सगरमाथा र मान्छेको लर्को

स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारी (त्यो बेला न्यूजिल्याण्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथमपटक सफलता प्राप्त गरे । उनीहरु बेलायती टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए

सन् १९२१ मा पहिलोपटक बेलायती सेनाका लेफ्टिनेन्ट कर्नेल चाल्र्स हवार्ड बरिको नेतृत्वमा सगरमाथा चढ्ने प्रयास भएको थियो । त्यो बेला नेपालतर्फबाट सगरमाथा आरोहण गर्ने वा सो क्षेत्रमा जाने अनुमति नभएकोले अंग्रेज टोली तिब्बतको १३ औं दलाई लामाबाट सन् १९२० मा अनुमतिपछि सन् १९२१ मा पहिलो पटक अंग्रेज टोली सगरमाथातर्फ लाग्यो । यसरी सन् १९२१-३८ बीचमा दुईपटक सगरमाथा आरोहण गर्ने र रेखी (नापजाँच) काम पनि भयो । तर उनीहरुले सफलता पाउन सकेनन । बरु टोलीका सदस्य डा. ए.एम. कल्लसको मृत्यु भयो । उनी सगरमाथा आरोहण गर्ने क्रममा पहिलो सहिदको रुपमा स्थापित भए !

दोस्रो विश्व युद्ध सकिएपछि भने नेपालले पनि सगरमाथा आरोहणका लागि खुल्ला गर्यो । फलतः सन् १९४९ मा स्वीजरल्यान्डका पर्वतारोही टोली पहिलोपटक सिक्किम हूँदै नेपालको पूर्व (कञ्चनजंघा क्षेत्र) को ७,१२३ मिटर अग्लो पिरामिड हिमाल आरोहण गर्न सफल भयो । लगत्तै सन् १९५०–५१ मा बेलायती पर्वतारोही टोली नेपाल तर्फबाट गए । उनीहरुले पनि सफलता पाउन सकेनन् । त्यस्तै सन् १९५२ मा स्वीस टोलीले नेपालतर्फबाटै एकै वर्षमा दुईपटक सगरमाथा आरोहण गर्ने प्रयास गरे । तर, उनीहरुले पनि सगरमाथा आरोहण पूर्ण रुपमा विजय पाउन सकेनन् । तर, उनीहरु वर्षात् अघिको प्रयासमा ८,५९५ मिटर र वर्षात्पछिको प्रयासमा ८,०१६ मिटरको उचाईसम्म पुग्न सफल भए ।

यसरी सगरमाथा आरोहणको इतिहास हेर्दा लगभग ३० वर्षको प्रयासमा सन् १९५३ मे २९ मा सगरमाथा आरोहणमा मानव सफलता मिलेको थियो । स्मरणीय छ, सो वर्ष नेपालका तेन्जिङ नोर्गे शेर्पा र न्युजिल्यान्डका एडमण्ड हिलारी (त्यो बेला न्यूजिल्याण्ड बेलायतकै अधिनस्थ थियो) ले सगरमाथा आरोहणमा प्रथमपटक सफलता प्राप्त गरे । उनीहरु बेलायती टोलीमा सहभागी भएका थिए भने उक्त टोलीको नेतृत्व बेलायती नागरिक लर्ड जोन हन्टले गरेका थिए । त्यस यताको लगभग ६६-६७ वर्षको इतिहासमा सगरमाथामा आरोहणको क्रममा अनेक खाले कीर्तिमानहरुको लर्को लागेको छ ।

सन् १९९८ मे २७ मा टम ह्विटकर नामक अमेरिकी अपाङ्ग नागरिकले सगरमाथामा आरोहण गरेर मौका पाउँदा अपाङ्गहरुले पनि सगरमागा आरोहण गर्न सक्छन् भनी देखाए

जस्तो कि, पहिलो पटक एक्लै सगरमाथामा आरोहण गर्ने इटलीका रेनहोलड मेस्नर हुन् । उनले सन् १९८० मे १९ मा उक्त सफलता पाएका थिए । जसको नेतृत्वचाहिँ पोलिश नागरिक एन्डेजेज स्वाडाले गरेका थिए । त्यस्तै उत्तर दिशाबाट पहिलोचोेटि सगरमाथामा आरोहण गर्नेहरुमा चिाियाँ नागरिकहरु वाङ फु चोउ, गोम्पा र चु यिङ हुन् । उनीहरुले १९६० मा सफलता पूर्वक सगरमाथा आरोहण गरेका थिए ।

