श्रमिकको पसिना बिप्रेषणको आधार

लोकतन्त्रको आगमन सँग–सँगै राज्यका तर्फबाट अन्य क्षेत्रमा पनि उदारीकरणको नीति सुरू भयो । आर्थिक उदारीकरणको एउटा प्रतिफलका रूपमा वैदेसिक रोजगार व्यवसायलाई लिन सकिन्छ । मुलुकभित्र रोजगारी बढ्न नसकिरहेको अवस्थामा रोजगारका लागि विदेश जान पाउनु भनेको ठूलो अवसर हो । तर, वैदेसिक रोजगारको क्षेत्रमा सुरक्षा सतर्कता अपनाउन नसक्ने हो र युवा जनशक्तिको पलायन प्रति संवेदनशील हुन नसक्ने हो भने यसको परिणाम भोली भयावह हुनेछ ।

राष्ट्र हितको खातिर सीप सिकाएर मात्रै रोजगारीका लागि विदेश पठाउनु पर्छ । दीर्घकालका लागि त वैदेसिक रोजगारमा युवा पठाउनु कुनै हालतमा पनि राम्रो होइन तर तत्कालीन संकट टार्नका लागि हामीसँग अर्को उपाय पनि छैन । विकशित राष्ट्रले अख्तियार गरे सरहको शिप—दक्षता हासिल गरे पश्चात सम्बद्ध समूहलाई स्वदेश फिर्तिको आवश्यक प्रबन्ध मिलाउने हो भने, नेपाल जस्तो अल्पविकशित राष्ट्रले अत्यधिक लाभ लिन सक्ने अवस्था तयार हुने देखिन्छ । तर, यसका लागि स्वदेश फिर्तिपश्चात् सम्बद्ध समूहको सम्मानित रोजगारीको पूर्णप्रतिबद्धतासहितको ग्यारेन्टी राज्यले प्रदान गर्नुपर्ने हुन्छ ।

जसको सफलताले निश्चित रूपमा वैदेशिक रोजगारीको भविष्य निर्धारण गर्नेछ । उच्च जीवनयापनको लालसासहित वैदेशिक रोजगारीमा होमिने अधिकाशं समूहमा अपवादबाहेक धेरैहदसम्म अदक्ष एवं अर्धदक्ष श्रमिकको जमात रहेकै कारण समस्या निम्तिने गरेको हो । तसर्थः  यसै तथ्यलाई मनन गर्दै राज्यले सीप सिकेका योग्य जनशक्तिलाई मात्र वैदेशिक रोजगारीको लागि अनुमति प्रदान गरिने नीति व्यवहारत लागू गर्ने भएको छ । प्रस्तुत व्यवस्था लागू गरिँदा वैदेशिक रोजगारीको लागत अशं केही बढ्न गएता पनि श्रमिक वर्गको हकहित लागि भने राम्रै हुन्छ ।

वैदेशिक रोजगार रोज्ने समूहले बाह्य मुलुक जानुपूर्व सीपमूलक ज्ञानको अभिवृद्धि गर्दै आफू वा आफ्नो समूहलाई रोजगारको सुरक्षा छाता भित्र समाहित गर्न सक्नुपर्दछ । यदि रोजगारीको सिलसिलामा भवितव्यमा परी कुनै असहज परिस्थितिको सामना गर्नुपर्ने अवस्था आई परेमा उक्त समूहलाई सहजीकरणको भूमिका निर्वाह गर्न सहज होस् भन्नाका खातिर राज्यका तर्फबाट रोजगार सुविधा उपलब्ध भएका मुलुकका नेपाली दूतावास परिचालन गर्नुपर्छ । दूतावास नभएका स्थानहरूमा अवैतनिक कुटनीतिज्ञहरूलाई सहयोगी एवं सहजीकरणको भूमिका निभाउन राज्यले ठोस एवं सकारात्मक कदम चाल्नुपर्ने हुन्छ । जसको मुख्य उद्देश्य भनेको परदेशमा रहेका नेपाली नागरिकको सुरक्षित भविष्यको कामना गर्नु हो ।

