खोजखबर

सवारी दुर्घटनाका मुख्य कारण

सौर्य अनलाइन २०७६ साउन २७ गते ६:४६ मा प्रकाशित

फाइल तस्वीर

पृथ्वी राजमार्गको धादिङ खण्ड हुँदै राजधानी काठमाडौं प्रवेश गर्ने र सोही बाटो हुँदै बाहिरिने सवारी साधन दुर्घटनाका कारण दिनहुँजसो यात्रु मृत्यु हुने र हराउने कार्य रोकिएको छैन । कति वेला कुन सवारीसाधन त्रिशुली नदीमा खस्ने हो र मान्छेले ज्यान गुमाउने हुन् भन्ने त्रासका बीचमा यात्रा गर्नुपर्छ । तर, यात्रा नगरी सुखै छैन ।

पछिल्लो घटनालाई लिने हो भने शुक्रबार बिहानीपख सर्लाहीबाट काठमाडौं आउँदै गरेको एउटा यात्रुवाहक बस त्रिशूली नदीमा खस्दा नौ जनाले ज्यान गुमाएका छन् भने अझै करिब २० जना बेपत्ता रहेको अधिकारीहरूले बताएका छन् । गएको जेठ महिनामा पनि धादिङमै त्रिशूली नदीमा काँकडभिट्टाबाट राजधानी आइरहेको अर्को यात्रुवाहक बस खस्दा कम्तीमा १५ जनाको ज्यान गएको थियो । यो घटनामा बेपत्ता भएकाहरू कुन अवस्थामा भेटिने हुन भन्न सकिने अवस्था छैन ।

०७५ श्रावणदेखि त्रिशूली नदीमा साना ठूला गरी १९ वटा सवारीसाधन खस्दा ५१ जनाले ज्यान गुमाउनका साथै ९० जना घाइते भएको प्रदेश नं ३ ट्राफिक कार्यलयले जनाएको छ । पृथ्वी राजमार्गअन्तर्गत धादिङ र चितवन सडकखण्डका केही स्थानमा दुर्घटनाको जोखिम उच्च रहेको ठानिन्छ । सबै तिरबाट महसुस भए पनि त्यो जोखिम हटाउन सकिएको भने छैन ।

ट्राफिक अधिकारीहरूका अनुसार पछिल्लो एक वर्षमा धादिङमा ९५ वटा र चितवनमा ९२ वटा दुर्घटनाहरू भएका छन् । ती दुर्घटनामा कम्तीमा एक सय १६ जनाको मृत्यु भएको र ६ सय २३ जना घाइते भएका थिए । राजधानी काठमाडौंलाई देशका अन्य ठाउँहरूसँग जोड्ने पृथ्वीराजमार्गमा सवारी दुर्घटना भइरहनुका मुख्य पाँच कारणहरू यस्ता छन् ।

फाइल तस्वीर

१. चालकको लापरबाहीः ट्राफिक अधिकारीहरूका अनुसार धादिङमा त्रिशूली नदीमा बस खसेका पछिल्लो दुई ठाउँहरू दुर्घटनाको साह्रै जोखिम भएका स्थानहरू होइनन् । शुक्रबार बिहान तीन बजे दुर्घटनाग्रस्त भएको बस महोत्तरीबाट काठमाडौं आइरहेको थियो ।

धादिङको गजुरीस्थित ट्राफिक प्रहरीप्रमुख नेत्रप्रसाद भट्टका अनुसार दुर्घटनास्थल थोरै उकालो क्षेत्रमा रहे पनि त्यहाँ कुनै घुम्ती छैन । जसका कारण दुर्घटना हुन सक्ने सम्भावना हुन्थ्यो । बसका यात्रुहरूले गाडी तीव्र गतिमा हुइँकिएको र थकानका कारण चालक निदाएको हुन सक्ने प्रहरीलाई बताएका छन् ।

सरकारले दुई सय ५० किलोमिटरभन्दा लामो दूरी तय गर्दा ठूला सवारीसाधनले अनिवार्य रूपमा दुईजना चालकहरू राख्नुपर्ने व्यवस्था गरेको छ । महोत्तरीबाट आइरहेको उक्त बसमा दुईजना चालक भए पनि एकजनाले मात्रै गाडी कुदाएको पाइएको भट्टको भनाइ छ । लामो दूरी पार गरेर राजधानी भित्रिने क्रममा पृथ्वी राजमार्ग पार गर्दा चालकहरू निदाएका कारण दुर्घटना भएका खबरहरू वेला वेला आइरहने गरेको छ ।

यातायात व्यवसायीहरू पनि त्यसमा आंशिक सत्यता रहेको स्विकार्छन् र त्यसलाई रोक्न आफूहरूले विभिन्न जानकारीमूलक अभियान चलाएको बताउँछन् । तर, त्यसको हुनपर्ने जति प्रभावकारिता भने देखिएको छैन । लामो दूरीमा चल्ने सबै बसमा दुईजना चालक भेटिँदैन एउटै चालकले सवारीलाई गनतव्यसम्म पु¥याउने गरेको पाइन्छ ।

२. सडकको जीर्ण अवस्थाः राजधानीको जीवनसँग प्रत्यक्ष रूपमा जोडिने भए पनि दुई लेनको उक्त सडकको अवस्था लगभग जीर्ण बनिसकेको अधिकारीहरू स्विकार्छन् । अत्यधिक भार बोकेका सवारीसाधनहरूका कारणले राजधानी प्रवेश गर्ने लेनमा सडकको सतह निकै बिग्रिएको छ ।

