फल्न छाड्यो गुराँसेमा स्याउ

एक समय दैलेख र सुर्खेत जिल्लाको सीमा क्षेत्र रानीमत्ता भन्ने स्थान–गुराँसे स्याउका लागि प्रख्यात थियो । सबैका घर–घरमा स्याउका बगैँचा देखिन्थे । यात्रुहरू स्याउको स्वाद चाख्नकै लागि त्यहाँ विश्राम लिने गर्दथे । गुराँसेको स्याउले दैलेख, सुर्खेत र नेपालगञ्जसम्म बजार पाएको थियो उसवेला । दैलख, जाजरकोट, कालीकोट र जुम्लालगायतका जिल्लाबाट तराई झर्ने मुख्य नाका भएकाले यहाँको स्याउको स्वाद नलिने कमै थिए । आफन्तलाई कोसेलीका रूपमा पनि उक्त बाटो भएर यात्रा गर्नेहरू यहाँको स्याउ किनेर लैजाने गर्थे ।

उति वेलाको गुराँसेको स्याउ अब भने इतिहास बनिसकेको छ । पछिल्लो एक दशकयता गुराँसे–रानीमत्ता क्षेत्रमा स्याउका बोट नै देखिन छाडेका छन् । लटरम्मै फलेका स्याउ देखेका त्यतिवेलाका पैदल यात्रीहरू आजभोलि बोटसमेत नदेख्दा अचम्मित पर्ने गर्छन् । अहिले त्यही गुराँसे बजार भारतीय स्याउले ओगटेको छ । यहाँ स्याउ त पाइन्छ तर, पहिलाको जस्तो स्वाद भने पाइँदैन । उतिवेलाको जस्तो बोटबाट टिप्दै गरेको स्वादिष्ट स्याउको ठाउँ भारतबाट ल्याएका ओइलिएका स्याउले ओगटेको छ ।

गुराँसे लेकाली हावापानी भएको क्षेत्र हो । विसं ०४० मा दैलेखको माथिल्लो गाईबान्ना, रानीमत्ता र गुराँसेमा बसोवास गर्ने स्थानीयले ‘रेड गोल्डेन’ जातको स्याउ रोप्थे । बगैँचाभरि स्याउ रोप्न ऋण सापट गरी जुम्लादेखि बिरुवाहरू खरिद गथ्र्योे । सुरु–सुरुमा रामै्र फल्यो, लगानी र मिहिनेतअनुसारका आम्दानी गरेका थिए स्थानीयले । स्याउबाट मनग्ये कमाउने कृषकको आशा धेरै वर्ष टिक्न सकेन । समय बित्दै जाँदा स्याउनका बोटहरू क्रमशः सुक्दै गए । तापमान वृद्धि भएकै कारण स्याउका बगैँचा फाँडेर ४० भन्दा बढी कृषकहरू अहिले व्यावसायिक तरकारी गरिरहेका छन् ।

सेरी गाइबान्नाका कृषक रूद्रप्रसाद पौडेलले कृषि विकास बैँकबाट झिकेको ऋण नतिर्दै स्याउका बोटहरू सुकेको गुनासो गरे । ‘बचेका बोटमा फल पनि राम्रो लागेन, हावापानीले मेल नखाएपछि बगैँचा फाँड्नुपर्यो,’ उनले समस्या सुनाउँदै भने, ‘कुनै वेला स्याउका बगैचाँ रहेको जमिनमा अहिले आलु, काउली, बन्दा, मुलालगायतका तरकारी खेती गरेका छौँ ।’ किसानले १५ देखि ५०० बोटसम्म रोपेका थिए । ‘प्रतिबोट ५० रुपैयाँ परेको थियो, ०५०-५१ सालदेखि स्याउ खेती बिगँ्रदै गयो, सुक्न र राम्रो फल नलागेपछि बगैँचा मास्यौँ,’ पौडेलले भने । अहिले यहाँ स्याउका बोट हेर्न पनि मुस्किल भएको छ ।

‘सुरुका वर्षहरूमा स्याउ राम्रै फलेको थियो, एउटै बोटले ६ सय जति दाना दिन्थ्यो,’ अर्का कृषक दीपक पौडेलले भने, ‘सुरु–सुरुमा फलेका स्याउहरू रसिला थिए, पछि दाना स–साना भए । स्वाद पनि हराउँदै गयो ।’ उनले आफ्ना भोगाइ र समस्या सुनाए ।

