खोजखबर

‘कू’ अघि राजा महेन्द्रको कश्मीर भ्रमण

विष्णु पोखरेल २०७६ साउन २८ गते १७:५७ मा प्रकाशित

केही दिनअघि भारत सरकारले खारेज गरेको त्यहाँको संविधानको धारा ३७० पछि कश्मीरका बिषयमा निकै चर्चा हुने गरेको छ । यस घटनाले बिर्सिएका र थाहा नभएका धेरै कुरा उजागर गरेको छ । यस्तै मध्येयको एक हो तत्कालीन राजा महेन्द्रले गरेका कश्मीर भ्रमण । उनको कश्मीर भ्रमणका विषमा कमै नेपालीलाई मात्रै जानकारी थियो ।

नेपालमा राणाशासन अन्त्य भएको एक दशक पुग्नै लागेको थियो । झन्डै एक वर्षअघि सम्पन्न निर्वाचनबाट नेपालमा पहिलो पटक प्रजातान्त्रिक सरकार गठन भएको थियो । त्यसै वेला राजा महेन्द्रको तीन महिनाभन्दा लामो विदेश भ्रमण तय भयो । उनको औपचारिक भ्रमणको तालिका थियो, जापान, संयुक्त राज्य अमेरिका र क्यानडा । तर, राजा महेन्द्रले ती देशबाहेक केही अन्य मुलुकको समेत अनौपचारिक भ्रमण गरे र नेपाल फर्किएका थिए ।

उक्त भ्रमणका क्रममा महाशक्ति राष्ट्रहरूको नाडी छामेर आएका महेन्द्रले नेपाल फर्किएको झन्डै पाँच महिनामै बिपी कोइराला नेतृत्वको निर्वाचित सरकारलाई अपदस्थ गरेको केही विश्लेषकहरूको बुझाइ छ । राजा महेन्द्रले ०१७ साल पुष १ गते प्रजातान्त्रिक सरकारलाई अपदस्थ गर्नमा उनको उक्त विदेश भ्रमणको पनि भूमिका थियो वा थिएन भन्नेबारे अध्येताहरूबीच एकमत भने छैन । कतिले भने भ्रमण पछि उनमा आँट आएको बताउने गरेका छन् ।

तर, उक्त भ्रमणबाट नेपाल फर्कने क्रममा भारत र पाकिस्तान दुवैले आफ्नो भनेर दाबी गर्दै आएको विवादित कश्मीरमाचाहिँ राजा महेन्द्रले भ्रमण गरेको प्रमाण भेटिएको इतिहासकारहरूले लेखेका छन् । केआई सिंहले प्रधानमन्त्री बनेका बखत एकपटक कश्मीर भारतको अभिन्न अंग भएको बताएकोबाहेक नेपालले कश्मीर विवादमा कसैको पक्ष लिएको नदेखिएको इतिहासकारहरूको भनाइ छ ।

सन् १९६० को जुलाईमा भारत–प्रशासित कश्मीरमा भएको महेन्द्रको भ्रणमको उद्देश्य के थियो भन्ने बारे पनि इतिहासकारहरूले खासै खुलाउन सकेका छैनन् । उनको त्यो भ्रमण खुलेर बाहिर आउनेसमेत सकेको थिएन । तर, उक्त विवादित भूमिमा सन् १९४७ पछि भ्रमण गर्ने नेपालका उच्च व्यक्तित्वमा राजा महेन्द्र मात्र रहेको देखिएको कूटनीतिक इतिहासका जानकारहरू बताउँछन् ।

