सुशीलले ढाले पाकिस्तानी खेलाडी

काठमाडौं । नेपालका सुशील थापाले पाकिस्तानी खेलाडी इर्दलाई पराजित गदै क्वार्टरफाइनलमा प्रवेश गरेका छन् । थाइल्यान्डमा च्याम्पियनसिपअन्र्तगत लाइट फ्लाइट (४९ केजी तौल)मा नेपालका बक्सर सुशीलले पाकिस्तानी मुक्केबाज इद उल्लाइलाई दोस्रो राउन्डको दोस्रो मिनेटमा आरएससी(रेफ्री स्टप कन्टेस्ट)को आधारमा हराउँदै अन्तिम आठमा स्थान बनाएका हुन् । सुशीलले दोस्रो राउन्डको पहिलो मिनेटमा उल्लाहलाई ढालेपछि काउन्टमा परेका थिए ।

लगातार उत्कृष्ट मुक्का प्रहार गरेका सुशीलले उल्लाइलाई एकै राउन्डमा तीनपटक काउन्टको धरापमा पारेका थिए । अन्तर्राष्ट्रिय बक्सिङ संघ(आइबा)को नियमअनुसार एउटै राउन्डमा तीनपटक काउन्ट पाएपछि खेलाडीले धेरै मार खानु नपरोस् भनि रेफ्रीले खेल रोक्दै विपक्षलाई विजयी गराउने नियम छ ।

तर, पाकिस्तान बक्सरविरुद्ध भने रेफ्रीले दुईपटक मात्र काउन्ट गर्दा तेस्रो राउन्ड खेल्न असुरक्षित अनुमान गर्दै सुशीललाई विजेता घोषणा गरेको राष्ट्रिय टिमका प्रशिक्षकसमेत रहेका दीपक महर्जनले जानकारी दिए । सुशीलले सेमिफाइनलमा प्रवेशका लागि मलेसियाका खेलाडी मोहम्मद फुवाद बिन रिजवानविरुद्ध चुनौती प्रस्तुत गर्ने प्रशिक्षक महर्जनले जानकारी दिए ।

रिजवानले यसअघि चीनका याङ जिवीलाई स्तब्ध बनाउँदै अन्तिम आठको यात्रा तय गरेका थिए । सोमबार नै भएको खेलमा नेपालका दीपक श्रेष्ठ भने पराजित भए । उनी ७५ केजी तौलसमूहमा न्युजिल्यान्डका इमिल रिचर्डसनसँग ५–० ले स्तब्ध भएपछि पदक जित्ने नेपालको एक चुनौती समाप्त भयो । मंगलबार अर्का बक्सर पुरुन राईले प्रि–क्वार्टरफाइनलमा ताइपेईका बक्सर चेन पो यीविरुद्ध चुनौती प्रस्तुत गर्नेछन् ।

चेनले यसअघिको चरणमा लाओसका बक्सर सिम्फाभोङ नान्थाभोङविरुद्ध जित रचेका थिए । पुरन भने बाई पाउँदै यस चरणको चुनौतीका लागि प्रस्तुत भएका हुन् । नेपालमा हुने भनिएको १३औँ दक्षिण एसियाली खेलकुद (साग)को तयारीका लागि नेपाल बक्सिङ संघले विगत २ हप्तादेखि ७ महिला र १० पुरुषलाई थाइल्यान्डमा वैदेशिक प्रशिक्षणमा राखेको छ ।

प्रतिक्रिया