धर्म , राजनीति र भारतको नांगो हस्तक्षेप

नेपाललाई हिन्दू राष्ट्र बनाएपछि हिन्दू धर्मको रक्षाको लागि हिन्दू राजा चाहिन्छ भनेर राजतन्त्रको पुनस्र्थापना गर्न नै राजावादीहरूले हिन्दू धर्मलाई अगाडि सारेका छन् । उनीहरूको धर्मलाई आफ्ना प्रतिगामी उद्देश्यका लागि राजनीतिकरण गर्ने नीतिको हाम्रो पार्टीको आठौँ महाधिवेशनले कडा शब्दमा विरोध र भर्त्सना गरेको छ 

इस्मालिक आतंकवादीहरूले मुस्लिम धर्मको नाममा संसारभरि नै आतंक मच्चाउने काम गरिरहेका छन् । दलाइ लामाका अनुयायीहरूले बुद्ध धर्मलाई आफ्ना प्रतिगामी राजनीतिक उद्देश्यका लागि प्रयोग गरिरहेका छन् । उनीहरूको त्यस प्रकारको कार्यविधि वास्तवमा बौद्ध धर्मको नै दुरूपयोग हो । नेपालमा राजावादीहरूले राजतन्त्रको पुनस्र्थापना गर्ने आफ्नो प्रतिगामी उद्देश्य पूरा गर्नका लागि हिन्दू धर्मलाई हतियारको रूपमा प्रयोग गरिरहेका छन् र त्यसअनुसार आफ्नो अभियान पनि चलाइरहेका छन् ।

हाम्रो पाटी ने.क.पा.(मसाल)को आठौँ महाधिवेशनले यो स्पष्ट गरेको छ कि नेपालका बहुसंख्यक जनता हिन्दू धर्मावलम्बी छन् र त्यसअनुसार उनीहरूलाई आफ्नो धार्मिक आस्थाअनुसार धार्मिक आचरण गर्ने वा आजापूजा गर्ने धार्मिक स्वतन्त्रता छ । आज देशमा कायम भएको धर्मनिरपेक्षताको संवैधानिक व्यवस्थाले उनीहरूको त्यो धार्मिक स्वतन्त्रतामा कुनै आँच पु¥याउँदैन । तर, उनीहरूले धर्म निरपेक्षतालाई समाप्त गरेर नेपाललाई हिन्दू राष्ट्र बनाउने कुरामा जोड दिइरहेका छन् । नेपाल बहुधार्मिक, बहुसांस्कृतिक, बहुभाषिक र बहुजातीय देश हो ।

त्यो अवस्थामा कुनै एउटा धर्मलाई राज्यको धर्म बनाउनु वा नेपाललाई हिन्दू राष्ट्र बनाउने मतलाई हाम्रो पार्टीले सही मान्दैन । नेपालमा धार्मिक, सांस्कृतिक, भाषिक र जातीय एकता सन्तुलन र सहिष्णुता कायम गर्नका लागि धर्मनिरपेक्षता नै उपयुक्त छ । हाम्रो छिमेकी देश भारत पनि धर्मनिरपेक्ष देश हो । तर, त्यो कारणले त्यहाँका हिन्दूहरूको धार्मिक स्वतन्त्रतामा कुनै आँच पुगेको छैन । त्यसरी धर्मनिरपेक्षताका कारणले नेपालका बहुसंख्यक हिन्दूहरूको धर्म कुण्ठित हुन्छ भन्ने सोचाइ प्रतिगामी उद्देश्यद्वारा नै निर्देशित छ ।

वास्तवमा नेपाललाई हिन्दू राष्ट्र बनाएपछि हिन्दू धर्मको रक्षाको लागि हिन्दू राजा चाहिन्छ भनेर राजतन्त्रको पुनस्र्थापना गर्न नै राजावादीहरूले हिन्दू धर्मलाई अगाडि सारेका छन् । उनीहरूको धर्मलाई आफ्ना प्रतिगामी उद्देश्यका लागि राजनीतिकीकरण गर्ने नीतिको हाम्रो पार्टीको आठौँ महाधिवेशनले कडा शब्दमा विरोध र भत्र्सना गरेको छ । अन्य धर्महरू जस्तै कसैले आफ्नो धार्मिक आस्थाअनुसार इसाइ धर्मलाई अपनाउँछ र चर्चमा जान्छ भने त्यसलाई हाम्रो पार्टीले विरोध गर्दैन ।

