समीकरण बदलिँदा लम्बिँदै

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को एकता प्रक्रिया केही दिन लम्बिने देखिएको छ । विभाग गठनमा देखिएको किचलो अझै गिजोलिएपछि शिर्ष तहमा पुनः छलफल गरेर मात्र सचिवालय बैठक बस्ने भएको हो ।

स्कुल विभागको विवाद देखिए पनि नेकपाको वैचारिक कार्यदिशा के हुने भन्नेमा अन्योल रहेको स्पष्ट बुझ्न सकिन्छ । नेकपाको राजनीतिक दस्तावेजमा अबको कार्यदिशा ‘जनताको जनवाद’ उल्लेख भएपनि शिर्ष नेताविच यसमा एक मत देखिँदैन । पूर्वएमालेका अधिकाशं पक्ष ‘जनताको बहुदलिय जनवाद’ कै पक्षमा वकालत गरिरहेका छन् भने तेस्रो पक्षले यी दुवै कार्यदिशा भन्दा पनि समाजवाद हुनुपर्ने तर्क गर्दै आएका छन् ।

जसका कारण स्कुल विभागको नेतृत्व कसलाई दिने भन्नेमा बहस जारी रहेको छ । जबजको पक्षमा वकालत गरिरहेका ईश्वर पोखरेललाई यो विभाग दिने पूर्वएमालेमा सहमति भए पनि पूर्वमाओवादी पक्षले त्यसको विरोध गरेको थियो । पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले यो विभाग पाउनुपर्ने बताएपछि विवाद सिर्जना भएको हो ।

संस्थापनइत्तर पक्षमा देखिँदै आएका वामदेव गौतम सोमबार प्रधानमन्त्री ओलीलाई स्वागत गर्न विमानस्थल पुगेपछि नेकपाभित्र ठूलै चर्चा

यसविचमा पटक–पटक सहमतिको प्रयास भए पनि सार्थकता पाउन सकेको छैन । सचिवालय बैठकले महासचिव विष्णु पौडेललाई केन्द्रीय नेताको इच्छा बुझेर प्रतिवेदन बनाउन जिम्मा दिएको छ । महासचिव पौडेलले इच्छा बुझ्दा धेरैले स्कुल विभागमै देखाएपछि झनै गिजोलिएको हो । स्थायी समितिका पाँच सदस्यले स्कुल विभागको नेतृत्व आफूले पाउनुपर्ने जिकिर गरेका छन् ।

नेतृत्व कसलाई दिने भनेर सचिवालय बैठकमा अहिलेसम्म सहमति जुट्न नसकेपछि शिर्ष नेताविच पुनः छलफल सुरु भएको छ । एकसाता लामो स्वास्थ्य उपचारपछि सोमबार स्वदेश फर्किएका प्रधानमन्त्री एंव पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार साँझ भएको छलफलमा मंगलबारका लागि बोलाइएको सचिवालय बैठक सार्ने निर्णय भएको छ ।

मंगलबार दिनभर सबै शीर्ष नेताबीच अनौपचारिक छलफल गरेर बुधबार सचिवालयको बैठक बोलाइएको नेताहरुले जानकारी दिएका छन् । उनीहरूले अब एकतालाई टुंगोमा पु¥याउने गरी काम भइरहेको पनि दाबी गरेका छन् । राष्ट्रिय परिषद्, केन्द्रीय सल्लाहकार समिति, केन्द्रीय आयोग, ज्येष्ठ कम्युनिस्ट मञ्च, केन्द्रीय विभाग, केन्द्रीय जनसंगठनको एकीकरण र जिम्मेवारी निर्धारण गर्नेबारे सचिवालय बैठकका एजेन्डा रहेका छन् । सचिवालय सदस्यहरूले नेतृत्व गर्ने विभागहरूको करिब–करिब टुंगो यसअघि नै लागिसकेको थियो । पछिल्लो समय नेकपाभित्रको समीकरण बदलिएको देखिएको छ ।

अध्यक्ष ओलीको विरोधमा देखिँदै आएका सचिवालय सदस्य वामदेव गौतम पुनः ओली क्याम्पमा आएको चर्चा अहिले नेकपामा चलिरहेको छ । पछिल्लो समय संगठन विभाग प्रमुखको दावी गर्दै आएका गौतमलाई ओलीले ‘ग्रिन सिग्नल’ दिएका छन् । गौतम पुनः ओली क्याम्पमा आएको चर्चा चलिरहँदा सोमबार उनी अध्यक्ष ओलीलाई स्वागत गर्न विमानस्थलमा देखिएका थिए ।

यसअघि प्रधानमन्त्री तथा अध्यक्ष ओली विदेश भ्रमणमा जाने र फर्किने वेला विमानस्थल नपुग्ने गौतमको सोमबारको उपस्थितिले अर्थपूर्ण सन्देश दिएको छ । उनलाई पूर्वएमाले वृत्तमा अध्यक्ष प्रचण्डको पक्षमा लागेको आरोप लाग्दै आएको थियो । त्यो आरोपबाट मुक्त हुन र नयाँ सन्देश दिन पनि गौतम प्रधानमन्त्री ओलीको स्वागतमा विमानस्थल पुगेको हुन सक्ने पूर्वएमालेकै नेताहरू बताउँछन् ।

प्रतिक्रिया