हिंसा नत्यागेसम्म वार्ता हुँदैनः पोखरेल

विराटनगर । उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले सरकारले नेत्रबिक्रम चन्द समूहसँग औपचारिक रूपमा वार्ताको प्रक्रिया अगाडी बढाइनसकेको बताएका छन् ।

विराटनगर विमानस्थलमा सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै उपप्रधानमन्त्री पोखरेलले विप्लव समूहले हिंसात्मक गतिविधि नत्यागेसम्म वार्ता हुन नसक्ने बताए । हतियार त्यागेर हिंसात्मक गतिविधि बन्द गरेमा मात्र विप्लव समूहसँग वार्ता प्रक्रिया अगाडि बढाउन सकिने उनले बताए । उपप्रधानमन्त्री पोखरेलले, विभिन्न राजनीतिक समूहले वार्ताका लागि अनौपचारिक रूपमा विप्लव समूहसँग छलफल गरिरहे पनि सरकारसँग अहिलेसम्म औपचारिक रूपमा वार्ता नभएको बताए ।

सञ्चारमाध्यममा आएजस्तो को नेता कुन जेलमा गएर छलफल गरे भन्ने कुरा सरकारलाई थाहा नभएको उनले बताए । उपप्रधानमन्त्री पोखरेलले, संसद्मा सरकारले प्रस्तावको रूपमा पेस गर्ने विधेयकहरूको विषयमा त्यहीँबाट छलफल गरेर सच्याउन सकिने भएकाले यस विषयमा बाहिर हल्ला मच्चाएर विरोध गर्नु उचित नहुने बताए । मिडिया काउन्सिल, विभिन्न आयोगका विषयमा सरकारले जवाफदेहीपूर्ण विधेयकहरू दर्ता गरेको बताउँदै उनले संसद्बाटै त्यसको हल खोजिने बताए ।

नेकपाका स्थायी समिति सदस्यसमेत रहेका मन्त्री पोखरेलले पार्टीको स्कुल विभाग प्रमुखका विषयले अहिलेसम्म पार्टीको वैठकमा प्रवेश नपाएको बताए । उनले स्कुल विभाग प्रमुखका विषयमा पत्रपत्रिकामार्फत बाहिर आएको कुरामा सत्यता नभएको बताए । उनले पार्टीका जिल्ला इन्चार्जहरू सहमतिमै टुङ्ग्याइएकोले स्कुल विभाग प्रमुखका जिम्मेवारी कसलाई दिने भन्ने विषय पनि सहमपतिमा टुंगिने उनको भनाइ थियो । पार्टी एकताको काम जिल्ला इन्चार्ज, केन्द्रीय विभाग, जनसंगठन र केन्द्रीय आयोगका विषयमा समेत सहमति जुट्ने उनको भनाइ थियो । उनले २२ वटा संगठन फाँट र ३२ वटा आयोगहरूमा जिल्लामा नसमेटिएका नेताहरूलाई जिम्मेवारी दिइने बताए ।

प्रतिक्रिया