अमेरिका र तालिबानको वार्ता सकियो, दुवै पक्ष सकारात्मक

एजेन्सी । संयुक्त राज्य अमेरिका र तालिबानबीचको वार्ता गएराति सकिएको छ । यी दुई पक्षबीचको यो आठौँ चरणको वार्ता भएको थियो । तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिद्दीनले कतारको राजधानी दोहामा भएको सो वार्ता गए राति सम्पन्न भएको जानकारी दिए ।

उनका अनुसार अमेरिकासँगको आठौँ चरणको वार्ता दोहामा गए राति सम्पन्न भएको छ र यस वार्ता सकारात्मक भएको छ । वार्तामा भएका प्रगतिबारे आ–आफ्ना नेताहरुलाई जानकारी गराउने र आगामी प्रक्रियाका लागि के कसरी अघि बढ्ने भन्ने बारेमा थप स्पष्ट गरिने सहमति भएको पनि प्रवक्ता मुजाहिद्दीनलाई उद्धृत गर्दै समाचारमा जनाइएको छ ।

वार्ता निकै प्रभावकारी भएको छ र यस विषयमा आ–आफ्ना नेतृत्वलाई जानकारी गराउने कुरा भएको छ– उनले आफ्नो ट्वीटर अकाउन्टमा लेखेका छन् । काबुलमा रहेको अमेरिकी दूतावासले यस विषयमा कुनै प्रतिक्रिया दिएको छैन । तर समाचारहरुमा यो पछिल्लो चरणको वार्ता सकारात्मक भएको आएको छ ।

अफगानिस्तानका लागि अमेरिकी शान्तिदूत जलमी खालिजादले आइतबार ट्वीट गरेका थिए, ‘मलाई लाग्छ अफगानिस्तान युद्धमा रहेको यो नै अन्तिम इद हुनेछ ।’ उनको यो ट्वीटबाट पनि वार्तामा सकारात्मक प्रगति भएको अनुमान गरिएको समाचारमा जनाइएको छ ।

प्रतिक्रिया