विकशित मुलुकको तुलनामा अल्पविकशित मुलुकका नागरिक समुदायलाई विदेश पलायनहुन आकर्षण गर्ने कारक तत्व पहिल्याउन जरूरी भइसकेको छ । विश्वका द्वन्द्वग्रस्त मुलुकमा जस्तै आमनेपाली जनमानषले पनि द्वन्द्वको चपेटा झेल्नुपरेको तितो यथार्थलाई हामी कसैले पनि सहजै भुल्न सक्दैनौँ । द्वन्द्व उजाग्रहणको मूल कारण पहिचान गरी तत्सम्बन्धमा सकारात्मक पाइला चाल्ने हो भने भविष्यको कुनै पनि कालखण्डमा यस प्रकारको पिडादायी अवस्थाबाट ग्रुजनुपर्ने छैन ।

द्वन्द्व व्यवस्थापनका सन्दर्भमा हालसम्म गरिएका अध्ययन—अनुसन्धानबाट के कुरा पुष्टि भएको छ भने द्वन्द्वको मूल चुरो भनेकै व्यापक गरिबी, अशिक्षा, अन्धविश्वास एवं आर्थिक असमानता हो । जसका कारण जब समाज वर्गीय द्वन्द्वको चपेटामा पर्छ, तदुपरान्तः मनोवैज्ञानिक रूपमा स्वतस्फूर्त विद्रोहका भावनाहरू मानव मनमा सिर्जित हुनेछन् । जसको नकारात्मक प्रभावको खराब परिसूचकको रूपमा प्रभावित क्षेत्रका वासिदाहरू नचाहँदा—नचाहँदै पनि आफ्नो पुस्तौनी थात–थलोलाई छाडी अन्यत्र पलायन हुन बाध्य हुन्छन् वा पारिन्छन् ।

द्वन्द्वलगायतका अन्य विविध कारणले आएको पलायनवादी सोचले हाम्रा नेपाली दाजुभाइ तथा दिदीबहिनीहरू रोजगारी एवं सुरक्षाको खोजीमा सुविधा सम्पन्न मुलुकका विभिन्न सहरमा विस्थापित हुने अवस्था पैदा भएको हो । यदि मुलकभित्र नै पलायनको गति सिमित रहेको भए कुनै प्रकारको समस्या झेल्नुपर्ने थिएन । तर, विडम्बनापूर्वक भन्नैपर्ने हुन्छ तीमध्ये कैयौँ नेपाल आमाका होनहार सन्ततिहरू न्यून मात्रामा प्राप्त हुने अर्थोपार्जनका लागि भारत लगायतका खाडी क्षेत्रका विभिन्न मुलुकहरूमा पलायन हुनुको साथै लगभग ४५÷४८ डिग्रीको उच्च तापमान सहँदै कार्य गर्न विवश छन् ।

यो नै वैदेशिक रोजगारीको कहालीलाग्दो वास्तविक यथार्थ हो । रोजगारीको सन्दर्भमा अधिकाशं अल्पविकशित राष्ट्रका नागरिक समुदायले प्राप्त गर्ने रोजगारी अन्य विकशित मुलुकको नागरिक समुदायले प्राप्त गर्ने रोजगारीको तुलनामा धेरै हदसम्म असहज रहने हुँदा डर्टी वर्कको रूपमा परिभाषित गर्ने गरिएको छ । जुन विशेषगरी नेपालीको भागमा अत्यधिक मात्रामा पर्ने गरेको पाईन्छ । रोजगारीको सिलसिलामा परदेशमा रहँदा आततायीहरूको सिकारमा नेपालीहरू पर्ने क्रम निरन्तर रूपमा रही आएको छ । जसको दुखान्त ः परिणाम इराक तथा अफगानिस्तानका घटनाक्रमलाई लिन सकिन्छ ।

वैदेशिक रोजगार नेपालीहरूको रहर नभई बाध्यता हो । किनकि, कहालीलाग्दो आर्थिक विपन्नताबाट राहत पाउनका लागि मात्रै आजका युवा समूह पक्कै पनि विदेसिएका होइनन् । यदि लोकतान्त्रिक राज्य व्यवस्थाले मुलुकभित्रै रोजगारीका प्रशस्त अवसरहरू सिर्जना गरेको भए पक्कै पनि मातृभूमि छोडेर अन्यत्र विदेश पलाएन कोही पनि हुने थिएनन् होला । यस हिसाबबाट अध्ययन गर्दा के निष्कर्ष निकाल्न सकिन्छ भने कुनै न कुनै रूपमा आततायी घटना गरिबी, द्वन्द्व एवं अर्थोपार्जनसँग सम्बन्धित रहेको छ । राज्यको बिप्रेषणको अत्यधिक हिस्सा ओगटेको वैदेशिक रोजगारसँग आजका युवा पिडीको जीवनमूल्यलगायत परिवत्र्य वैदेशिक मुद्रा आर्जनको दोहोरो सम्बन्ध स्थापित रहेको भेटिन्छ । तसर्थ मानव मूल्य नै केहिहदसम्म बिप्रेषणको प्रत्यक्ष वा अपत्यक्ष आधारस्तम्भ बन्न पुगेको तथ्यलाई अन्यथा लिन मिल्दैन ।

