यात्राको सुखद अनुभूति

काठमाडौं । नियात्राकार राजेन्द्रमान डंगोलले लेखेको नियात्रा संग्रह ‘यात्राका पाइला’ सार्वजनिक भएको छ । त्रिशुली वाङ्मय प्रतिष्ठानले नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजना गरेको कार्यक्रममा कवि एवं संस्कृतिविद् तुलसी दिवसले नियात्राकार डंगोलले पाठकको मन छुने गरी पुस्तक ल्याएको बताए ।

उनले हरेक लेखक स्वतन्त्र हुने भएकाले स्वतन्त्र रुपमा विचरण गरी लेख्नपर्नेमा जोड दिँदै भने, ‘नेपाली साहित्यका समालोचकदेखि पाठकसम्मको मन छुने गरी लेखक डंगोलले यात्राका पाइला ल्याएका छन् । यो नेपाली साहित्यका लागि सुखद पक्ष हो ।’

कार्यक्रममा नियात्राकार युवराज नयाँघरेले डंगोलले आफूले अनुभव गरेको यात्रानुभूतिलाई कलात्मक रूपमा पुस्तकमा उधिनेको बताए । उनले आकाशबाट चराले देखेका दृश्यजस्तै राष्ट्रको समग्र सूचना यात्रा साहित्यले दिने गरेको बताउँदै भने, ‘भूगोल, संस्कृति र परिवेश बुझाउने भएकोले यात्रा लेखकहरू सांस्कृतिक दूतहरू हुन् ।’

कवि तथा नियात्राकार भीष्म उप्रेतीले लेखकले हिमाली परिवेश र सांस्कृतिक जीवनलाई पुस्तकमा उतारेको बताए । पर्यटन व्यवसायी एवं लेखक कर्ण शाक्यले विदेशीले भन्दा स्वदेशी पर्यटकले नै नेपालको विविध ठाउँको परिचय गराउने जिकिर गरे । उनले भने, ‘नियात्रासम्बन्धी यस्ता पुस्तकमार्फत पनि आन्तरिक पर्यटक बढाउन र जनजीवन, संस्कृति र परिवेश चिन्न सघाउ पुग्दछ ।’

लेखकले पाठकलाई हिमालय क्षेत्रमा नपुगे पनि पुगेको जस्तो अनुभूति दिाउन सफल भएको प्रा. रामराज लोहनीले बताए । त्यस्तै, टानका पूर्वअध्यक्ष एवं नेपाल पर्यटन बोर्डका सदस्य दीपक महतले डंगोललाई नियात्राकार बनाउनुमा त्रिशूली वाङमय प्रतिष्ठानको महत्वपूर्ण योगदान रहेको बताए । उनले नियात्रामार्फत लेखकले आन्तरिक पर्यटन प्रवद्र्धनमा विशिष्ट भूमिका खेलेको धारणा व्यक्त गरे ।

नियात्राकार राजेन्द्रमान डंगोलले आफू पर्यटन व्यवसायी भएकाले यात्राका क्रममा देखे भोगेका अनुभूति, परिवेश र हिमवातावरणलाई पुस्तकमा उतारेको बताए । प्राज्ञ माया ठकुरीले विविधतामा नेपाली संस्कृति र प्रकृतिलाई चिनाउन सक्नु पुस्तकको विशेषता रहने विचार राखिन् । त्रिशुली वाङ्मय प्रतिष्ठानका अध्यक्ष श्रीहरि फुयाँलले नियात्रामार्फत साहित्यसेवामा लगेर डंगोलले राम्रो काम गरेको भनाइ राखे । कार्यक्रममा संस्थाका उपाध्यक्ष आरएम डंगोलले लेखकको बाल्यकाल बारेमा प्रष्ट पारे थिए ।

त्रिशूली प्रतिष्ठानले प्रकाशन गरेको यस पुस्तकमा दिग्भ्रमित पलहरू, कञ्चनजंगामा छाडेका पाइला, यात्रामा भूकम्पीय त्रासदी, संयोगको भेट, स्मृतिमा सुदूरपश्चिम, डेल्फिनसँग झथोरङ्ला ञमा, यार्तुङका अनुभूतिहरू, यादगार अपियात्रा, जेठो हिमालसँगको सहवास र सगरमाथा सुम्सुम्याउँदा रहेका छन् ।

प्रतिक्रिया