आमाहरू पढ्ने विद्यालय तंग्रँदै

बुटवल । ०६३ सालमा स्थापना भएको बुटवल–६ स्थित साधना महिला विद्यालय आमाहरूले पढ्ने विद्यालयको रूपमा चिनिन्छ । यस क्षेत्रकी महिला अगुवा सावित्रा अर्यालको अगुवाइमा स्थापना भएको यो विद्यालयमा अहिले पनि १ सय ५० भन्दा बढी विद्यार्थी पाका उमेरका छन् ।

०६३ सालमा कक्षा ६ देखि १० सम्म गुठी विद्यालयको रूपमा स्थापना भएको यो विद्यालयमा पछि ०६९ सालमा कक्षा १ देखि ५ सम्म कक्षा सुरु गरियो । २१ जनाबाट सुरु भएको यो विद्यालयमा अहिले २ सय ३८ जना विद्यार्थीले अध्ययन गर्दै आएका छन् । सानो उमेरमा पढ्न नपाएका महिलालाई अध्ययन गराउने उद्देश्यले स्थापना भएको यो विद्यालयमा ७० वर्ष सम्मका महिलाले अध्ययन गर्दै आएका छन् । यस बीचमा यस विद्यालयबाट एसइइमा मात्र ६७ जना सहभागी भएका छन् ।

‘अधुरो शिक्षा पूरा गरौँ, पढ्नलाई उमेरले छेक्दैन’ भन्ने नारासहित स्थापना भएको यो विद्यालयको सञ्चालन चन्दा र संस्थापक सदस्यबाट आउने शुल्कबाट हुन्छ । त्यसबाहेक बुटवल उपमहानगरपालिकाले प्रत्येक वर्ष दुई लाख रुपैयाँ दिँदै आएको छ भने शिक्षा मन्त्रालयबाट धार्मिक तथा फरक खालको विद्यार्थी शीर्षकमा वार्षिक १२ लाख बढी आउने गर्छ । विद्यालयमा कक्षा १० सम्म पढाइ हुने विद्यालयमा १२ शिक्षक र कर्मचारी कार्यरत छन् । जसमध्ये दुई जना सरकारी दरबन्दीका हुन भने बाँकी १० जनालाई आन्तरिक स्रोतबाटै विद्यालयले तलब खुवाउँदै आएको छ ।

‘हामीले जति पनि शिक्षक राखेका छौ, उहाँहरूलाई सरकारी तलब स्केल दिन सकिएको छैन्, न्यूनतम दिएरै राखेका छौँ’, विद्यालयकी प्राचार्य विष्णु कुँवरले भनिन् । कुनै समय आर्थिक संकटमा समेत परेको यो विद्यालयले अहिले विस्तारै तंग्रने क्रममा छ । १४ धुरमा रहेको यो विद्यालयमा भवन थप गर्न आवश्यक जग्गा छैन । भएका भवनमा तला थप गर्ने अहिले विद्यालयको योजना छ ।

‘यहाँ बनेका १३ कोठा पनि चन्दा दाता, सांसद विष्णु पौडेलको संसद् विकास कोष, नगरपालिका, तत्कालीन जिल्ला विकास समिति, शिक्षा कार्यालय सबैको पहलमा एक करोड बढी खर्च गरेर बनाएका हौँ’ प्राचार्य कुँवरले भनिन् । अहिले पनि विद्यालयमा कक्षा कोठा, स्टार्फ कोठा, कम्प्युटर कोठा र हलको आवश्यकता रहेको छ ।

पाका उमेरकालाई बुझाउनै गाह्रो
विद्यालयमा साना उमेरका भन्दा पनि बढी पाका उमेरका विद्यार्थीहरू छन् । यस्ता पाका उमेरका विद्यार्थीलाई पढाएको बुझाउन निकै गाह्रो हुने गरेको अनुभव प्राचार्य कुँवरको छ । ‘सानो उमेरका बालबालिकाहरूले छिटो बुझ्छन, तेजिलो दिमागले पनि होला, उहाँहरूलाई भने बुझाउन अलि समय लाग्छ’, उनले भनिन्, ‘पछि बुझेपछि भने झट्टै भुल्ने हुनुहुन्छ ।’

त्यति मात्र होइन विद्यालयमा पाका उमेरका विद्यार्थीलाई नियमित गराउन पनि चुनौती विद्यालयलाई छ । भर्ना भएको सबै विद्यालयमा आउँदैनन् । आउने पनि हप्तामा कुनै त एक दुई दिन मात्र आउँछन् । ‘विद्यालय हिँड्ने वेला पाहुना घरमा आए भने पनि उहाँहरू विद्यालय आउनुहुन्न, कतिपय नातिनातिना हेर्नुपर्छ भनेर विद्यालय आउनुहुन्न’ प्राचार्य कुँवरले भन्छिन् ।

बुढेसकालमा अक्षर चिन्दा खुसी
सानो उमेरमा पढ्न नपाएका बुटवल दीपनगरकी सीतादेवी थापा अहिले नियमित विद्यालय जान्छिन् । उमेरले ५३ वर्ष काटेकी उनी कक्षा ४ कि नियमित विद्यार्थी हुन् । ‘पहिले पढ्न पाइनँ । अहिले यो बुढेसकालमा पढ्न आएकी छु, खुसी छु, दुई÷चार अक्षर चिनेकी पनि छु’ उनले भनिन्, ‘पढ्नलाई उमेरले कहाँ छेक्छ र ?’ उनी कक्षा २ मा पढ्न त्यहाँ आएकी हुन् ।

त्यस्तै इँटाभट्टकी तारादेवी आचार्य पनि उमेरले ७० वर्ष पुग्दा पनि विद्यालयमा आउँछिन् । कक्षा ५ मा पढ्ने आचार्य पनि सानो उमेरमा पढ्न पाइनन् । अहिले झोलामा कापी र किताब बोकेर आउने उनको दैनिकी बनेको छ । ‘अहिले त स्कुलकै जेठो विद्यार्थी हुँ । मजस्ता विद्यार्थीहरू देख्दा खुसी लाग्छ, यो उमेरमा भए पनि दुई÷चार अक्षर लेख्न जानेकी छु’, उनले भनिन् ।

अधुरो शिक्षा पूरा गर्न विद्यालय
साधना महिला विद्यालयकी अध्यक्ष सावित्रा अर्याल सानो उमेरमा पढ्न नपाएकाहरूको अधुरो शिक्षा पूरा गर्न विद्यालय खोलेको बताउँछिन् । ‘छोरीलाई पढाउनु हुन्न भन्ने समाजमा हामीले आमा पढाउने महत्वाकांक्षी योजना लिएरै विद्यालय सञ्चालनमा ल्याएका हौँ’, उनले भनिन् ।

प्रतिक्रिया