प्रतिष्ठानमा पुनः विश्वप्रेम

स्याङ्जा । साहित्यकार विश्वप्रेम अधिकारीको अध्यक्षतामा स्याङ्जा साहित्य प्रतिष्ठानको नयाँ कार्यसमिति निर्वाचित भएको छ । स्याङ्जामा भएको प्रतिष्ठानको पाँचौँ साधारणसभा तथा अधिवेशनले अधिकारीसहित १३ सदस्यीय कार्यसमिति छनोट गरेको हो । साधारणसभाको उद्घाटन कार्यक्रममा ज्येष्ठ नागरिक भोलानाथ लम्सालले साहित्य समाजको ऐना भएकाले समाज परिर्वतनमा यसको विशिष्ट भूमिका हुने बताए ।

कार्यक्रममा नेपाली कांग्रेस स्याङ्जाका पूर्वसभापति तथा पूर्वसांसद खगेन्द्रराज रेग्मीले समाज विकास र रूपान्तरणमा विशेष भूमिका खेल्दै आएको बताए । प्राडा शालिकराम सुवेदीले समाजलाई सचेत ढंगले अगाडि बढाउन साहित्यको अहं भूमिका रहेको धारणा व्यक्त गरे । श्रीप्रसाद जिटी, तुल्सी गिरी, रामबन्धु रेग्मी, जीवलाल काफ्ले, अनन्तराज अर्याल, लक्ष्मी रेग्मी, भुवनराज सुवेदी, अर्जुनबन्धु अर्याललगायतले साहित्यमार्फत सभ्य समाज निर्माण गर्न राज्यले भूमिका खेल्नुपर्ने भनाइ व्यक्त गरे ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा टिकाराम वाग्ले, सचिवमा मिलन समिर, सहसचिवमा शम्भु अर्याल, कोषाध्यक्षमा रविन केसी रहेका छन् । त्यस्तै, कार्यसमिति सदस्यमा त्रिभुवन शर्मा, प्राडा. यमबहादुर पौडेल क्षेत्री, युवराज पौडेल, लक्ष्मी काफ्ले र वसन्त खनाल रहेका छन् । अन्य तीन सदस्य नयाँ कार्यसमितिको पहिलो बैठकले छान्ने नवनिर्वाचित अध्यक्ष अधिकारीले जनाए । उनले स्याङ्जाको साहित्यमा प्रतिष्ठानले विगत दुई दशकदेखि महत्वपूर्ण योगदान पदँदै आएको बताए ।

उनले भने, ‘प्रतिष्ठानले स्याङ्जाली साहित्य, कला तथा संस्कृतिका क्षेत्रमा खोज अनुसन्धान तथा विविध कार्यक्रममार्फत प्रकाश पार्दैे आएको छ ।’ प्रतिष्ठानमा पुनः निर्वाचित भएपछि अध्यक्ष अधिकारीले आफूले सक्ने वेलासम्मको साहित्य तथा संस्कृतिका क्षेत्रमा योगदान दिने बताए । प्रतिष्ठानले नेपाली साहित्य जगतमा दुई दशकदेखि निरन्तर काम गर्दै आएको नवनिर्वाचित सचिव मिलन समीरले बताए । प्रतिष्ठानका उपाध्यक्ष त्रिभुवन शर्माले समाजमा जागरण ल्याउन साहित्यको अहं भूमिका रहने भएकाले यसको विकासमा सबैले योगदान दिनुपर्नेमा जोड दिए ।

प्रतिक्रिया