वैदेशिक रोजगारको गतिशीलतालाई क्रमबद्ध रूपमा न्यूनीकरण गर्दै स्वदेश भित्रै रोजगार वा स्वरोजगारको अल्पकालीन, मध्यकालीन एवं प्रकारले दिर्घकालीन योजनासहितको खाका तयार पार्नु लोकतान्त्रिक राज्य व्यवस्थाको प्रमुख दायित्व हो । जसको सकारात्मक परिणामस्वरूप वैदेशिक रोजगारको सिलसिलामा हुने नेपाली नागरिकको मृत्युदरमा पनि निश्चित रूपमा कमि आउनेछ । विशेषगरी, विकशित मुलुकको दाँजोमा नेपाललगायत दक्षिण एसियाका अधिंकाश मुलुकका नागरिकहरू वैदेशिक रोजगारको सिलसिलामा अत्यधिक ज्यान गुमाउने समूहमा रहेको पाइन्छ । जसको मूल कारकतत्वका रूपमा सम्बधित मुलुकको भाषाको ज्ञान नहुनुको अतिरिक्त कामको प्रवृत्तिअनुसार सीप विकासको अभावलाई लिन सकिन्छ । यस बाहेक केहिहद सम्म रोजगार प्राप्त गर्ने मुलुकको मौसम ता हावापानीको पूर्व जानकारी विना नै दलालको उक्सावटमा लाग्ने प्रवृतिले अन्तमा दुख ः बेसाउनुबाहेक अन्यथा केही पनि हात लाग्ने अवस्था रहँदैन ।

न्यून रूपमा प्राप्त हुन आउने कमिसनको प्रलोभनमा रोजगार क्षेत्रका बिचौलियाले चक्रब्यूहमा पार्न सक्ने भएको हुँदा विशेष सावधानी अपनाउँदै कार्य गर्नुपर्ने हुन्छ । विपरीत अवस्था पैदा भए कर्जाबापत लिएको रकम तथा सुरक्षाको अभावमा मानव जीवनसमेत जोखिममा पर्न सक्नेछ ।

अतः वैदेशिक रोजगारीमा आबद्ध रहने समूहको बिमा, तलबका अतिरिक्त अन्य सेवा—सुविधालाई विषेश हेक्का राखी श्रममैत्री अवधारणा अनुरूपको व्यवस्थाले यस क्षेत्रमा रहेको मृत्युदर न्यूनीकरण गर्नुको साथै सुरक्षाको प्रत्याभूति जनाउने छ । यी तथ्यको अभावमा विदेशी भूमिमा नेपालीहरूको कारूणिक मृत्यूको भयाभय अवस्था अभिवृद्धि हुने क्रममा कुनै प्रकारको कमि आउने छाँटकाँट देखिँदैन ।

निश्चित रूपमा श्रमिकको श्रम तथा पसिनामा आधारित रहदै वैदेशिक रोेजगारको तर्फबाट केही हदसम्म भए पनि बर्सेनि बिप्रेषणका दरहरूमा अभिवृद्धि हुँदै राष्ट्र निमार्णमा अमूल्य छाप छोड्न सक्षम भएको तथ्यहरूले आैल्याएको छ । यसका बाबजुद पनि महिनैपिच्छे काठका सुन्दर बन्द बाकसमा भित्रिने श्रमिकका लासहरूलाई कुनै पनि पक्षले अन्यथा लिन मिल्दैन । किनकि, यसै व्यथाभित्र बिप्रेषणको दरहरू कतिपय अवस्थामा जीवन्त रहँदै आएको छ भन्दा फरक नपर्ला ।

प्रतिक्रिया