कश्मीरी लेखक जिएल कौलको पुस्तक ‘कश्मीर थ्रू द एजेज (५००० बिसी टू १९६७ एडी)ः अ हिस्टोरिकल सर्भे’ मा सन् १९६० जुलाई ८ मा राजा महेन्द्र रानीसहित कश्मीरको राजधानी श्रीनगर पुगेको उल्लेख गरिएको छ । पुस्तकमा उनले लेखेका छन्, ‘राजा महेन्द्र र उनकी रानी जुलाई ८ मा श्रीनगर आइपुगे । त्यहाँ राज्यको सेनामा गोर्खाहरू रहेका थिए, त्यसमध्ये केहीले अचल सम्पत्ति प्राप्त गरेका थिए । तर, नेपालका राजाको भ्रमण निजी नै भए पनि पहिले कहिल्यै सुनिएको थिएन ।’

कौलले राजाले त्यहाँका गोर्खाबारे चासो राखेको हुनसक्ने खालेको संकेत गरेका भए पनि त्यसबारे खुलाएका छैनन् । उनको पुस्तकमा त्यसबाहेक राजा महेन्द्रको उक्त भ्रमणबारे खासै उल्लेख छैन । हालै भारत सरकारले खारेज गरेको त्यहाँको संविधानको धारा ३७० अनुसार कश्मीरमा अन्यत्रका व्यक्तिहरूले अचल सम्पत्ति राख्न पाउने सुविधा थिएन ।

कौलले गोर्खाहरूले पनि त्यस्तो सम्पत्ति जोडेको र महेन्द्रको भ्रणमलाई जोडेर हेर्न खोजेको जस्तो देखिए पनि उनले त्यसलाई प्रष्ट पारेका छैनन् । जापान, अमेरिका र क्यानडाको औपचारिक भ्रमणमा गएका राजा विभिन्न देशहरू घुमेर श्रीनगर र त्यसपछि दिल्ली हुँदै नेपाल फर्केको अन्य इतिहासकारले पनि लेखेका छन् ।

भुवनलाल जोशी र लियो ई रोजले लेखेको ‘डेमक्र्याटिक इनोभेसन्स् इन नेपाल, अ केस स्टडी अफ पोलिटिकल अकल्चरेसन’ मा पनि राजा महेन्द्र उक्त भ्रमणबाट फर्कँदा श्रीनगर हुँदै नेपाल आएको उल्लेख गरिएको छ ।

क्यानडाको भ्रमण सकिएपछि महेन्द्र नेपाल फर्कंदाको प्रसंग उल्लेख गर्दै उक्त पुस्तकको पृष्ठ ३८२ मा लेखिएको, ‘औपचारिक भ्रमण सकेर राजा महेन्द्र नेपालका लागि जुन १६ मा प्रस्थान गरे । लिस्बन, प्यारिस, फ्र्याङ्फर्ट, भियना, तेहरान, काबुल, श्रीनगर र दिल्ली हुँदै उनी जुलाई २८ मा काठमाडौं आइपुगे ।’

हालै प्रकाशित पुस्तक ‘परराष्ट्रका पात्र’का लेखक तथा पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई पनि आफू कूटनीतिक सेवामा रहँदा राजा महेन्द्रको श्रीनगर भ्रमणबारे सुनेको बताएक छन् । ‘मसँग पनि भारतका तत्कालीन शिष्टाचार महापालले महेन्द्रलाई कश्मीर भ्रमण गराएको बताएका थिए,’ उनले भने, ‘उनी पछि त्यहाँको विदेश मन्त्रालयमा उच्च पदमा पनि पुगेका र राजदूत पनि भएका थिए, तर उनको नामचाहिँ अहिले सम्झना भएन ।’ महेन्द्रको कश्मीर भ्रमणका बारेमा आफूले सुनेको कुरा उनले सुनाए । भट्टराईका अनुसार त्यस वेला राष्ट्रप्रमुखका भ्रमणहरू लामा हुने गरेका थिए ।

