नारायण ढकालको ओली लक्षित फेकफतुर

प्रसिद्ध प्रगतिशील आख्यानकार भनिएका नारायण ढकालले ०७६ असार ३१ गते निकै नाम चलेको एक अखबारमा प्रकाशित गुटगत चूडाकर्मको शवपरीक्षा नामको प्रधानमन्त्री केपी ओली लक्षित फेकफतुर लेखले यस लेखकलाई आकर्षित ग¥यो । ढकालले सामान्य प्रगतिशील तथा द्वन्द्ववादी पहिचानसमेत पूरै परित्याग गरेर लेखेको देखेपछि माओले भनेझैँ विषालु विचाररूपी झारपात उखेल्न मन लागेर यो प्रतिलेख तयार पार्नुपरेको हो ।

अहिले अग्र, उग्र, पश्च र पश्चिमा गामी लेखकहरू ओली केन्द्रित पाँडे गाली बखानमा घुँडा धसेर निरन्तर र तारन्तार लागि परेका छन् । यही साउन १ गते एक विराटनगरे राजनीतिक विश्लेषक नामका एक प्रगतिशील प्रा. पोखरेलले एक नयाँ राष्ट्रिय अखबारमा बिखादि तरकारी रोक्ने त मैँ हो भनेर फुइँ गर्ने ओलीलाई कुस्तीमा हारेर पनि तिघ्रा ठटाउने हरुवा कुस्तीवाजसित तुलना गरेका थिए । अवसर पाउन चरम चाकरी नपाउँदा सरापको समुद्र बर्साउने प्रगतिशील चरित्र बुझिनसक्नु छ ।

सदियौँदेखिको पुरातन भ्रष्ट, अनेक खालका अनियमितमा अभ्यस्त सत्ता संयन्त्रले यो सरकारलाई के कति सहयोग गर्छ भन्ने गुह्य नखोली निर्मला पन्त बलात्कार तथा हत्या प्रकरणका दोषीलाई ओलीले नै लुकाएको ढकालले व्यर्थ र बेतुकी लेखमा जाहेरी गरेका छन् । ओली सरकार विगत कालका सबै अनियमितता, भ्रष्टाचारहरूको जाँचपडताल गरेर तथ्यहरू जनसमक्ष उजागर गरिरहेको मात्र होइन, कारबाही पनि गरिरहेको देखिन्छ । यत्ति कुरा पनि दूरद्रटा ढकालजस्ता लेखकले नदेख्नु अचम्मको वात छ ।

हालै चीनअधीन हङकङमा त्यहाँको सरकार चीन विरोधी अपराधिक गतिविधि गर्नेहरूलाई सुपुर्दगीसम्बन्धी ऐन लागू गर्ने विषयबाट पछि हट्न बाध्य भएको विज्ञ लेखकलाई थाहा हुनुपर्ने कुरा हो । कहिलेकाहिँ यस्तो हुन्छ । यही विषयलाई उछालेर चीनलाई समेत विवाद र बिग्रहको भुँवरीमा पार्न अमेरिका, बेलायत र युरोपेली संघले खेलेको घिनौना हरकत प्रगतिशील आख्यानकारले पढ्नै बाँकी होलाजस्तो लागेको छ ।

नारायण ढकालले लामो समयदेखि नेपालमा निर्विघ्न रूपमा भारतबाट बिखालु तरकारी आइरहेको औपचारिक तथा खुल्ला जानकारी ओली सरकारले दिएकामा उल्टो धन्यवाद दिनुपथ्र्यो । शत्रु नै घोषणा गरिसकेपछि त्यसो गर्न लेखकीय नैतिकताले पनि दिएन । जे जति धेरै पढेलेखे पनि आदत र आग्रहको दास बनेपछि सही सत्य स्वीकार्न सकिन्न । माओले भनेझैँ पुरानै शासकीय विचार र मान्यताबाट ग्रसितहरू पनि हत्तपत्त फेरिएको परिस्थिति अनुसार आफूलाई कत्ति पनि बदल्न सक्तैनन् ।