सडक विभागका प्रवक्ता शिवहरी सापकोटा भन्छन्, ‘हामीले हाम्रो स्रोत र साधनले भ्याएसम्म मर्मत सम्भारको काम गरिरहेका छौँ । तर, राजधानी प्रवेश गर्ने मूल राजमार्ग भएकाले दुई लेनले भ्याउँदैन । हामीले यो सडकलाई पुनर्निर्माण गर्नुपर्ने वा विस्तार गर्नुपर्ने कुरामा जोड दिइरहेका छौँ ।’ उनको भनाइलाई आधार मान्ने हो भने अहिले ठूला सवारी कुद्ने गरेको सडक सुरक्षाका दृष्टिले भरपर्दा छैनन् । दिनहुँ जसो हुने दुर्घटनाका कारण यो पनि एक हो ।

एक वर्ष धादिङमा काम गरेका एक सुरक्षा अधिकारीका अनुभव अनुसार धेरै भार बोक्ने १६ देखी २० चक्के भारतीय मालवाहक ट्रकहरूको चाप बढ्दै जाँदा त्यसले सडकलाई कमजोर बनाएको देखिन्छ । राजमार्गमा सवारीसाधनले बोक्न पाउने वजनबारे सरकारी मापदण्ड रहे पनि वजनको जाँच गर्ने वा कडाइ गर्ने गरेको पाइँदैन ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष डोलनाथ खनाल भन्छन्, ‘सडक जीर्ण छ, त्यही भएर कहाँ कसरी के हुन्छ भन्ने ठेगान छैन ।’ ‘सडकको स्तर सुधार गर्दा पनि पृथ्वी राजमार्गमा धेरै दुर्घटना रोक्न सकिन्छ ।’

३. कठिन घुम्ती, साँघुरो पुल र तीव्र गतिः दैनिक हजारौँ संख्यामा सवारीसाधन राजधानी प्रवेश गर्ने पृथ्वी राजमार्गका सडकका धेरै स्थानमा साँघुरो घुम्तीहरू रहेका छन् । माथि अग्लो भीर र तल नदी रहेको उक्त राजमार्गमा गन्तव्यमा चाँडो पुग्ने होडबाजीले द्रुत गतिमा गाडी चलाउँदा पनि दुर्घटना हुने गरेको सुरक्षा अधिकारीहरू बताउँछन् ।

घुम्ती मात्र नभई पुलसमेत साँघुरो रहेकाले त्यसकै कारणले पनि दुर्घटना भएका प्रदेश नं ३ का ट्राफिक प्रहरी प्रमुख नवीन राई बताउँछन् । राईका अनुसार उक्त राजमार्गमा कतिपय ठाउँमा बनाइएका पुलहरू निकै छोटा छन् जसले गर्दा ठूला सवारीसाधनहरुलाई मोड्नसमेत पर्याप्त ठाउँ पुग्दैन । ती स्थानहरुमा अति नै जोखिम हुने गरेको उनका भनाइ छ ।

४. दक्ष चालकको अभावः नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका निवर्तमान अध्यक्ष खनाल दक्ष चालकको अभावका कारण पनि दुर्घटना हुने गरेको बताउँछन् । उनी भन्छन्, ‘अधिकांश अवस्थामा दुईवटा चालक राख्ने नियम पनि पालना भएका छन् तर सरकारले सात वर्ष ठूला सवारीसाधनका चालकहरूको लागि अनुमतिपत्र जारी नगर्दा चालकको उत्पादन नै रोकियो ।’ ‘त्यसले गर्दा सवारीसाधन हाँक्ने जनशक्तिको अभाव रहेको छ ।’ उनका अनुसार महासंघले चालकलक्षित सचेतना तथा जानकारीमूलक अभियानहरू चलाउँदै आएको छ ।

५. संकेत चिन्ह र बत्तीको अभावः सडक सुरक्षाका लागि राजमार्गमा ट्राफिक बत्ती, संकेत चिन्ह, सडक रेखा र अन्य पूर्वाधारहरू दुरूस्त हुनुपर्छ । तर, पृथ्वी राजमार्गमा कृष्णभीरसहित पहिरोको जोखिम रहेका कैयौँ स्थानहरू छन् जहाँ त्यस्ता चिन्हहरू भेटिँदैन । ती त्यस्ता स्थानहरूमा चिन्हको अभाव रहेको अधिकारीहरू नै स्वीकार गर्छन् ।

सडक विभागका प्रवक्ता सापकोटा सडकको नियमित मर्मत गर्ने र त्यहाँ आवश्यक संकेत चिन्ह राख्ने कुरालाई प्राथमिकतामा राखिएको बताउँछन् । ‘ब्ल्याक स्पट’ भनिने सम्भावित दुर्घटनाक्षेत्रहरूमा त्यस्तो चिन्हहरू राखिएको प्रदेश नं ३ का ट्राफिक प्रहरीप्रमुख राई बताउँछन् ।

उनका अनुसार चितवनमा कालीखोला, घुमाउने, जलविरे, फिस्लिङ र कुरिनटार क्षेत्र एवं धादिङमा बांगे झोडा, हुगडी खोला मोड, खत्री पौवा, विशालटार मोड, जहरे र हिल्टेकमोडलाई दुर्घटना जोखिम क्षेत्रका रूपमा घोषणा गर्दै सावधानी अपनाउन संकेत चिन्हहरू राखिएका छन् । तर, राजमार्गमा हुने ठूला दुर्घटनाका कारण ज्यान हुने गरेको मानवीय क्षतिको भने कमि हुन सकेको छैन । (बिबिसीको सहयोगमा)

प्रतिक्रिया

पछिल्ला अपडेट्स

लोकप्रिय