यहाँको तीन सय रोपनीमा २ हजार ५ सय स्याउका बोट रोपिएको थियो । कतिपय कृषकले बोट खरिद गर्दा लागेको ऋण तरकारीको आम्दानीले तिरे । स्याउ खेती गर्दा लिएको १० हजार रूपैयाँ ऋण तिर्न नसक्दा बैँकले स्थानीय पे्रम ढकालको जग्गा नै लिलाम गरेको थियो । उनले सबैभन्दा बढी पाँच बोट स्याउ रोपेका थिए । स्याउका लागि हावापानी अनुकूल नहुँदा पे्रमजस्ता थुपै्र विपन्न कृषकले ऋण तिर्न सकेनन् ।

‘बगैँचा बनाउँदा यसरी डुबिएला भन्ने पत्तै पाइएन, केही होला त भनेर गरेको सफल भइएन, बैंकले जग्गा जफत गरिदियो,’ ढकालले गुनासो गरे, सुरुका केही वर्ष राम्रै फल्यो । त्यतिवेला सुर्खेत–दैलेख सडक थिएन । पैदल हिँडेर स्याउ बेच्न सुर्खेत झर्नुपदथ्र्यो । अहिले बाटो बनेको छ, गाडी आउँछ तर, स्याउ फल्न छाड्यो । ऋणमा मात्रै डुबायो ।’ यहाँका किसानका सपना स्याउका दानाको जस्तै उत्साहको स्वाद हराएको छ, दानाजस्तै जाँगरको साइज घटेको छ ।

एकाउन्न सालमा सुर्खेत–दैलेख सडकको ट्र्याक खुल्यो । त्यसअघि पैदल आउजाउ गर्नुपथ्र्यो । गुराँसेबाट थोक मूल्यमा खरिद गरी डुंगेश्वर, घोडावास, चुप्रा, धरमपोखरा, गोठीकाँडावासीले बिक्रीका लागि लैजान्थे । रूख सुक्दै जानु, दाना पनि राम्रो नलाग्नु, स्वादिष्ट नहुनु, बेमौसममा फुल्न र फल्न थालेपछि किसानले स्याउ मासेका हुन् । लेकाली हावापानी भए पनि पछिल्ला वर्ष गुराँसेमा गर्मी बढ्दै गएको छ जसको प्रत्यक्ष असर मध्यपहाडी क्षेत्रमा फल्ने स्याउ हराउँदै गएको छ ।

समुद्री सतहबाट गुराँसे रानीमत्ता दुई हजार एक सय ९८ मिटर उचाइमा अवस्थित छ जुन सुर्खेतसँग सीमा जोडिएको दैलेखको दक्षिणी गुराँस गाउँपालिकामा पर्दछ । कृषि ज्ञान केन्द्र दैलेखका कृषि प्रसार अधिकृत नरेन्द्र थापाले ‘रेड गोल्डेन’ जातको स्याउलाई बढी चिस्यान आवश्यक पर्ने बताए । रेड गोल्डेन जातलाई हिउँ बढी पर्ने र बाहै्र महिना लेकाली हावापानी हुने क्षेत्र उपयुक्त मानिन्छ,’ उनले भने, ‘जलवायु परिवर्तनका कारण तापक्रम बढ्दै गयो । त्यसकै परिणाम गुराँसेको हावापानी स्याउका लागि प्रतिकूल बनेको हो ।’

कृषकले स्याउको फल नपाए पनि तरकारीबाट राम्रो प्रगति गर्दै आएका छन् । सुर्खेत–दैलेख सडक कालोपत्रे भएपछि यहाँबाट सुर्खेत एक घण्टामै पुगिन्छ । तरकारी खेतीबाटै अधिकांश कृषकले सुर्खेत उपत्यकामा घर–घडेरी किनेका छन् तर, मौसममा आएको फेरबदलले मुख्य आयस्रोत तरकारी खेतीमा प्रत्यक्ष असर पुग्न थालेकामा कृषक चिन्तित छन् । विभिन्न रोगकीराका कारण तरकारीको उत्पादकत्व पनि घट्दो अवस्थामा छ । गुराँसे रानीमत्ता क्षेत्रमा सबैभन्दा बढी सिँचाइ र खानेपानीको समस्या छ ।

प्रतिक्रिया