विषादि परीक्षण गर्ने नीति, विधि र पद्धति तयार पार्नु, एक दिन दुई दिन होइन दुई हप्ता बिखालु भारतीय तरकारी लादिएका ट्रकहरू रोकिँदाका भारतीय किसानमा नयाँ चेनता पलाउनु, विषादि तरकारी पठाउन दबाब दिने भारतीय नियत नेपाली समक्ष अरू उजागर हुनु, आम नेपालीमा भारतीय विषालु तरकारीबारे चेतना बढ्नु आदि नकारात्मकै भए पनि शिक्षा हुन् ।

यसमा नेपाल सरकारका मन्त्रीहरू नै विवादमा मुछिए । यसको कारण र परिणाम पनि एक दिन थाहा होला । खुसी, खोकी, प्रेम र राजनीतिक अपराध धेरै दिन लुक्तैन ।

हामी नेपालमा यो सरकार र त्यो सरकार वा यो वा त्यो प्रधानमन्त्री भनेर न्यून चेतनका आधारमा एक आपसमा लड्ने र लाप्पा खल्ने काम गरिरहेका हुन्छौँ तर केही विदेशी वा पश्चिमा शक्तिहरू राम्रो काम गर्न खोज्ने हर सरकार, हर नेपाली, हर पार्टी र हर नेतालाई एकएक गरेर बदनाम गर्ने अनि सारमा नेपाललाई रसातलमा डुबाउने नियतका साथ काम गरिरहेको अन्तर्य बुझ्दैनाँै वा बुझ पचाउँछौँ । यो नै ठूलो दुर्भाग्य हो । सामान्य विवेक पनि छैन भने मानिस आँखा भएर पनि अन्धो हुन्छ ।

काम गर्नेले गल्ती पनि गर्छ । सरकार प्रमुखले आफ्नो मातहतले गरेको गल्ती आफू स्वीकार गर्छ । यो महानतालाई समाजका अगुवा र अनुभवी लेखकलेसमेत नबुझे कसले बुझिदिने हो । तर, बुझ पचाउनु जस्तो विसंगति अरू केही हुँदैन ।

लेखमा ढकालले पार्टीका गुट र गुणलाई ‘खसीबाख्री एउटै धोक्री’ गरेका छन् । कार्ल माक्र्स, लेनिन, माओ र मदनलाई पनि अबुझहरू गुट नै भन्थे र भन्छन् । सामान्य अर्थमा गुट भनेको लोभी पापी, अवसरवादी तथा विचार र सिद्धान्तमा अत्यन्त ढुलमुल हुनु हो ।

स्वयं ढकालको जननेता मदन भण्डारी र उनको अगुवाइमा प्रतिपादित तथा त्यसका आलोकमा नेपाली राजनीतिको बहुआयामिक अग्रगमनलाई अझै आग्रहरहित खुल्ला र स्पष्ट विचार राख्दैनन् । अनि जबज सिद्धान्तलाई सबल बनाएकामा उनी गुटको भद्दा आरोप लगाउँछन् । पानी पकाएर बाक्लो हुँदैन र मान्छेलाई फकाएर आफ्नो हुँदैन भनेर राम्ररी बुझेका दूरदर्शी नेता ओलीले ढकाललाई युक्त भेटवाललाई परिचालन गरेर आफ्ना गुट निकट पार्न खोजेका थिए भन्ने कुरा पत्यारिलो लागेन ।

सिद्धान्तनिष्ठ कार्यकर्ता र नेता मात्र जस्तोसुकै परिस्थितिमा पनि सतिसालझैँ आजीवन ठिंङ उभिन्छन् । ढुलमुल चरित्र पार्टीमा आउँदा न आउँदा के नै फरक पर्छ र ? ओलीले भनेझै डाक्टरले होइन दृष्टिकोणले देशलाई सही दिशानिर्देश गर्न सक्छ ।

