खोजखबर

फाेनिजद्वारा लिम्बू सम्मानित

सौर्य अनलाइन २०७६ साउन २८ गते ६:२४ मा प्रकाशित

इलाम । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) इलामका निवर्तमान सहसचिव दिलकुमार लिम्बू सम्मानित भएका छन् ।

आफ्नो २०औँ स्थापना दिवसको अवसरमा फोनिज इलामले लिम्बूलाई सम्मान गरेको हो । विगतमा फोनिजको सहसचिव पदमा रहेर संस्थाको उन्नति र प्रगतिका लागि पु¥याएको योगदानको कदर गर्दै लिम्बूलाई सम्मान गरिएको फोनिज इलामका अध्यक्ष राम योङहाङले जानकारी दिए ।

यसैबीच स्थापना दिवसको अवसरमा ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक अन्तरक्रिया कार्यक्रमसमेत सम्पन्न भएको छ । फोनिज इलामका सल्लाहकार एवं नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य सटेन्द्र जवेगूको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा फोनिज इलामका अध्यक्ष राम योङहाङले ‘संवैधानिक व्यवस्था र मिडियामा समावेशी अवस्था’ विषयक छलफलपत्र प्रस्तुत गरेका थिए ।

योङहाङले छलफलपत्रमा समावेशीकरणको संवैधानिक व्यवस्था र इलामका सञ्चारमाध्यममा समावेशीकरणको अवस्था प्रस्तुत गरेका थिए । जिल्लाका विभिन्न ११ वटा सञ्चारमाध्यममा कार्यरत जनशक्तिमा समावेशीकरणको अवस्था र दुई वटा दैनिक पत्रिकामा प्रकाशित समाचारमा समावेशीकरणको अवस्था विश्लेषण गरिएको थियो ।

छलफलपत्र अनुसार ११ वटा संचारमाध्यममा कार्यरत ९२ जनामध्ये ४२ जना अथवा ४६ प्रतिशत आदिवासी रहेको देखाइएको छ । त्यस्तै एक सातामा दुईवटा दैनिक पत्रिकामा प्रकाशित ९८ वटा समाचारमा सात वटा आदिवासीसम्बन्धी, १० वटा महिलासम्बन्धी र दुई वटा दलितसम्बन्धी समाचारले स्थापन पाएको पाइएको छ । यो तथ्यांकअनुसार ११ प्रतिशत समाचारमा मात्र आदिवासीले स्थान पाएको देखिएको छ ।

कार्यक्रममा छलफलपत्रमाथि टिप्पणी गर्दै वक्ताहरूले इलामका सञ्चारमाध्यममा समावेशीकरणको अवस्था दयनीय रहेको भन्दै त्यसलाई मजबुत बनाउँदै लैजानुपर्नेमा जोड दिएका थिए । वक्ताहरूले त्यसका लागि आदिवासी जनजातिहरूको समेत विशेष पहल हुनुपर्नेमा जोड दिएका थिए ।

फोनिजले सोमबार देशभर विभिन्न कार्यक्रम आयोजना गरी २०औँ स्थापना दिवस मनाइरहेका छन् । ‘सञ्चारमा समावेशीता–कानुनमा चाहियो, व्यवहारमा पनि’ भन्ने नारासहित संघीय समिति, प्रदेश समिति र देशभरीका ५० भन्दा धेरै जिल्लामा विविध कार्यक्रमको आयोजना गरी स्थापना दिवस मनाइँदै छ । २० वर्षअघि अग्रज आदिवासी जनजाति पत्रकारहरूको सक्रियतामा स्थापना भएको नेपाल आदिवासी जनजाति पत्रकार संघ (अनिज¬) विगत ६ वर्षदेखि महासंघको रूपमा स्थापित भएको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता, सूचनाको हक, मानवअधिकारको रक्षाका साथै आम श्रमजीवी पत्रकारको पक्षमा फोनिज दृढताका साथ उभिँदै आएको छ । फोनिज आदिवासी जनजाति कुलमा जन्मिएर पत्रकारिता पेसामा आवद्धहरूको आमसञ्चारकर्मीहरूको सशक्त र प्रभावकारी तथा व्यावसायिक संगठन हो ।

प्रतिक्रिया