विशेष कक्षा सञ्चालनमा समस्या

मुगु । जिल्लामा रहेका दुईवटा विशेष शिक्षाका कक्षाअन्तर्गत छायानाथ रारा नगरपालिका–२ बाल मन्दिर आधारभूत विद्यालयमा पढ्ने दृष्टिविहीन कक्षाका लागि दक्षशिक्षक नहुँदा विद्यार्थीको पठनपाठन प्रभावित हुँदै आएको छ ।

एकदेखि पाँच कक्षासम्म पढाइ हुने यस विद्यालयमा दृष्टिविहीन विद्यार्थीका लागि छुट्टै विशेष कक्षा सञ्चालन हुदै आएको छ । ०६० बाट दृष्टिविहीन विद्यार्थीका लागि विशेष कक्षा सञ्चालन हुँदै आए पनि अहिले ब्रेललिपी भाषासम्बन्धी तालिम प्राप्त शिक्षक नभएपछि दैनिक रूपमा विशेष शिक्षाको कक्षा सञ्चालनमा समस्या आएको हो ।

‘विद्यालय खुलेको चार महिना भइसक्यो । हामीलाई पढाउने सर आउँदैनन्, अरू कक्षाका साथीहरू पढ्छन हामी सुनि मात्र बस्छौँ यस्तै भयो भने परीक्षा कसरी दिने ?’ आधारभूत विद्यालय बाल मन्दिरका विशेष शिक्षा कक्षा ४ मा पढ्ने दृष्टिविहीन विद्यार्थी अनिल शाही गुनासो गरे ।

धेरैपटक नगरपालिकामा पुगेर दृष्टिविहीन कक्षाका लागि एक शिक्षक दरबन्दी व्यवस्था गरिदिन अनुरोध गरे पनि नगरपालिकाले बेवास्ता गरेको आधारभूत विद्यालय बालमन्दिरका प्रधानाध्यापक दिलीपकुमार शाहीले बताए ।

लामो समयसम्म दक्ष तालिम प्राप्त शिक्षक नहुँदा दृष्टिविहीन विद्यार्थीको कक्षा प्रभावित हुन थालेपछि विद्यालयमा कार्यरत अरू शिक्षकले सकिनसकी कक्षा सम्हाल्नुपरेको शाहीको भनाइ छ । नगरपालिकामा धेरैपटक गुनासो राखेपछि छायानाथ रारा नगरपालिका–६ मा रहेको आधारभूत विद्यालयमा कार्यरत शिक्षिका बोविमाया घर्तीलाई काजमा पठाएको शाहीले बताए ।

विगतमा दृष्टिविहीनका लागि हिरालाल रावतले काम गर्दै आइरहे पनि शिक्षा सेवा आयोगको आन्तरिक परीक्षामा उत्र्तीण नभएपछि रावतको जागिर गएको र उनको दरबन्दीमा अहिलेसम्म कोही नआउँदा समस्या भएको हो । यसरी विद्यार्थीको पठनपाठनमा समस्या आएको र नगरले पनि वास्ता नगरेपछि जिल्लामा कार्यरत अपांग पुनःस्थापना तथा ग्रामीण विकास संस्था (डार्डो) नेपाल युएमएन मुगुसँग अनुरोध गरेपछि माध्यमिक तहसम्म दृष्टिविहीनका लागि पढाई भइरहेको जुम्लाको भैरव माध्यमिक विद्यालय नरकोटका शिक्षक रावतलाई ल्याएर एक हप्ताको बे्रल भाषा प्रशिक्षण दिइएको आधारभूत विद्यालय बाल मन्दिरले जनाएको छ ।

एक हप्ताको प्रशिक्षणमा ब्रेललिपीसम्बन्धि आधारभूत ज्ञान सिकेको र यसले दृष्टिविहीन विद्यार्थीलाई पढाउन सकिने भए पनि यति नै पूर्ण नभएको तालिममा सहभागी शिक्षिका जानसा मल्लले बताइन् । दृष्टिविहीन विद्यार्थीका लागि कर्णाली प्रदेश सरकारले अहिलेसम्म बेवास्ता गरेको र विगत १०÷१५ वर्षदेखि आपूmले गैरसरकारी संस्थामार्फत न्यून पारिश्रमिकमा माध्यमिक तहसम्मका दृष्टिविहीन विद्यार्थीलाई पढाउँदै आएको प्रशिक्षक रावतले बताए । अहिले बाल मन्दिरमा अध्ययनरत दृष्टिविहीन विद्यार्थीका लागि आयोजना गरिएको ब्रेललिपी प्रशिक्षण अवधी निकै छोटो भएको र यसलाई कम्तीमा एक महिना चलाउनुपर्ने उनले बताए ।

प्रतिक्रिया