जिल्ला अस्पतालमा हेलिप्याड

हुम्ला । कर्णाली प्रदेश सरकारको आयोजनामा पहिलोपटक हुम्ला जिल्ला अस्पतालमा हेलिप्याड निर्माण भएको छ । प्रदेशका १० वटै जिल्ला अस्पतालहरूमा हेलिप्याड निर्माणका लागि कर्णाली प्रदेश सरकार सामाजिक विकास मन्त्रालयकोे विनियोजित भएको बजेटले हुम्लामा भने हेलिप्याड निर्माण सम्पन्न भएको हो ।

१० वटा जिल्लामा विनियोजित भएको बजेट अधिकांश जिल्लाबाट रकम फ्रिज गएपछि हुम्लामा प्रदेशकै नमुना हेलिप्याट बन्नुका साथै सय मिटर अस्पताल हातभित्र बिरामीलाई लैजान सहजताका लागि बाटो पिच, ल्याब विस्तार, इमरजेन्सी कोठाहरू भुइँमा सिलिङ गरेको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष छेपालदोर्जे लामाले जानकारी दिए ।

पहिलोपटक प्रदेश सरकारले जिल्ला अस्पतालका लागि ६० लाख बजेट असार मसान्त नजिकै पठाएपछि जिल्ला अस्पताल हुम्ला व्यस्थापन समितिले सिधै हेलिप्याड निर्माण र हेलिप्याडबाट आकस्मिक कक्षसम्म एम्बुलेन्समा बोकाएर लैजानको लागि सडक पिच गरिएको जिल्ला अस्पताल व्यवस्थापन समितिका अध्यक्ष लामाले बताए ।

कर्णाली प्रदेश सरकारले सबै जिल्ला अस्पतालहरूमा हेलिप्याड निर्माणका लागि भन्दै बजेटको व्यवस्था गरेको भएता पनि अन्य नौ वटा जिल्लामा निर्माण नभएर बजेट फ्रिज गएको अवस्थामा हुम्लामा भने हेलिप्याड निर्माण गर्न सफल भएको छ । सिमकोट विमानस्थलदेखि जिल्ला अस्पतालसम्म पुग्नका लागि घुमेर बिरामीलाई हेलीले उद्धार गर्दा बढी समय लाग्ने भएका कारण हेलिप्याडको आवश्यक रहेको हुँदा जिल्ला अस्पतालमा हेलिप्याट निर्माण सम्पन्न भएको हो ।

अस्पताल हातामा हेलिप्याड निर्माण सम्पन्न भएपछि पहिलोपटक चार दिनसम्म सुत्केरी ब्यथाले थलिएकी एक महिलाको उद्धार गरेर हेलिकोप्टरमा ल्याएको र उक्त हेलिप्याडमा हेलिकोप्टर अवतरण गराएको जिल्ला अस्पतालका डाक्टर टसी लामाले बताए ।

हेलिप्याडसँगै ह्विलचियर र एम्बुलेन्सको लागि बाटो पनि पिच भएका कारण हेलीमा उद्धार गरेर ल्याएका बिरामीलाई अस्पतालको आकस्मिक कक्षसम्म लैजान निकै सहज भएको डा. लामाले बताए । अस्पतालकै मैदानमा हेलीले अवतरण गर्दा नजिकै रहेको ल्याब र इमरजेन्सी कक्षभित्र धुलो उडेर जाने भएपछि पटकपटक ढोका बन्द गर्नुपर्ने अवस्थाको अन्त्य भएको डाक्टर सरो प्रजापतिले बताए । उता हेलीको हावाले पनि अस्पतालको भवनका छानामा छाएका जस्तापाता उडाउने डर थियो अबदेखि त्यो चिन्ता पनि हटेको उनले बताए ।

बिरामी उद्धार गरेर ल्यान्ड गर्दा मानिसहरूको भिडभाड निकै हुने र त्यतिखेर मानिसको भिडलाई नियन्त्रण गर्न पनि कठिन हुने भएको अबदेखि त्यो सम्स्या हटेको छ । कर्णाली प्रदेश सरकारले कर्णालीका दुर्गम वस्तीमा सुत्केरी हुन नसकी ज्यान गुमाउन नपरोस् भनेर उनीहरूलाई हेलिकोप्टरबाट उद्धार गर्नका लागि निःशुल्क इयर लिफिङको सेवा दिने गरेको छ । जटिल सुत्ेकरी व्यथा लागेका महिलालाई हेलिकोप्टरबाट सदरमुकाम सिमकोट अझै सम्भव नभएमा सुर्खेत, नेपालगञ्जमा रहेका सुविधा सम्पन्न अस्पातलसम्म हेलीकोप्टरले उडान सुविधा दिने गरेको छ । गत आर्थिक वर्षमा हुम्लाबाट मात्रै १२ जना यस्ता बिरामीले सुविधा लिएका छन् ।

प्रतिक्रिया