अमेरिका–चीन व्यापार वार्ता सुरु

शाङ्घाई, एजेन्सी । एक वर्षदेखि जारी अमेरिका–चीन व्यापार युद्धको अन्त्यको उपाय निकाल्न चिनियाँ र अमेरिकी व्यापार मध्यस्थकर्ताहरुको वार्ता शाङ्घाईमा बुधबार पुनः सुरु भएको छ । तर अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका पछिल्ला ट्वीटले वार्तालाई नै ओझेलमा पारेको छ ।

व्यापारमा समस्या देखिएको भन्दै अमेरिका र चीनले एक अर्काका करिब तीन खर्ब ६० अर्ब डलर बराबरका सामानमा करवृद्धि गरेका छन् । अमेरिकाले चिनियाँ सामानको निर्वाध र खुकुलो प्रवेशका कारण व्यापार असन्तुलन चरम अवस्थामा पुगेको तथा अमेरिकी प्रविधि चीनले चोरी गरेको आरोप लगाउँदै आएको छ ।

यतिखेर अमेरिकी व्यापार प्रतिनिधि रोबर्ट लाइटीजर र अर्थमन्त्री स्टिभेन मन्चिन शाङ्घाईमा छन् । चिनियाँ प्रतिनिधिमण्डलको नेतृत्व त्यहाँका उपप्रधानमन्त्री लिउ हे ले गरेको छ । दुबै टोलीले बुधबार बिहान एकअर्कासँग हात मिलाएर वार्तामा बसेका थिए । अमेरिकी अधिकारीहरु वार्ताका लागि मंगलबार नै शाङ्घाई पुगेका हुन् ।

यहीबीच, अमेरिकी राष्ट्रपतिले ट्वीट गर्दै व्यापार वार्ताप्रति चीन त्यति गम्भीर नरहेको आरोप लगाएका छन् । उनले भनेका छन्, ‘मेरो टोलीले अहिले चिनियाँ पक्षसँग वार्ता गरिरहेको छ, तर चिनियाँहरु आफूलाई लाभ हुने कुरामा मात्र ध्यान दिइरहेका छन् । यस्तो सम्झौता हाम्रा लागि कुनै महत्वको होइन ।’

चीन सरकारले अमेरिकी कृषिजन्य उत्पादन खरिद गर्ने प्रतिबद्धता जनाएको तर महिनौंदेखि कतिपय सामान नकिनेको अमेरिकी आरोप छ । ट्रम्पले भने, ‘चीनसँगको समस्या नै यही हो, उनीहरु इमान्दार हुन सकेनन् ।’ विज्ञहरुले राष्ट्रपति ट्रम्पका पछिल्ला ट्वीटले पहिल्यैदेखि तनाबमा रहेको व्यापार वार्तालाई सहजीकरण गर्न सहयोग नगर्ने बताएका छन् ।

शाङ्घाई बैठक प्रारम्भ हुनु अघिल्लो दिनमात्र अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व व्यापार संगठनमा चीनले पाइरहेको विकासशील मुलुकको दर्जा हटाउने चेतावनी दिएका थिए । अमेरिकी उक्त भनाईलाई चीनले ‘अमेरिकी अहङ्कार’ भन्दै प्रतिवाद गरिसकेको छ ।

प्रतिक्रिया