सुलिगाड खोलाले काठेपुल बगायो

डोल्पा । डोल्पाको शे–फोक्सुण्डो राष्ट्रिय निकुञ्जमा पर्ने सुलिगाड खोलाको काठेपुल बगाएको छ । दुईसाता देखिको निरन्तर वर्षाका कारण मङ्गलबार राति आएको बाढीले सुलिगाड खोलाको काठेपुल बगाएको हो ।

काठेपुल बगाएपछि फोक्सुण्डो ताललगायत उपल्लो डोल्पा जाने आन्तरिक तथा बाह्य पर्यटकहरुलाई आवतजावतमा समस्या भएको छ । काठेपुल बगाउँदा खोलापारि रहेको निकुञ्ज कार्यालयमा आवतजावत गर्नसमेत समस्या भएको निकुञ्जले जानकारी दिएको छ ।

पानीको सतह धेरै बढेको सुलिगाड खोलाले काठहरू बगाएर ल्याएको देखिएकाले फोक्सुण्डो तालसम्म पुग्न बिचबिचमा बनाइएका अन्य काठेपुलहरु पनि बगाएको अनुमान निकुञ्जले गरेको छ । सबैलाई तर्न पायक पर्ने काठेपुल बगाएपछि केही समय हिँडेर अर्को स्थानमा रहेको झोलुङ्गे पुलबाट आवतजावत गर्नुपरेको छ ।

प्रतिक्रिया