पाँच खेलाडी क्लबमा अनुबन्धित

काठमाडौं । विभिन्न खेलहरूमा संघ तथा क्लबले खेलाडी अनुबन्ध गर्दै आइरहेकोमा चेस खेलले पनि खेलाडीहरूलाई प्रोत्साहित गर्दै अनुबन्ध गर्ने कार्यलाई अगाडि बढाउन थालेका छन् । रूकुम चेस क्लबले तुलसी स्मृति प्रतिष्ठानद्वारा आयोजना गर्न लागिएको राष्ट्रिय टिम च्याम्पियनसिपका लागि पाँच खेलाडीलाई आफ्नो क्लबमा अनुबन्ध गरेको छ । क्लबसँग अनुबन्धित हुने खेलाडीहरूमा मिलन लामा, सुस्रुत दाहाल, विवेक श्रेष्ठ, युवराज पौडेल र मिलन रोक्का रहेका छन् । खेलाडीहरूलाई क्लबका संयोजक तथा अन्तर्राष्ट्रिय आर्विटर एवं राष्ट्रिय इन्स्ट्रक्टर बालाराम पुनले आइतबार एक कार्यक्रमबीच खेलाडीहरूलाई अनुबन्ध पत्र हस्तान्तरण गरे ।

चेस खेलमा उत्कृष्ट, अनुशासित तथा शिक्षित खेलाडीकारूपमा गनिएका खेलाडी मध्येका मिलन लामा अन्तर्राष्ट्रिय रेटिङमा २०३४ मा रहेका छन् । उनी यु–१० का च्याम्पियन रहनुका साथै सहकारी चेस च्याम्पियनका उपविजेता समेत रहेका छन् । यस्तै हालै पूर्वमा भएको पथरी ओपन विजेता रहेका सुस्रुत दाहाल १८१९ रेटिङमा रहेका छन् ।

गत साल भएको टिम च्याम्पियनमा सनसनीपूर्ण खेल प्रस्तुत गरेका विवेक श्रेष्ठ १८४४, यु–१६ उपविजेता भई २०१७ का ओलम्पियाडमा सहभागी भइसकेका युवराज पौडेल १६६३, तथा मध्यपश्चिमका विजेता भइसकेका रूकुमका पहिलो खेलाडीमा गनिएका मिलन रोक्का १७६६ रेटिङमा छन् ।

खेलाडीहरूलाई अनुबन्ध पत्र प्रदान गर्दै संयोजक पुनले नेपालको चेस खेलमा अनुशासित तथा उच्चस्तरका खेलाडीहरूलाई क्लबमा अनुबन्ध गर्न पाउँदा आफुलाई निकैनै खुसी लागेको भन्दै यस्ता अनुबन्धले क्लबको मान प्रतिष्ठामा अभिबृद्धि गर्नुका साथै खेलाडीहरूको मनोबल र हौशलालाई उच्च राख्न प्रेरण मिल्ने र आगामी दिनमा खेलाडी अनुबन्धमा प्रतिस्पर्धा हुँदै खेलाडीहरूको आर्थिक स्तरमा भरथेक हुनेमा आफू विश्वस्त रहेको बताए ।

प्रतिक्रिया