‘जेब्राक्रस’ परिचर्चा

कास्की । साहित्यकार तर्कना शर्माद्वारा लिखित उपन्यास ‘जेब्राक्रस’ माथि परिचर्चा गरिएको छ । पोखरामा शनिबार पुछारसिटे अभियानले आयोजना गरेको परिचर्चा कार्यक्रममा उपन्यासले नेपाली समाजमा दमितरूपमा रहन बाध्य पारिएका नागरिकका बारेमा उत्खनन् गरेको वक्ताले बताए ।

साहित्यकार भुवनहरि सिग्देलले समाजमा उपेक्षामा परेका तेस्रोलिंगीका पीडा उठान गरी तिनका विषयलाई स्थापित गराउने काम उपन्यासले सशक्तरूपले गरेको बताए । उनले भने, ‘उपन्यासकार शर्माले समाजले खासै महत्व नदिएको पक्षलाई समेटेर पुस्तक प्रकाशित गरी तेस्रोलिंगीका विषयमा प्रस्ट पार्ने कोसिस गरेको देखिन्छ । साथै, शर्माले तेस्रोलिंगीका विषयमा नबुझेका पाठकलाई समेत स्पष्ट हुने गरी उपन्यास प्रस्तुत गर्नुभएको छ ।’

सिग्देलले नेपाली समाजलाई प्राकृतिक न्यायको सिद्धान्तमा रही तेस्रोलिंगीप्रति सम्मानजनक व्यवहार गर्न लेखिकाले उपन्यासमार्फत घच्घचाउँदै सचेतपूर्वक आग्रह गरेको विचार राखे । उनले भने, ‘सामाजिक एवं कानुनी दुवै क्षेत्रबाट तेस्रोलिंगीप्रति हुने दुव्र्यवहार र गलत धारणा अन्त्य गर्ने कार्यमा सिंगो समाज एक भएर लाग्नुपर्ने विचार उपन्यासमा आएको छ ।’ उनले लेखिकाले तेस्रोलिंगीलाई सुरक्षित अवतरण गर्न माग गर्दै उपन्यासको नामै ‘जेब्राक्रस’ राखेको हुन सक्ने जिकिर गरे ।

त्यस्तै तेस्रोलिंगी एवं समलैगिंकता विषयका अध्येता रमेश पन्तले समलिंगी र तेस्रोलिंगी बन्नु पूर्णतः प्राकृतिक प्रक्रिया भएको बताए । यसलाई अप्राकृतिक रूपमा लिनु आफैँमा त्रुटिपूर्ण र अन्यायपूर्ण रहेको बताए । उनले भने, ‘आमाको गर्भमा रहँदा नै बच्चाको शारीरिक विकास प्रक्रियामा आउने हार्मोनको गडबडीलाई व्यक्तिको मानसिकतासँग जोडेर हेर्नु हुँदैन ।’ उनले ‘जेब्राक्रस’ ले समाजको गलत सोचाइ र संस्कारको अचानोमा तेस्रोलिंगी परेको विषय उठान गर्दै उनीहरूले व्यहोर्नुपर्ने कठिनाइको शल्यक्रिया गरेको बताए ।

पन्तले भने, ‘प्राकृतिकरूपमै तेस्रोलिंगी महिला र पुरुषभन्दा फरक रहेकाले उनीहरूको फरक अस्तित्वलाई स्वीकार्ने दिशामा समाज अगाडि बढ्नुपर्दछ ।’ उनले उपन्यासमा लेखिकाले तेस्रोलिंगीका जीवनमा आउने कठिनाइलाई सूक्ष्मरूपले प्रस्तुत गर्दै महिला तथा पुरुषलाई जीवनसाथीका रूपमा स्वीकारेर अगाडि बढ्दा जीवनमा आउने अप्ठ्यारालाई केलाएको जिकिर गरे ।

परिचर्चा कार्यक्रममा उपन्यासकार तर्कना शर्माले समाजमा तेस्रोलिंगीले भोग्नुपरेको पीडालाई आफूले उपन्यासमा उधिनेको बताइन् । उनले तेस्रोलिंगीका बारेमा सामाजिकरूपमा सुन्दै आएको र केही साथीमार्फत यस क्षेत्रका समस्याका बारेमा जानकारी पाएपछि आफूमा लेखनको हुटहुटी बढेको सुनाइन् । उनले भनिन्, ‘त्यसपछि थप अध्ययन गरी पुस्तक तयार गरेँ । यसका बारेमा जानकारी र तथ्य बटुल्न काठमाडौं, पोखरा, भैरहवालगायत केही ग्रामीण क्षेत्रमा पुगेँ ।’ उनले आफूले उपन्यासमार्फत तेस्रोलिंगीको अधिकारका बारेमा सशक्त आवाज उठाएको जिकिर गरिन् ।

उनले थपिन्, ‘नेपाल सरकारले तेस्रोलिंगीका बारेमा विद्यालय तहको पाठ्यक्रममा नै विषय समावेश गरी उनीहरूप्रति समाजमा रहेको नकारात्मक धारणा हटाउन आवश्यक छ ।’

सो अवसरमा तेस्रोलिंगी विन्दिया गौतमले समाजमा तेस्रोलिंगीप्रति रहेको नकारात्मक धारणा हटाउन कला, साहित्य तथा नाटकको भूमिका विशिष्ट हुने बताइन् । उनले तेस्रोलिंगीले समाजमा निकै कठिनाइ भोग्नुपरेको जिकिर गर्दै भनिन्, ‘साहित्य, कला, नाटक र संगीतका माध्यमबाट समाजमा रहेको गलत धारणा हटाइ सकारात्मक सोच विकास गर्नुपर्दछ ।’ विन्दियाले नेपालमै पहिलोपटक तेस्रोलिंगीको पहिचानसहित नागरिकता प्राप्त गरेकी छन् । शर्मालाई विद्यालय तहमा पढाएकी शिक्षिका भगवती रेग्मीले उनको परिचय दिँदै सानैदेखिको साहित्य एवं सामाजिक कार्यप्रति सचेत ढंगले लागेको जनाइन् ।

कार्यक्रममा पुछारसिटे अभियानका अभियन्ता वसन्त विनोदले साहित्यकार शर्माले समाजप्रतिको आफ्नो उत्तरदायित्वलाई सचेत ढंगले प्रस्तुत गरेको बताए । संस्थाका संयोजक सञ्जीव पौडेलले समाज रूपान्तरणमा साहित्यको भूमिका विशिष्ट रहन्छ भन्ने तर्कलाई उपन्यासकार शर्माले पुष्टि गरेको जिकिर गरे । साहित्यकार सुरज उपाध्यायले अभियानले स्रष्टाका कुरा सुन्दै कृतिमाथिको पृष्ठभूमिलाई आमपाठकसम्म पु¥याउन काम गर्दै आएको सुनाए ।

प्रतिक्रिया