डाक्टरद्वय गुरुङ र रुइत सम्मानित

काठमाडौं । समाजमा विशिष्ट योगदान दिएका नेपाल प्रज्ञा–प्रतिष्ठानका उपकुलपति डा. जगमान गुरुङ र वरिष्ठ नेत्रचिकित्सक डा. सन्दुक रुइत सम्मानित भएका छन् ।

डा. गुरुङ र डा. रुइतलाई एम्बिसन एकेडेमी, बानेश्वरद्वारा आयोजित नयाँ विद्यार्थीको अभिमुखीकरण कार्यक्रममा ‘एम्बिसन राष्ट्रिय गौरव सम्मान–२०७६’ प्रदान गरिएको हो । उनीहरुलाई कलेजका प्राचार्य विष्णुकुमार घिमिरे र नेपालको सातै प्रदेशलाई प्रतिविम्बित गर्ने सप्तकन्याबाट सम्मान गरियो ।

सम्मानित व्यक्तित्वका बारेमा चर्चा गर्दै प्राज्ञ डा. देवी नेपालले उपकुलपति डा. गुरुङले नेपाली संस्कृति, संस्कार, नेपालीपनको खोजी र नैतिक मूल्यको स्थापनाका लागि राष्ट्रलाई दिएको योगदान जिकिर गरे । त्यस्तै, उनले डा. रुइतले रुइतेक्टोमी प्रविधिका माध्यमबाट विश्वलाई प्रदान गरेको ज्योतिका कारण दुवैजना नेपाल राष्ट्रका गौरव भएको चर्चा गरे ।

उनले भने, ‘डा. गुरुङका आधा दर्जनभन्दा बढी कृति र एस सयभन्दा बढी अनुसन्धात्मक लेखरचना नेपाली माटोका अमूल्य निधि हुन् ।’ प्राज्ञ डा. नेपालले विभिन्न आधारमा नेपाली समाजमा आपसी सद्भाव भड्किन लागेका वेलामा बौद्धिक तर्क र प्राज्ञिक गतिविधिबाट गुरुङले निर्वाह गरेको संयोजनकारी भूमिकालाई नेपाली माटो कहिल्यै नभुल्ने बताए । उनले भने, ‘डा. रुइतले तिलगंगा आँखा केन्द्रको स्थापनाबाट एक लाखभन्दा बढी सेवाग्राहीलाई प्रदान गर्नुभएको आँखाको ज्योति, नेत्रचिकित्सा क्षेत्रमा गर्नुभएको नवीन आविष्कार र निष्काम सेवाभावबाट विश्वको आँखाको ज्योति बन्नसक्नु देशकै लागि गौरवको विषय हो ।’

कार्यक्रममा उपकुलपति डा. गुरुङले अहिले नयाँपुस्तामा पठन संस्कृति अत्यन्त न्यून देखिन थालेको र प्रविधिका नाममा ज्ञानको गहिराइ कम हुँदै गएको अवस्थाप्रति चिन्ता व्यक्त गरे । त्यस्तै, डा. रुइतले निरन्तर समर्पण, अथक मिहिनेत र अनवरत साधनाविना कुनै पनि व्यक्ति लक्ष्यमा पुग्न नसक्ने धारणा राखे । राष्ट्रिय नाचघर जमलको सत्यमोहन जोशी प्रेक्षालयमा आयोजित उक्त कार्यक्रममा लोकगायक तुलसी पराजुलीले गीत, हास्यकलाकार राजा राजेन्द्र पोखरेलले हास्यव्यंग्य र एम्बिसन एकेडेमीका विद्यार्थीले विविध सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए ।

प्रतिक्रिया