यता सगरमाथामा मानव पाइला पुगेको लगभग २२ वर्षपछि पहिलो महिला सगरमाथामा आरोही जुन्को ताबेई हुन् । उनले सन् १९७५ मे १६ मा सफलता पाएकी थिइन् । त्यस्तै नेपाली प्रथम सगरमाथामा आरोही महिला पासाङल्हामु शेर्पा हुन् भने धेरैपटक चोमोलुङमा चढ्ने महिला ल्हाक्पा शेर्पा हुन् । उनले चार पटकचोमोलुङमाको आरोहरण गरिसकेका छन् । पहिलोपटक बिना अक्सिजन सगरमाथामा आरोहण गर्ने रेनहोलड मेस्नर र पिटर हब्लर हुन् । उनीहरुले सन् १९७८ मे. ८ मा बिना अक्सिजन सगरमाथा आरोहण गरेका थिए । सगरमाथाको शिखरमा धेरै समय बिताउने स्व. बाबुछिरी शेर्पा हुन् । स्मरण रहोस्, उनले एकै सिजनमा दुईपटक सगरमाथामा आरोहण पनि गरेका थिए ।

सबैभन्दा कम उमेरमा सगरमाथामा आरोहण गर्ने तेम्बा छिरी शेर्पा हुन् । सन् २००१ मे २३ मा सगरमाथा आरोहण गर्दा तेम्बा छिरी शेर्पाको उमेर १५ वर्ष १८ दिनको थियो । तेम्बाभन्दा अघि नेपालकै शम्भू तामाङले १८ वर्षको उमेरमा सगरमाथामा आरोहण गरेका थिए । त्यसैगरी सगरमाथा शिखरबाट प्याराग्लाइडिङ गर्ने फ्रेन्च नागरिक जिन मार्क बोइभिन हुन् । उनले सन् १९८६ मा सगरमाथाको शिखरबाट प्याराग्लाइडिङ गरेका थिए । त्यस्तै सगरमाथाको शिखरबाट स्कि खेल्दै तल झर्ने कामचाहिँ स्लोभेनियाका दाभो कानीकारले गरे । सन् २००० अक्टोबर ७ मा उनले यो काम गरेका थिए ।

यसरी हेर्दा विश्वको अग्लो हिमशिखर सगरमाथा आरोहणमा कीर्तिमान कायम गर्ने काम सवलांगले मात्र होइन, अन्धा–अपाङ्गले समेत गरेका छन् । सन् १९९८ मे २७ मा टम ह्विटकर नामक अमेरिकी अपाङ्ग नागरिकले सगरमाथामा आरोहण गरेर मौका पाउँदा अपाङ्गहरुले पनि सगरमागा आरोहण गर्न सक्छन् भनी देखाए । त्यस्तै यहुदी मूलका अर्का अमेरिकी नागरिक इरिक वेइनमेयर नामक अन्धोले पनि सन् २००१ म सगरमाथा आरोहण गर्न सफल भए ।

सगरमाथामाथि अनेक कीर्तिमान राख्ने क्रममा प्रथम विवाहित जोडीमा दर्ज हुने अवसर भने युगोस्लाभियाका एन्ड्रेज र मारियाले पाएका छन् । उनीहरुले सन् १९९०, ७ अक्टोबरमा सगरमाथाको सफलतापूर्वक आरोहण गरेका थिए । त्यस्तै समुद्रदेखि सगरमाथाको शिरसम्म अर्थात ‘सी टू समिट’ गर्ने अष्ट्रेलियाली नागरिक टिम म्याकार्टनी स्नेप हुन् । सो सफलता उनले सन् १९९० मा पाएका हुन् । यसरी अनेक कीर्तिमान राख्ने क्रममा नेपालका स्व. लोप्साङ जाङ्बु शेर्पाले नेपालीहरुले लगाउने विभिन्न पहिरन जस्तै शेर्पा पहिरन, दौरा सुरुवाल र कराँते खेलमा लगाइने पहिरन लगाएर सगरमाथा आरोहणीको कीर्तिमान राखेका थिए ।

