होटलमा यौनधन्दा गर्ने १० पक्राउ

परासी । पश्चिम नवलपरासीस्थित पूर्वपश्चिम राजमार्ग क्षेत्रमा सञ्चालित अधिकांश होटलमा युवती राखेर यौनधन्दा सञ्चालन हुने गरेको गुनासो बढेपछि प्रहरीले निगरानी बढाएको छ ।

सोमबार होटलमा अनैतिक क्रियाकलाप सञ्चालन गरेको अभियोगमा प्रहरीले एक होटल सञ्चालकसहित १० युवायुवतीलाई नियन्त्रणमा लिएको छ । बर्दघाट नगरपालिका–२ चिसापनीस्थित न्यू शीतलपाटी स्टाफ होटल रेष्टुरेण्ट एण्ड लजबाट अवैध यौन क्रियाकलाममा संलग्न छ पुरुष र चार महिलासहित होटल सञ्चालक रमेश कोइरालालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिए ।

उक्त होटलमा अनैतिक क्रियाकलाप हुने गरेको सूचनाको आधारमा प्रहरीले केही दिनदेखि निगरानी गरी सोमबार विशेष सूचनाको आधारमा छापा मारेको थियो । पक्राउ परेकाहरु विरुद्ध कानूनबमोजिम आवश्यक कारवाहीका लागि अनुसन्धान चलिरहेको प्रहरीको भनाइ छ ।

यसअघि पनि प्रहरीले जिल्लाका विभिन्न होटलबाट यस्ता क्रियाकलापमा संलग्नहरुलाई पक्राउ गर्दै आएको छ । तर पक्राउ परेलगत्तै छुट्ने हुँदा यस्ता गतिविधि नियन्त्रण नभएको सरोकार भएकाहरु बताउँछन् । विशेषगरी जिल्लाको सुनवल, भूमही, बर्दघाटलगायतका स्थानमा सञ्चालनमा रहेका होटलमा यस्तो धन्दा बढेको बताइएको छ ।

सदरमुकाम परासीमा पनि केही होटलमा अवैधरूपमा यस्ता गतिविधि हुने गरेको स्थानीयवासी बताएका छन् । धेरै होटलले काम गर्न भनेर राख्ने तर यौनधन्दा गर्न बाध्य पार्ने गरेका छन् भने कतिपय युवती बढी पैसाको प्रलोभनमा परेर यस्तो धन्दामा फस्ने गरेको प्रहरीकोले बताएको छ ।

प्रतिक्रिया