त्यसै क्रममा राजा महेन्द्र पनि औपचारिक भ्रमणबाट फर्कंदा श्रीनगर हुँदै फर्केको र त्यहाँ निजी भ्रमणका रूपमा घुमफिर गरेको हुन सक्ने उनी बताउँछन् । आफैँले कश्मीरको भ्रमण गरेका भए पनि महेन्द्रले कश्मीरको विषयलाई लिएर भारत वा पाकिस्तानको पक्ष भने नलिएको देखिने गरेको भट्टराई बताउँछन् । उनले भने, ‘तर राजा महेन्द्रको स्वभाव राजनीतिक भिन्नता भए पनि व्यक्तिगत सम्बन्धचाहिँ सबैसँग एकदमै निकट राख्ने खालको थियो । त्यसैले गर्दा यस्ता भ्रमणहरू भइरहन्थे ।’

कूटनीतिक क्षेत्रका जानकारहरूका अनुसार कश्मीर विवादमा महेन्द्रले कसैको पनि पक्ष लिएको देखिँदैन । नेपालले भारत र पाकिस्तान छुट्टिएका वेला देखि नै त्यस्तै नीति अपनाउँदै आएको देखिन्छ । केआई सिंहले चाहिँ आफू प्रधानमन्त्री भएका वेला कश्मीर भारतको अभिन्न अंग रहेको बताएका थिए । उनको त्यही अभिव्यक्तिका कारणले पनि उनलाई चाँडै राजाले प्रधानमन्त्रीबाट हटाएको हुन सक्ने अनुमान पनि केहीले गर्ने गरेका छन् ।

संगीता थपलियालले आफ्नो पुस्तक ‘म्युचुअल सेक्युरेटीः द केस अफ इन्डिया एन्ड नेपाल’ मा सन् १९५७ अगस्त ३ मा भएको एउटा पत्रकार सम्मेलनमा नेपालको लामो मौनता तोड्दै सिंहले भारतको पक्षमा बोलेको लेखेकी छन् ।

सिंहलाई उल्लेख गर्दै उनले आफ्नो पस्तकको पृष्ठ पृ. ७५ मा लेखेकी छन्, ‘कश्मीर मुद्दामा हामी भारतको समर्थन गर्नेछौँ‘ कश्मीर भारतको थियो र हो अनि कश्मीरी जनता भारतीय संघमा बस्न चाहन्छन, हामी उनीहरूको चाहनालाई सम्मान गर्छौँ ।’

राजकुमार सिंहले चाहिँ आफ्नो पुस्तक ‘ग्लोबल डाइमेन्सन्स अफ इन्डो–नेपाल पोलिटिकल रिलेशन्सः पोस्ट इन्डिपेन्डन्स’मा पाकिस्तानसँग भारतको तनाव बढिरहेका वेला सन् १९६५ मा भएको राजा महेन्द्रको दिल्ली भ्रमणमा कश्मीर मुद्दामा भारतीय नेताहरूले उनको समर्थन खोजेको लेखेका छन् ।

उनले आफ्नो पुस्तकको पृष्ठ १६९ मा लेखेका छन्, ‘त्यसवेला भारतीय नेताहरू कश्मीर मुद्दामा राजा महेन्द्रको समर्थन चाहन्थे । नयाँ दिल्लीको अनुरोधपछि राजा महेन्द्र संयुक्त वक्तव्यमा आत्मनिर्णयको सिद्धान्त आश्रित र विश्वास गरिएका क्षेत्रमा मात्र लागु हुन सक्छ र सम्प्रभु राष्ट्रको एकीकृत क्षेत्रसम्म विस्तारित हुन सक्दैन भन्ने वाक्य राख्न सहमत भए ।

उनले युद्धका वेला पाकिस्तानविरुद्ध गोर्खा फौजलाई प्रयोग नगर्न भारतलाई आग्रह गर्नु भनी पाकिस्तानले राखेको प्रस्तावलाई पनि नेपालले त्यसवेला नमानेको लेखेका छन् । माथि उल्लेख भएका कतिपय विचारका आधारमा केआई सिंह बाहेक कोही जिम्मेवार निकायबाट पनि हिजोका दिनमा समेत नेपालले कश्मीरका बारेमा कसैको पक्षमा अभिव्यक्ति नदिएको देखिन्छ । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया