लिबियामा हवाई आक्रमण, ४० भन्दा बढी मारिए

एजेन्सी । युद्धग्रस्त लिबियाको दक्षिणी शहर मुर्जुकमा आइतबार साँझपख गरिएको हवाई आक्रमणमा ४० जनाभन्दा बढीको मृत्यु भएको छ । स्थानीय प्रहरीका अनुसार उक्त आक्रमणमा ५० जनाभन्दा बढी मानिस घाइते भएका छन् ।

मुर्जुक नगरपालिकाका परिषद सदस्य मोहमद ओमारले युद्धरत विभिन्न पक्षबीच मेलमिलाप गराउन आयोजना गरिएको बैठकस्थलमै हवाई आक्रमण भएको बताए । आक्रमणमा ४० जनाभन्दा बढीको घटनास्थलमै मृत्यु भएको पनि उनले जानकारी दिए ।

ओमारले मारिएका सबै व्यक्ति सर्वसाधारण रहेका र उनीहरुको कुनै पनि लडाकू समूहसँग आबद्ध नरहेको बताए ।राष्ट्रसंघको समर्थनप्राप्त लिबियाली सरकारले आक्रमणको भत्र्सना गर्दै आक्रमणमा जिम्मेवारलाई सख्त कारबाही गर्न राष्ट्रसंघ र अन्तर्राष्ट्रिय समुदायसमक्ष आग्रह गरेको छ ।

गत फेब्रुअरीदेखि मुर्जुकलाई नियन्त्रणमा लिइरहेका पूर्वी क्षेत्रमा सक्रिय विद्रोही पक्षले मुर्जुकमा सक्रिय चाडका लडाकूहरुमाथि हवाई आक्रमण गरिरहेको तर मुर्जुकका स्थानीयबासीलाई लक्षित नगरिएको जनाएको छ ।

लिबियाको राजधानी त्रिपोलीलाई आफ्नो नियन्त्रणमा ल्याउन हफ्तार नेतृत्वको विद्रोही सेनाले भिषण युद्ध गरिरहेको छ । यस द्वन्द्वबाट एक हजारभन्दा बढीको ज्यान गइसकेको छ । आक्रमणमा झण्डै ६ हजार घाइते भएका छन् भने एक लाख २० हजारभन्दा बढी विस्थापित भएका छन् ।

प्रतिक्रिया