डेढ महिनामै मरे बिरुवा

काठमाडौं । ‘रूख रोप्नुमात्र ठूलो कुरो होइन, यसलाई हुर्काउनु सबैभन्दा ठूलो कुरो हो । त्यसैले सबैसंघ संस्था, व्यक्तिहरू रोपेका रूख हुर्काउनेमा प्रतिस्पर्धा गर्नुहोस्’, प्रधानमन्त्री केपी शर्मा ओलीको भनाइ हो यो ।

असार १४ गते विश्व वातावरण दिवसका अवसरमा कोटेश्वरमा आयोजित वृक्षरोपण कार्यक्रममा भनेका थिए । सो दिन देशभर झण्डै हजारौँ बिरुवा रोपिए । काठमाडौंमा पनि प्रधानमन्त्रीदेखि मन्त्री, विभिन्न दलका नेताकार्यकर्ताले वृक्षरोपण गरे । सो वेला वृक्षरोपण गरिएका बिरुवालाई अहिले चरम बेवास्था गरिएको देखिएको छ ।

कोटेश्वरदेखि कलंकीसम्म आठ लेन सडक छेउछाउमा असारे, तेजपात, कामिनी, कल्कीफूल, ज्याकारान्डा, करबीरलगायत प्रजातिका दुई हजार ६ सय बिरुवा रोपिएको छ । ती बिरुवामाथि अहिले रेखदेख नगर्दा केही मर्न थालेका छन् । बिरुवा रोप्ने र त्यसपछि रेखदेख नगर्ने बानीले समस्या निम्तिएको छ ।

वृक्षरोपण गरिएका केही बिरुवा हुर्किए पनि झारापात मौलाएको छ । प्रधानमन्त्री ओलीले उद्घाटन कार्यक्रमकै दिन दिएको मन्तव्यको सम्बन्धित निकायले बेवास्था गरेको छ । जसका कारण सो वृक्षरोपण ‘भगवान् भरोसा’मा छाडिएको छ । ‘हुर्किए, हुर्किहाले नभए मर्छन्’, भन्ने मनस्थितिमा देखिएको छ ।

जागेका बिरुवा पनि आवश्यक संरक्षण नपुग्दा मरेका छन् भने कतिपय बिरुवाको वरिपरि झार पलाएर घारी भएको छ । कलंकीदेखि कोटेश्वरसम्मको आठ लेन सडकको १० किमि सडक छेउमा वन तथा वातावरण मन्त्रालय र वन तथा भू–संरक्षण विभागको आयोजनामा राष्ट्रिय प्रकृति संरक्षण कोष, एफएओ नेपाल, डब्लुडब्लुएफ नेपाल, रेड पान्डा नेटवर्क, चक्रपथ सडक सुधार योजनालगायत संस्थाले आर्थिक सहयोगमा बिरुवा रोपिएका हुन् ।

विभिन्न निजी क्षेत्रका कर्पोरेट संस्था, राजनीतिक दलका भ्रातृ संगठन र खेलकुदलगायत विभिन्न संघले पनि उक्त क्षेत्रमा बिरुवा रोपेका थिए । तर, कसैले पनि सो बिरुवाको अभिभावकत्व ग्रहण गरेको देखिँदैन् । दिवसका दिन रोपिने र त्यसपछि बेवास्था गरिएको भेटिएको छ ।

प्रतिक्रिया