरी सयौँ माझी समुदायका दैनिक ज्यालादारी मजदुरहरू दोलालघाटहुँदै भुम्लु गाउँपालिकाको केन्द्र सल्लेस्थित कार्यालय परिसरमा नारासहित पुगेका थिए । ज्ञापनपत्र बुझाउदै समाजसेवी युवा होमराज माझीले भने, ‘हाम्रो जीविका चलाउन अब एउटै पेसा बाँकी छ हामीलाई नदीमा बालुवा चाल्ने व्यवस्था स्थानीय सरकारले तुरुन्तै गरोस् । नदीका बगर किनारमा अहिले स्थानीय सरकार आएसँगै दर्जनौँ ठाउँमा टेन्डर गरी स्काभेटर प्रयोग गरिन थालिएको छ । त्यसले हामी सबैको रोजगारी खोसिएको छ । ठेकेदार र पैसावाला टाउकेहरूले पेट भरेका छन् । त्यसले गर्दा रोजगार नहुँदा यही अवस्था रहिरहे हाम्रो वस्ती नै मासिनसमेत सक्छ ।

अहिले सयौँ युवाहरू बिदेसिएका छन् । यसको रोकथाम र हाम्रो जातीय उत्थानको लागि स्थानीय सरकार र अन्य सरकारको बेलैमा ध्यान जाओस् ।’ ‘आजको विशेष आन्दोलन भनेको हाम्रो पेसा र रोजगारबारे हो । हामी प्रत्येक दिन सकसका साथ भोकभोकै मरिरहेको दिनलाई सबै तहका सरकारले तत्कालै नियालोस्’, स्थानीय होमराज माझीले कुराकानीका क्रममा दुःखेसो पोखे । उनले भने, ‘वालुवा खानीका टेन्डर प्रक्रियामार्फत सञ्चालन गरे पनि हाम्रै जातिका व्यक्तिहरूलाई टेन्डर प्रक्रियामा समावेशी गरी मुख्य प्राथामिकता दिइयोस् भन्ने हाम्रो माग हो ।

पछिल्लो समयमा बगरमा बालुवा निकाल्ने, गिटी कुटेर आफ्नो परिवार धान्दै आएकोमा गाउँपालिकाले ठेकेदारलाई सुपम्पनाले हाम्रो त्यो पेसा पनि समाप्त पार्न लागेको छ । माझी समुदायसँग खेतीकिसान गरी खानभूमि पनि छैन अव हामीले कसरी जीवन निर्वाह गर्ने ?’ एसोसियसनका अध्यक्ष जीवनकुश माझीले भने, ‘हामी देशको कानुन विरोधी पनि होइनौँ, टेन्डर आह्वान गर्नुहोस् । तर, त्यो ठेक्का हामीलाई दिनुप¥यो भनेका हौँ, हाम्रो रोजगारी नखोसियोस भनेका हौँ । संविधानमा उल्लिखित प्राकृतिक स्रोतको पहिलो अधिकार स्थानीयको हुने व्यवस्थालाई लागू गर्नका लागि माग गरेका हौँ ।’

यता सोही आशपासका क्षेत्रमा बसोवास गर्ने गिरी, पुरी, भारती एवं दशनामीको नामबाट गाउँपालिकामा नदी किनारमा समाधीस्थल (घाट) रहेको र सो क्षेत्रमा बालुवा निकासी गर्न बन्द गर्न परिपत्र गर्दै हस्ताक्षर सहितको निवेदनसमेत परेको छ । गाउँपालिकाका अध्यक्ष गुमानध्वज कुँवरले भने काननुअनुसार सबै प्रक्रिया गर्ने बताए । उनले कानुनले दिएअनुसार काम गर्नेछौँ, माझी समुदायका ती क्षेत्रहरूमा पुनः माछापालन गरी उनीहरूको पेसाका विषयमा सोच्न सकिन्छ । भने घाट पर्ने क्षेत्रहरूमा पनि छेकबार लगाइने बताएका छन् । काभ्रेको दोलालघाट, सुनकोसी आसपासका क्षेत्रलाई पर्यटकीय क्षेत्रको रूपमा लिइन्छ । माझी समुदाय वस्तीलगायत नदी किनारमा आन्तरिक एवं वाह्य पर्यटकहरूसमेत आउने गर्दछन् ।

प्रतिक्रिया