तर, यो विश्वको इतिहासबाट थाहा भएको कुरा हो कि साम्राज्यवादीहरूले इसाइ धर्मलाई आफ्नो साम्राज्य विस्तारको हतियारको रूपमा प्रयोग गर्दै आएका छन् । नेपालमा पनि ठूलो संख्यामा र व्यापक रूपमा इसाइ धर्मको जुन प्रसार भइरहेको छ र ठूलो संख्यामा चर्चहरूको, यहाँसम्म कि ग्रामीण र दूरवर्ती क्षेत्रहरूमा पनि, चर्चहरूको जुन निर्माण भइरहेको छ, त्यो खाली मानिसहरूको इसाइ धर्ममाथिको आस्थाको परिणाम मात्र होइन । त्यसका पछाडि इसाइहरूद्वारा ठूलो परिमाणमा गरिएको पैसाको वितरण, प्रलोभन र नेपालमा आफ्ना स्वार्थ पूरा गर्ने साम्राज्यवादी उद्देश्यले नै मुख्य रूपले काम गरिरहेको छ ।

इसाई धर्म उनीहरूको त्यस प्रकारको साम्राज्यवादी उद्देश्यका लागि हतियार बनेको छ । त्यो कारणले नेपालको राष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा गम्भीर आँच पुग्ने खतरा छ । त्यसरी नेपालमा साम्राज्यवादी उद्देश्यको पूर्तिका लागि व्यापक रूपले इसाइ धर्मको प्रचार गर्ने वा चर्चहरूको निर्माण गर्ने जुन कार्य भइरहेको छ, हाम्रो पार्टीको आठौँ महाधिवेशनले त्यसको कडा विरोध गर्दै त्यसको भण्डाफोर गर्ने आवश्यकतामा पनि जोड दिएको छ ।

रौतहट लगायत तराईमा गम्भीर बन्दै गएको डुबानको समस्या निकै पेचिलो बनेको छ । भारतले दशगजा क्षेत्रमा बाँध बनाएको हुनाले त्यहाँको पानी स्वभाविकरूपले बग्न नसकेकाले तथा भारतीय पक्षले त्यो बाँधको ढोका खोल्न स्वीकार नगरेकाले नै त्यो गम्भीर खतरा उत्पन्न भएको छ । प्रथमतः सीमावर्ती क्षेत्रमा नेपालको सहमतिबिना भारतले त्यस प्रकारको बाँधको निर्माण गर्नु अन्तर्राष्ट्रिय कानुनको विरुद्धको कुरा हो ।

त्यसमाथि त्यो बाँधका कारणले रौतहटमा गम्भीर स्थिति उत्पन्न भएपछि पनि त्यो बाँधको ढोका खोल्न अस्वीकार गरेर भारतले आफ्नो साम्राज्यवादी चरित्रको नांगो रूप प्रदर्शन गरेको छ । हामीले नेपाल सरकारसित भारत सरकारसित तुरुन्तै उच्च स्तरीय कुटनीतिक पहल गरी दीर्घकालीनरूपले अवैध रूपमा बनाइएको त्यो बाँध भत्काउन र तात्कालिकरूपमा त्यसका ढोका खोल्न लगाइ रौतहटलाई डुबानबाट बचाउन पहल गर्न सरकारसित जोडदार माग गर्दछौँ ।

लोकसेवा आयोगको विज्ञापन समावेशी र समानुपातिक प्रकारको भएन भनेर कतिपय पक्षहरूले त्यसको विरोध गर्ने र त्यसका विरुद्ध आन्दोलन सञ्चालित गर्ने काम समेत गरेका छन् । हाम्रो पार्टीले कुनै पनि कुराको विरोध वा समर्थन कुनै पनि प्रकारको पूर्वाग्रहका आधारमा होइन, त्यसबारे वस्तुगत र सन्तुलित प्रकारले विश्लेषण गरेर नै गर्ने गर्दछ । त्यसरी विचार गर्दा लोकसेवाको विज्ञापनको अहिले भइरहेको विरोधलाई हाम्रो पार्टीले अनावश्यक र गलत ठह¥याएको छ । यसबारे सर्वप्रथम उल्लेखनीय कुरा के छ भने उक्त विज्ञापन लोकसेवा आयोगले केन्द्रीय स्तरमा कर्मचारीहरू भर्ना गर्नको लागि गरेको विज्ञापन नै होइन ।