अहिले मात्र होइन उहिलेदेखि जनताको बहुदलीय जनवाद विषयमा को को ढुलमुल थिए ? ककसले जबजप्रति अनेक आरोप र लाञ्छना लगाएका थिए ? कसले यसलाई चरम अवसरवादी चरित्र प्रदर्शन गर्दै च्याप्टर क्लोज गर्न खोजिरहेका छन् । भण्डारी र उहाँको नेतृत्वमा निर्मित प्रतिपादित जबजले समाजवाद उन्मुख दिशानिर्देश गरेको, यसको आधार शिविर तथा समाजवादमा पनि त्यसवेलाको नीतिअनुसार बहुदलीय प्रतिस्पर्धा स्वीकार गरेकोलगायत अत्यन्त सही दिशादृष्टि प्रदान गरेको छ

निष्कपट मनहरू मात्र यो कुरा देख्छन् र बुझ्छन्, त्यसैले जबज गुट होइन गुण हो । ढकालजीे लेखमा ओलीको मण्डलीले भण्डारीको आत्मिक नेतृत्व उत्तराधिकार लिएको दाबी गर्दै आत्मिक शब्दलाई आत्मा र परमात्माझैँ ठानेर तर्सेको देख्दा यो लेखक तीन होइन तेत्तिस छक्क प¥यो । ढकालले भनेझैँ यस प्रसंगमा आत्मिकको अर्थ आत्मा र परमात्मासित कुनै साइनो र सम्बन्ध छैन यहाँ आत्मिक भनेको आभ्यन्तरिक, भावनात्मक, अन्तर्वस्तु, आन्तरिक, अन्तर्तह, सार तत्वको रक्षक भनिएको हो । दलाइ लामाको अवतार भनेको होइन । प्रयोग र प्रयोजनका आधारमा एउटै शब्द रसका सामान्य र प्राविधिक विशिष्ट अर्थ हुन्छन् ।

तत्कालीन नेता विद्या भण्डारीले पहिलो सम्झनास्वरूप पारिवारिक रूपमा मनाउन सुरु गरेको र त्यही सम्झना समयक्रममा मदन भण्डारी फाउन्डेसन बनेको विषयमा ढकालले आक्षेपपूर्ण गुटगत गम्भीर आरोप लगाएका रहेछन् । तर त्यही फाउन्डेसन जबजको एक सशक्त रक्षा किल्ला बनेको सही सत्य हो । यस्तो भएकामा आहारिस र रिस गर्नेहरू छटपटिनु स्वाभाविक छ ।

लेखमा ओलीका वरदहस्तले उचालिएका केही अयोग्य सदस्य भन्दै मन्त्री र सचिवालयमा नियुक्त व्यक्तिप्रति कटु आक्षेप गर्ने ढकालको माननीय परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीसित कुन विषयमा खुल्ला शास्त्रार्थ गर्नुछ यो लेखक त्यो संयोग मिलाउन तयार छ । प्रधानमन्त्री कार्यालयलाई शक्तिशाली बनाएकै हुनाले अनेक बिचौलियाले हरेक मन्त्रालयलाई मुठ्ठीको माखो बनाउन पाएनन् । ढकालले भनेझैँ इतिहासमै एउटा बलियो प्रधानमन्त्री बन्ने ओलीको सपना किमार्थ होइन ।

ढकालले अझ अघि बढेर ज्ञानेन्द्र शाहझैँ निरीह शक्तिशाली भनेर भद्दा आक्षेप लगाउन भ्याए । ओलीमा शक्तिशाली शासकको राँकेभूत जागेको, पार्टी समितिका समस्त मूल्यको चिरहरण गरेको जस्तो कुरोको चुरै नबुझी ढकालले फतुर लगाएका छन् । पार्टी एकता अहिले मस्तिष्कबाट सुरु भएको छ । पार्टीका मस्तिष्क भनेका दुई अध्यक्ष हुन् । यसपछि मात्र पार्टी पूराका पूरा थिति विधिअनुसार चल्छ । यो अतिसामान्य प्रक्रिया हो ।

