तिलगंगा डब्लुएचओको समन्वय केन्द्र

काठमाडौं । तिलगंगा आँखा अस्पताललाई विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) ले आफ्नो समन्वय केन्द्रको रूपमा मान्यता दिएको छ ।

अस्पतालको २५औँ वार्षिकोत्सवको अवसर पारेर सोमबार काठमाडौंमा एक कार्यक्रमबीच विश्व स्वास्थ्य संगठनले प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सो अस्पताललाई आफ्नो समन्वय केन्द्रको मान्यता दिएको घोषणा गरेको हो । मान्यता दिने क्रममा संगठनले तीनओटा क्षेत्रमा मूल्यांकन गरेको थियो ।

पहिलो आँखा स्वास्थ्यमा दिएको सेवा, दोस्रो प्रतिष्ठानले नियमित चलाएका शैक्षिक कार्यक्रम र जनशक्ति उत्पादन तेस्रो प्रतिष्ठानले गरेका अनुसन्धान रहेका थिए । तीनै क्षेत्रमा उत्कृष्ट भएपछि प्रतिष्ठानले समन्वय केन्द्रको मान्यता पाएको हो । त्यस्तै आँखाको स्वास्थ्य सेवा, लेन्सको उत्पादन र अनुसन्धानको क्षेत्रमा उल्लेख्य योगदान पु¥याएकाले समन्वय केन्द्रमा मान्यता दिइएको डब्लुएचओले जनाएको छ । प्रतिष्ठानकी कार्यकारी अधिकृत प्रा. डा. रीता गुरुङलाई डब्लुएचओका नेपाल प्रमुख डा. जोस भेन्डरलेरले ‘डब्लुएचओ समन्वय केन्द्र’को मान्यता प्राप्त गरेको प्रमाणपत्र प्रदान गरेका थिए ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले तिलगंगाले आँखा उपचारको क्षेत्रमा असाधारण काम गरेर मुलुकको समृद्धिको अभियानमा महत्त्वपूर्ण योगदान पु¥याएको बताए । उनले अस्पतालका कार्यकारी निर्देशक डा. सन्दुक रुइतलगायतका टिमले आँखा उपचारको क्षेत्रमा पु¥याएको योगदानको खुलेर प्रशंसा गरेका थिए । अस्पतालका लागि आवश्यक सबै सहयोग गर्न सरकार सधंै तयार रहेको प्रधानमन्त्री ओलीले सुनाए ।

कार्यक्रममा उपप्रधान एवम् स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले आँखाको स्वास्थ्य सेवालाई अन्य सेवासँगै छोडेर अघि बढाउने गरी सरकारले स्वास्थ्य नीति ल्याएको जानकारी दिए । उनले आँखाको स्वास्थ्य सेवालाई अनुगमन गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमै ‘आँखा इकाइ’ को व्यवस्था गर्ने घोषणा गरे । कार्यक्रममा बाल्दै अस्पतालका कार्यकारी निर्देशक रुइतले आँखा अस्पतालले २५ वर्षयता आँखाको क्षेत्रमा पु¥याएको योगदानको स्मरण गराए ।

हालसम्म ६० लाख आँखा रोगीहरूको उपचार गरेको तथा ४ लाख बढीको आँखाको शल्यक्रिया गरिएको पनि सो अस्पतालको कार्य प्रगति विवरणमा उल्लेख गरिएको छ । तिलगंगाले उत्पादन गरेको लेन्स नेपालमा मात्र नभएर विश्वका ७० भन्दा बढी मुलुकमा निर्यात हुँदै आएको छ । ३५ लाखभन्दा बढी नेपालीले स्वदेशमै उत्पादित कृत्रिम लेन्सबाट उज्यालो देख्न पाएका छन् । तिलगंगामा उत्पादित लेन्स विश्वमै सस्तो र गुणस्तरीय भएका कारण यसको माग दिनप्रतिदिन बढ्दो छ ।

लेन्स उत्पादनको नेतृत्वकर्ता वर्तमान निर्देशक डा. रुइत आँखा उपचारको क्षेत्रमा पु¥याएको अमूल्य योगदानबापत सुप्रसिद्ध म्यागासिसी पुरस्कारबाट सम्मानित समेत भएका छन् । तिलगंगा विश्व स्वास्थ्य संगठनको आँखाको क्षेत्रमा समन्वय केन्द्रको मान्यता पाउने नेपालको पहिलो केन्द्र बनेको छ । हालसम्म विश्वभरका ८० मुलुकका उत्कृष्ट सेवा प्रदान गरेका ८ सय संस्थाले मात्र विश्व स्वास्थ्य संगठनको समन्वय केन्द्रको मान्यता पाएका छन् ।

प्रतिक्रिया