त्यो विज्ञापन स्थानीय तहका गाउँपालिका वा नगरपालिकाका कर्मचारीहरूको पूर्तिका लागि आव्हान गरिएको विज्ञापन हो । त्यसैले कुनै गाउँ वा नगरपालिकाले कति कर्मचारीको माग गरेको छ, त्यसअनुसार नै त्यहाँ समावेशी वा समानुपातिक आधारमा कर्मचारीहरू नियुक्त गर्न सकिन्छ वा सकिँदैन, त्यो कुराको निर्धारण हुन सक्दछ । कुनै गाउँपालिका वा नगरपालिकामा त्यसका लागि आवश्यक पर्ने न्यूनतम संख्या भएमा त्यहाँ समानुपातिक र समावेशी रूपमा कर्मचारीहरूको नियुक्ति हुन सक्दछ । कतिपय स्थानमा त्यसरी नियुक्ति भएको कुरा पनि थाहा भएको छ । तर, जहाँ त्यसका लागि आवश्यक पर्ने न्यूनतम संख्या छैन, त्यहाँ त्यस प्रकारको सम्भावना नहुने कुरा प्रष्ट छ ।

संविधानमा व्यवस्था भएअनुसार प्रदेश स्तरमा पनि बेग्लाबेग्लै लोकसेवा आयोगहरूको गठन हुनुपर्दछ र त्यसका लागि प्रदेशहरूले बेग्लाबेग्लै कानुनहरू बनाउन सक्दछन् । त्यसअनुसार त्यहाँको विशिष्ट प्रकारको जातीय अवस्थाअनुसार समानुपातिकको प्रतिशत बेग्लाबेग्लै हुन सक्दछन् । तर, अहिले प्रदेश स्तरमा लोकसेवा आयोग वा त्यससम्बन्धी कानुन नबनेको हुनाले केन्द्रीय लोकसेवा आयोगले प्रदेश वा स्थानीय तहका कर्मचारीहरूको पूर्तिको लागि अस्थायीरूपले उनीहरूको काम गरिदिएको हो ।

त्यस प्रकारको कर्मचारीको भर्ना स्थानीय तहका गाउँपालिका वा नगरपालिकाहरूसित सम्बन्धित भएको हुनाले र उनीहरूले माग गरेको संख्या बेग्लाबेग्लै प्रकारको भएको हुनाले केन्द्रीय लोकसेवा आयोगका लागि त्यसरी समानुपातिक आधारमा कर्मचारीहरू भर्ना गर्नका लागि विज्ञापन गर्नु सम्भव थिएन । त्यसैले उनीहरूले गरेको त्यो विज्ञापन गलत हुन नगएको कुरा प्रष्ट छ ।

हालै कतिपय पत्रपत्रिका र अनलाइनहरूले प्रदर्शन गरेको पीत पत्रकारितालाई हाम्रो पार्टीले तीव्ररूपमा भत्र्सना गर्दछ । तिनीहरूले एउटा पार्टी प्यालेसमा मैले दुई घण्टासम्म भारतीय राजदूतसँग गोप्य वार्ता गरेको र क. दुर्गा पौडेललाई ओली सरकारमा मन्त्री बनाइदिनको लागि उनीसित अनुरोध गरेको भन्ने समाचार प्रकाशित गरेका छन् । त्यो समाचार झुटो, निराधार र कपोलकल्पित ता हो नै, तर त्यस प्रकारको झुटो समाचार दिँदा पनि उनीहरूले अत्यन्त हाँस्यास्पद प्रकारको दिवालियापनको प्रदर्शन गरेका छन् ।