त्यसो त आजभोलि सगरमाथा आरोहण ख्याति कमाउने साहसिक खेल, मानसिक सन्तुलनका लागि खेलिने साहसिक खेल एकलाप र शान्तिको खोजको रुपमा भन्दा पनि व्यसायिक आरोहणको रुप लिइसकेको छ । त्यसको ज्वलन्त उदाहरण भनेको यो वर्षको वसन्त ऋतु (सन् २०१९ मे) मा सगरमाथामा आरोहणको क्रममा भएको भीडभाडलाई लि सकिन्छ । जुन भीडले विश्वभरिकै सर्वसाधारण मान्छेहरुको ध्यान खिचेको थियो भने सगरमाथाको अस्तित्व चीरकालसम्म कायम रहोस् ! भनी सान्तवना दिने धेरै वातावरणवित्हरुले चिन्ता व्यक्त गरेका थिए ।

भलै अरु सिजनमा जस्तो सबै दिन मौसम खुल्ला नभएर यो सिजनमा एक दिन मात्रै मौसम खुल्ला वा भनौं आरोहीहरुका लागि अनुकूल भएकोले एकै दिन धेरै आरोहीहरु चोमोलुङमाको चुचुरोमा पुगेको हुनाले ट्राफिक जाम हुन पुगेको थियो भने केही आरोहीहरुले (९ जना) सोही कारण ज्यानसमेत गुमाएका थिए ।

जे होस्, उमेर र लिङ्गको हिसावले सबैभन्दा पाको उमेरकी महिला सगरमाथा आरोहीमा दरिने जापानकी तामा वान्तानावे हुन् । सन् २००२ मे १६ मा चोमोलुङमा चड्दा उनको उमेर ६३ वर्ष भएको थियो । उत्तर–दक्षिण दुबै दिशाबाट सगरमाथा आरोहण गर्ने प्रथम महिला रसियाकी क्यान ओ डोड हुन् । उनले सन् १९९६ मे २५ मा दक्षिणबाट र सन् १९९९ मा उत्तर तर्फबाट सगरमाथा आरोहण गरेकी थिइन् ।

सगरमाथामाथि कीर्तिमान राख्ने सिलसिलामा नेपाली पत्रकार आङछिरिङ शेर्पा, सबैभन्दा पाका ७० वर्षीय जापानीज युचिरो मिउरा र उनी अघि पाका उमेरमा सगरमाथा आरोहण गर्ने पनि जापानीज नागरिक तोमियासु इसिकावा हुन् । उनले सन् २००२ मे मा ६५ वर्षको उमेरमा चढेका थिए । यसरी सगरमाथा आरोहण गरेर सबैभन्दा पाका उमेरको कीर्तिमान राख्ने होडमा नेपालका भूतपूर्व परराष्ट्र मन्त्री शैलेन्द्रकुमार उपाध्याय र नेपालकै मीनबहादुर शेरचन पनि ज्यानको बाजी लगाएर लागिपरेका थिए । तर, उनीहरु दुबैले सगरमाथा आधार शिविरमा मृत्युवरण गरे । स्मरणीय छ, उनीहरु लगभग ८०-८२ वर्षको उमेरका भैसकेका थिए ।

जे होस्, सगरमाथा आरोहण गरेर कीर्तिमान राख्ने क्रममा सबभन्दा छिटो १२ घण्टा ४५ मिनेटमा पेम्बा दोर्जे शेर्पाले सगरमाथा आरोहण गरेका थिए । तर, त्यसको ५ दिनपछि लाक्पा गेलु शेर्पाले १० घण्टा ५६ मिनेटमै सफल आरोहण गरे । फेरि त्यसलाई पनि माथ गर्दै अर्को वर्ष उनका प्रतिद्वन्द्वी पेम्बा दोर्जे शेर्पाले नै ८ घण्टा १० मिनेटमा सगरमाथा आरोहण गरेको दावी गरे । नेपाल सरकारको मातहतमा पर्यटन उद्योग महाशाखाले पनि पेम्बालाई छिटो सगरमाथा आरोहीको प्रमाणपत्र दियो । तर, उजुरी परेपछि गत वर्ष उनको सो कीर्तिमान खारेज भएको छ ।

प्रतिक्रिया