तुइन युग समाप्त भयो, आमजनतामा उत्साह र जाँगरको स्थिति सुरु भयो, मित्र राष्ट्रहरूका बीच समनिकट सम्बन्ध कायम छ । भारत विहारका श्रमिक काठमाडौं, नेपालबाट लाखौँ रुपैयाँ कमाएर लान्छन् तर नेपाली यहाँको काममा बेइज्जति अनुभव गर्दै खाडी मुलुकमा घोडाको लिदी साहोर्न जान्छन् । त्यसैले नेपालमा उपलब्ध श्रम र रोजगारमा मैत्री, सम्मान र लगाव कायम गर्न प्रधानमन्त्री स्वरोजगार कार्यक्रम सुरु गरेको हो ।

अनेक रङ र रूपका कर्कसहरू संसद्मा परेड खेल्थे अहिले नै ती कता हराए, तराई मधेसमा सधैँ बलिरहने आगो अहिले कहीँ देखिँदैन किन ? तराई–मधेसमा देश विखण्डनको नारा लाग्थ्यो । अहिले त्योसमेत थान्कामा लागेको छ यी सब के कविता लेखेरै भएको हो त । फोहोर नै नभएपछि झिँगा, मच्छड र भुसुनाको समेत व्यापार सुकेको देखिन्छ । भ्रम, फरेब, गोलचक्कर र गोयबल्स शैलीका प्रचारको अन्तर्य केलाउन नसक्ने नेता, बुद्धिजीवी र स्रष्टा धेरै देखिएका छन् । अझ समग्र सूचनामा पहुँच नभएकाहरूको अत्यन्त गरिब चेत, चिन्तन र चरित्र देखिन्छ । त्यस्ताहरूचाहिँ ढकालका लेखको क्षणिक भ्रममा पर्न सक्छन् ।

प्रधानमन्त्रीका कमजोरी छन् । कमजोरी देखेपछि उल्लेख गर्ने बानी यस लेखकको पनि छ र गरेकै पनि छ तर एउटा द्वन्द्ववाद पक्षधर यो लेखकलाई कसैलाई पाँडे गाली गर्न मन लाग्दैन र सुहाउँदैन । सरकारबाट नियुक्त एकाध बिचौलिया प्राज्ञको बेहोरा अझै नसप्रेको देख्दा उदेक नै लाग्छ । तिनकै सिफारिसका भरमा कुनै पद, पदक र पुरस्कार थाप्नु पनि छैन । र तिनकै अधीनमा कुनै प्राज्ञिक तहमा बस्न मन पनि नगरेकै हो । फूलको संगतले किरो देउताका शिरमा पुग्छ तर त्यही किरालाई देउता भनेर पुज्न सकिन्न ।

ओलीमा आफ्नू पारिवारिक वृत्त निकट हुने स्वभाव रहेको बताइन्छ । प्रा.डा. युवराज संग्रौलाजस्ता विषय विज्ञसित विषयगत सरसल्लाह पनि नलिनु सरकार देशका लागि घाटा हो । अहिले जनताको जनवाद मात्र उल्लेख गर्ने कुरामा ओलीको समर्थन अत्यन्त बिझाएको र बहकिएको भन्ने केही नेताको गम्भीर गुनासो देखिन्छ । अपवादबाहेक ओलीलाई कसैले झुक्याउला, छक्याउला र अभर पार्ला भनेर नचिताए हुन्छ किनकि उहाँमा प्रतिकूलतालाई अनुकूलतामा बदल्ने महान् क्षमता देखिन्छ । त्यसैले भोलि नै खण्डित हुने बोली नबोल्ने कि ?

प्रतिक्रिया