पोखरामा साहित्य महोत्सव

काठमाडौं । नेपाली साहित्यलाई अन्तर्राष्ट्रियकरण गर्ने लक्ष्यका साथ गर्न लागिएको साहित्य महोत्सव आगामी मंसिर २७ देखि ३० गतेसम्म पोखरामा हुने भएको छ ।

बुकवर्म फाउन्डेसनको आयोजनामा हुने महोत्सवको आठौँ संस्करणमा एक सय ५० भन्दा बढी देश तथा विदेशका लेखक सहभागी हुने जनाइएको छ । महोत्सवमा अवसर परोर तीन दर्जनभन्दा बढी सेसनका साथै अन्य सांस्कृतिक तथा विविध सामाजिक विषयमा परिचर्चा गरिनेछ ।

महोत्सवमा भारतीय लोकसभाका सांसद एवं साहित्यकार डा. शशी थरुर, भारतीय प्रसिद्ध गीतकार एवं कवि जावेद अख्तर, भारतीय अभिनेत्री शवाना आज्मीलगायतको उपस्थिति रहने आयोजकले जनाएको छ ।

उक्त अवसर पारेर २५ हजार अमेरिकी डलर (२७ लाख ५० हजार रुपैयाँ) राशी रहेको दक्षिण एसियाली साहित्यकै सर्वोत्कृष्ट एवं गरिमामय डिएससी पुरस्कार प्रदान गरिने बुकवर्मले जनाएको छ । दक्षिण एसियाली समाजको गुणस्तर अभिवृद्धिमा क्रियाशील दक्षिण एसियाली साहित्यिक पुरस्कार गुठीले विगत आठ वर्षदेखि उक्त पुरस्कार प्रदान गर्दै आएको छ ।

महोत्सवका निर्देशक अजित बरालका अनुसार डिएससी पुरस्कारसँगको समन्वय र सहकार्यले अन्तर्राष्ट्रिय लेखक, कलाकार, बुद्धिजीवी र राजनीतिज्ञबीच नेपाल लिटरेचर फेस्टिभललाई नै एक तटस्थ दक्षिण एसियाली मञ्चका रूपमा उभ्याउन मद्दत पुर्याउनेछ ।

पोखराजस्तो सुन्दर सहरमा आयोजना गरिएको महोत्सवसँग सहकार्य गर्न पाउँदा आफूहरु खुसी भएको दक्षिण एसियाली साहित्य, डिएससी पुरस्कारकी सहसंस्थापक सुरिना नरुला बताइन् । उनले भनिन्, ‘हामी आइएमई नेपाल लिटरेचर फेस्टिभलसँग सहकार्य गर्न पाउँदा उत्साहित छौँ । पोखराको सुन्दर सहरमा हुने फेस्टिभलमा यसपटक डिएससी पुरस्कारको विजेता घोषणा गर्दैछौँ । पुरस्कार र फेस्टिभल दुवैले दक्षिण एसियाली साहित्यलाई प्रर्वद्धन गर्ने हुँदा यो सहकार्यले हामी दुवैलाई फाइदा हुने विश्वास लिएका छौँ ।’

नेपाल पर्यटन बोर्डकी ब्रान्ड प्रवद्र्धक श्रद्धा श्रेष्ठले डिसेम्बरमा हुन लागेको फेस्टिभलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई पनि सघाउने जिकिर गरिन् । पोखरा र जनकपुर हुने फेस्टिभलले ‘नेपाल भ्रमण वर्ष २०२०’ लाई सहयोग पु¥याउने भ्रमण वर्षका संयोजक सुरज वैद्यले जनाए । भ्रमण वर्षलाई लक्षित गर्दै प्रदेश २ सरकार र सरोकारवालाको पहलमा जनकपुरधाममा आगामीे कात्तिक १७ र १८ गते साहित्य महोत्सव हुँदैछ ।

साहित्य महोत्सवमा आफूहरुले सहकार्य गर्न पाउँदा खुसी लागेको महोत्सवको प्रमुख प्रयोजक आइएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताए ।

प्रतिक्रिया