म र दुर्गा ललितपुरको पार्टी प्यालेसमा विवाहको निमन्त्रणामा गएको वेलामा त्यहाँ भारतीय राजदूत पनि आएको र उनीसित देखादेख भएको कुरा पनि सत्य हो । तर, कसैले उनीसित मेरो परस्परमा परिचय गराएनन् र उनीसित एकशब्द पनि कुराकानी भएको थिएन । तर, करिब एक हजार मानिसहरू भएको विवाह पार्टीमा उनीसित कसरी दुई घण्टासम्म मेरो गोप्य वार्ता भयो र सम्बन्धित पत्रकारहरूले त्यो झुटो समाचार दिने वेलामा त्यो पक्षतिर ध्यान दिन सकेनन् । त्यसरी उनीहरूले झुटो कुरा गर्दा पनि मिलाएर लेख्न सकेनन् ।

त्यो गोप्य वार्ता भएको भए त्यो विवाह कार्यक्रमका आयोजक वा होटेलका व्यवस्थापकहरूले त्यस प्रकारको गोप्य वार्ताको लागि त्यो पार्टी प्यालेसमा नै कुनै बेग्लै गोप्य स्थानको व्यवस्था गरेको हुनु पर्दथ्यो । के उनीहरूले विवाह पार्टीका बीचमा त्यस प्रकारको गोप्य व्यवस्था गरेका थिए ? त्यो विवाहका आयोजक वा होटेलका व्यवस्थापकहरूलाई सोध्नेबित्तिकै वा विवाहमा आएका मानिसहरूमध्ये कसैलाई पनि सोध्नेबित्तिकै उनीहरूले बडो मिहेनेतका साथ बनाएको मेरो राजनीतिक चरित्रको हत्या गर्ने योजना धराशायी हुने छ भन्ने कुराको उनीहरूले कल्पना पनि गर्न सकेनन् ।

कुनै राजदूत वा मन्त्रीसित कतै भेट हुनु, उनीहरूसित हात मिलाउनु वा सामान्य शिष्टाचारको कुरा गर्नुलाई पनि एकदम गलत भन्न सकिन्न । त्यसरी कसैले भारतीय राजदूतसँग मेरो परिचय गराएको भए वा शिष्टाचारको कुनै कुरा गरेको भएपनि त्यो गलत हुँदैन्थ्यो । तर, त्यस प्रकारको कुनै कुरा भएन । त्यस सन्दर्भमा उनको र मेरो जुन फोटो प्रस्तुत गरिएको छ, त्यो सम्पादन गरेर बनाइएको फोटो हो वा कुनै फोटोग्राफरले कुनै कोणबाट त्यसरी फोटो लिएको हो ? मैले त्यसबारे केही भन्न सक्दिन ।

त्यसबारे विज्ञहरूले परीक्षण गरेपछि वास्तविक तथ्य बाहिर आउने छ । तर, त्यो कुरा जे भएपनि यसबारे मुख्य विचारणीय प्रश्न यो होः मैले उनीसित गोप्य वार्ता गरेको थिएँ वा थिइनँ र दुर्गालाई मन्त्री बनाउन उनीसित कुरा गरेको थिएँ वा थिइनँ ? त्यो पूरै निराधार समाचार भएको कुरालाई मैले दाबीपूर्वक भन्न सक्दछु । मलाई आशा छ यसबारे प्रेस काउन्सिलले आफ्नो सही फैसला दिने छ । त्यसबारे सम्बन्धित पक्षहरूद्वारा प्रेस काउन्सिलमा उजुरी परेको कुरा सार्वजनिक भइसकेको छ ।

वास्तविकता यो हो कि ओली प्रधानमन्त्री भएपछि एकपल्ट पनि मेरो उनीसित भेट वा कुनै कुराकानी भएको छैन । दुर्गालाई मन्त्री बनाउन मैले उनीसित अनुरोध गर्ने कुरा त धेरै टाढाको कुरा भयो । वास्तवमा हाम्रो पार्टीमाथि अहिले मात्र होइन दशकौँदेखि विभिन्न पार्टीविरोधी, दुश्मनका एजेन्ट, विभिन्न खुफिया एजेन्सी वा दक्षिणपन्थी संशोधनवादी वा उग्र‘वामपन्थी’ तत्वहरूले विभिन्न प्रकारले निराधार समाचारहरू बनाएर वा तथ्यहरूको तोडमोड गरेर आक्रमण गर्दै आएका छन् । त्यसरी लेखिएका पुस्तक, पुस्तिका, दस्तावेज, लेख वा समाचारहरूको लामो सूची छ ।

प्रतिक्रिया