सिंगापुरको विजयी सुरुआत

काठमाडौं । आइसिसी टवान्टी–२० विश्वकपको एसियाली छनोट प्रतियोगिताको पहिलो खेलमा आयोजक सिंगापुरले विजयी सुरुआत गरेको छ । सिंगापुरले कतारलाई ३३ रनले पराजित गर्दै सफल सुरुआत गरेको हो । टस जितेर ब्याटिङ रोजेको सिंगापुरले २० ओभरमा सात विकेट गुमाउँदै १ सय ८६ रन बनाएको थियो ।

सिंगापुरका लागि सुरेन्द्रन चन्द्रमोहनले सर्वाधिक ४७ रनको योगदान दिए । टिम डेभिडले ३८, मनप्रित सिंहले ३४ र रोहन रंगराजनले ३२ रन जोेडे । बलिङतर्फ कतारका इकबाल हुसेनले चार विकेट लिए भने नोउमन सरवारले दुई विकेट लिए । १८७ रनको लक्ष्य पछ्याएको कतार २० ओभरमा ९ विकेट गुमाउँदै १ सय ५३ रनमा सीमित भयो । कतारका कप्तान तमुर सज्जादले ३४ तथा मोहम्मद रिजलानले अविजित ३३ रन बनाए ।

यस्तै, फैसल जावेदले २९ र मुहम्मद तनबीरले २६ रनको योगदान दिए । कतारलाई हराउनका लागि सिंगापुरका जनक प्रकाश र अम्जद महबुबले ३–३ विकेट लिए । नेपालले मंगलबार कतारविरुद्धको खेलसँगै आइसिसी ट्वान्टी–२० विश्वकप छनोट एसिया फाइनलको सुरुआत गर्नेछ ।

प्रतियोगितमा नेपालले पहिलो खेल खेल्दा कतारका लागि भने त्यो दोस्रो खेल हुनेछ । कतारले सोमबार भएको उद्घाटन खेलमा आयोजक सिंगापुरलाई ३३ रनको नतिजा सुम्पिएको छ । प्रतियोगिताका लागि नेपालले मलेसियामा करिब २ सातामा प्रशिक्षण गरेको थियो । त्यस क्रममा नेपालले घरेल टोली मलेसियाविरुद्ध २ ट्वान्टी–२० शृंखला खेलेको थियो । २–० को जितसँगै नेपालले पहिलोपटक ट्वान्टी–२० शृंखलामा क्लिनस्विप गरेको थियो ।

मलेसिया भ्रमणमा नेपालका लागि ओपनिङ जोडी भने चल्न सकेका थिएनन् । पहिलो खेलमा प्रदीप ऐरी र कप्तान पारस खड्काले ओपनरका रूपमा आए पनि पहिलो विकेटका लागि ठोस साझेदारी भएन । दोस्रो खेलमा पारसको ओपनिङ पार्टनरका रूपमा आएका पवनले पनि उल्लेख्य साझेदारी भने गर्न सकेनन् । पहिलो खेलमा पारसले उकासेको नेपालको इनिङ दोस्रो खेलमा विनोद भण्डारीले सम्हालेका थिए ।

नेपाल र कतार यसअघि दुईपटक ट्वान्टी–२० खेलमा भिडेका छन् । जसमा नेपाल र कतार समान १ खेल जितेका छन् । २००७ मा भएको एसिसी ट्वान्टी–२० प्रतियोगितमा कतारलाई ३ विकेटको नतिजा सुम्पिएको नेपालले २००९ मा भने कतारमाथि नै एसिसी ट्वान्टी–२० प्रतियोगितमा ६ विकेटको जित हात पारेको थियो ।

प्रतियोगितामा नेपालसहित आयोजक सिंगापुर, कतार, मलेसिया र कुवेतको सहभागिता रहेको छ । राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगिताको शीर्ष टोली अक्टाबरमा युएईमा हुने ग्लोबल क्वालिफायरका लागि छनोट हुनेछ । ग्लोबल क्वालिफायरमा छनोट भएका १४ राष्ट्रमध्ये शीर्ष ६ टोली अस्ट्रेलियामा २०२० मा हुने आइसिसी ट्वान्टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया