काठमाडौंमा रात्रीबसको आवश्यकता

सरकारले राजधानी काठमाडौंमा रात्रीबस सञ्चालन गर्ने तयारी गरेको समाचार आयो । केही दिनपछि यो समाचार यसै सेलायो । यातायत व्यवसायीहरूसँग कुरा नमिलेका कारण यो प्रयासबाट सरकार पछि हटेको हो । रातिको समयमा यात्रुको संख्या थोरै हुने भएकोले यातायात व्यवसायीहरूले दिउँसोको भन्दा दोब्बर भाडा लिन पाउनु पर्ने माग गरे । दोब्बर भाडा लिन दिँदा अलोकप्रिय हुने डरले सरकारले हिम्मत जुटाउन सकेन । यसैले रात्रीबस सेवा सञ्चालनको प्रयास यस पटक पनि तुहियो । केशव स्थापित काठमाडौं महानगरपालिकाको मेयर भएका वेला २०५७ सालमा रात्रीबस सञ्चालनको कुरा उठेको थियो । केही समय यसको परीक्षण पनि भयो । तर, त्यतिवेला दुई वटा समस्या देखिएकोले यो प्रयास स्थगित गरियो । पहिलो कुरा रात्रीबसहरूले खासै यात्रु पाएनन् । दोस्रो कुरा माओवादी द्वन्द्व चरमोत्कर्षमा पुगेका कारण प्रहरीले शान्ति सुरक्षाको व्यवस्थाका लागि जनशक्ति अभाव भएको जनायो । प्रत्येक बसमा कम्तीमा दुई जना प्रहरी सुरक्षाकर्मीको व्यवस्था गर्नु पर्ने बाध्यता एकातिर थियो भने अर्कातिर रात्रीबस सञ्चालनमा आएपछि सहरमा रातभरी चहल पहल हुने भएकोले टोल टोल र चोक चोकमा प्रहरीको व्यवस्था गर्नु पर्ने भयो । त्यतिवेला एक दुई जना प्रहरीहरू चोक चोक तथा गल्ली गल्लीमा रातभरी बस्न सक्ने अवस्था थिएन । उनीहरू माओवादीको निशाना बन्न सक्ने सम्भावना थियो । यसैगरी माओवादी सशस्त्र द्वन्द्वका कारण सर्व साधरण पनि राति बाहिर निस्कने अवस्था नभएकोले रात्रीबसहरूले यात्रु नपाउने अवस्था थियो ।

आजभन्दा करिब २० वर्ष अघिको अवस्था र अहिलेको अवस्थामा धेरै भिन्नता आएको छ । राजधानी काठमाडौं उपत्याकामा त्यतिवेलाभन्दा अहिले जनसंख्या दोब्बर भइसकेको छ । शान्ति सुरक्षाको चुनौती पनि त्यतिवेलाको जस्तो भयावह छैन । सेना तथा प्रहरीको संख्या पनि त्यतवेलाको तुलनामा दोब्बर भइसकेको छ । मानिसहरू रात्रीकालीन व्यवसायमा अभ्यास्त नभई सकेका कारण सुरुका दुई चार महिना रात्रीबसहरूलाई यात्रु पाउन समस्या होला , यतिन्जेलका लागि विशेष सुहिलयत दिन राज्यलाई गारो हुँदैन । शान्ति सुरक्षाका लागि एक जना नेपाल प्रहरी र एक जना काठमाडौं महानगरपालिका तथा ललितपुर महानगर पालिकाका प्रहरी प्रत्येक बसमा तैनाथ गर्न सकिन्छ । साथै त्यतिवेला लोड सेडिङको समस्या भएका कारण पनि मानिसहरूलाई राति बाहिर निस्केर काम गर्न अप्ठेरो थियो । तर, अब त्यो अवस्था छैन् । उत्पादित बिजुली खपतका लागि पनि विकल्प खोज्नु पर्ने वेला आउन लागेको नेपाल विद्युत् प्राधिकरणले जनाइसकेको छ । उत्पादित बिजुली खेर जान नदिनका लागि सबैभन्दा उपयुक्त विकल्प भनेकै रात्रीकालीन व्यवसाय सञ्चालनका लागि प्रोत्साहन गर्नु हो ।

यतिवेला राजधानी काठमाडौंमा हिँउदको समयमा बेलुका ७ बजेदखि र वर्षाको समयमा बेलुका ८ बजेदेखि सार्वजनिक सवारी साधन पाउन नसकिने अवस्था छ । जसका कारण आफ्नो व्यवसाय सम्साँझै बन्द गरेर घर तथा डेरामा जान सर्वसाधरण बाध्य छन् । जसका कारण धेरै ठूलो जनशक्तिको उत्पादनमूलक समय खेर गइरहेको छ । राजधानी काठमाडौंका ४० लाख मध्ये करिब ३० लाख कामकाजी छन् । यदी बेलुका १० बजेसम्म मात्रै सार्वजनिक सवारी साधन सञ्चालन गर्न सक्ने हो भन उनीहरूले थप तीन घण्टा आफ्नो काम गर्न पाउँदैछन् । ३० लाख मान्छेले दैनिक थप तीन घण्टा काम गर्ने सुविधा पाउने हो भने उत्पादन बढ्छ । यसैगरी बेलुका चारदेखि सात बजेसम्म र बिहान नौदेखि ११ बजेसम्मको समयमा राजधानी काठमाडौं सवारी जामले हैरान हुने गरेको छ । बस चढ्न सर्वसाधरणले निकै ठूलो सास्ती भोग्नु परेको छ । जति काम गर्नु छ, बिहान नौदेखि बेलुका ६ बजेसम्म भ्याउनु पर्ने भएका कारण मानिसहरू एकै समयमा काममा निस्किन्छन् र एकै समयमा घर–डेरा फर्कन्छन् । यदी रात्रीबस सेवा सञ्चालन गर्ने हो भने दिउँसोमा परेको यो चाप पनि घट्छ । वर्षको १५ अर्ब रुपैयाँ बजेट परिचालन गर्ने काठमाडौं र ६ अर्ब रुपैयाँ बजेट परिचालन गर्ने ललितपुर महानगर पालिकाले इच्छा शक्ति देखाउने हो भने पनि यो काम अप्ठेरो छैन । काठमाडौं उपत्याकाभित्र अरू १९ वटा नगरपालिका छन् । कुनै नगरपालिकाको पनि वार्षिक एक अर्ब रुपैयाँ भन्दा कम छैन । काभ्रेका वनेपा , धुलिखेल र पनौती नगरपालिकालाई पनि यो प्याकेजमा समेट्ने हो भने सहजरूपमा रात्रीबस सञ्चालन गर्न सकिन्छ ।

प्रतिक्रिया