कोहलीको कप्तानी यथावत् रहने

एजेन्सी, नयाँ दिल्ली । वेस्ट इन्डिजविरुद्धको शृंखलाका लागि भारतले सबै फरम्याटको क्रिकेटमा विराट कोहलीलाई नै कप्तानमा निरन्तरता दिएको छ । आइतबार मुम्बईमा ट्वान्टी–२०, एकदिवसीय र टेस्ट टिमको घोषणा कार्यक्रममा मुख्य छनोटकर्ता एमएसके प्रसादले वेस्ट इन्डिज भ्रमण अन्तर्गत ट्वान्टी–२० र एकदिवसीयमा जसप्रित बुमराहलाई र हार्दिक पान्ड्यालाई आराम दिइएको जानकारी दिए ।

विश्वकपका क्रममा चोट लागेर टिमबाट बाहिरिएका ओपनिङ ब्याट्सम्यान शिखर धवनले एक दिवसीय टिममा पुनरागमन गरेका छन् । विश्वकपमा सर्वा्धिक रन बनाएका रोहित शर्मा तीनै फर्म्याटको टिममा छन् । श्रेयस अयर, मनिष पान्डे, नवदीप सैनी र खलिल अहमद एक दिवसीय टिममा परेका छन् । विकेटकिपर ब्याट्सम्यान ऋद्धिमन साहले भारतको टेष्ट टिममा पुनरागमन गरेका छन् ।

उनी लामो समयदेखि चोटग्रस्त थिए । उनले भारतका लागि पछिल्लोपल्ट सन् २०१८ मा दक्षिण अफ्रिका विरुद्धको टेष्ट श्रृंखला खेलेका थिए । २०१८ को आइपिएलको क्रममा चोट लागेपछि उनको काँधको शल्यक्रिया भएको थियो । भारतको ट्वान्टी–२० टिममा लेग स्पिनर राहुल चाहरमात्र नयाँ अनुहार हुन् ।

पछिल्लो आपिएल र अन्य घरेलु प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा उनले राष्ट्रिय टिममा स्थान बनाएका हुन् । भारतको वेस्ट इन्डिज भ्रमण अगस्ट ३ देखि सुरु हुनेछ । त्यहाँ ३ र ३ टी–२० र एकदिवसीय तथा २ टेस्टको शृंखला हुनेछ । विश्वकपको सेमिफाइनलमा न्युजिल्यान्डसँग पराजित भएपछि भारतको यो पहिलो शृंखला हो ।

विश्वकपको लिग चरणबाटै बाहिरिएको वेस्ट इन्डिजका लागि पनि यो पहिलो शृंखला हो । मुख्य प्रशिक्षक रवि शास्त्रीसँगै अन्य कोचिङ स्टाफको सम्झौता वेस्ट इन्डिज भ्रमण र घरेलु मैदानमा हुने दक्षिण अफ्रिकाविरुद्धको शृंखलासम्मका लागि लम्ब्याइएको छ ।टेस्ट क्रिकेटमा विराट कोहली (कप्तान), मयांक अग्रवाल, लोकेश राहुल, चेतेश्वर पुजारा, अजिक्या रहाणे, हनुमा विहारी, रोहित शर्मा, ऋषभ पन्त, ऋद्दिमन शाह, रविचन्द्र आश्विन, रविन्द्र जडेजा, मोहमद सामी, इशान्त शर्मा, कुलदीप यादव, जस्प्रित बुम्राह र उमेश यादव छन् ।

एकदिवसीयमा विराट कोहली (कप्तान), रोहित शर्मा, शिखर धवन, लोकेश राहुल, श्रेयस अयर, मनिस पाण्डे, ऋषभ पन्त, रवीन्द्र जडेजा, कुलदीप यादव, युजबेन्द्र चाहल, केदार जाधब, मोहमद सामी, भुवनेश्वर कुमार, खलील अहमद र नवदीप सैनी छन् । ट्वान्टी–२० क्रिकेटमा विराट कोहली (कप्तान), रोहित शर्मा (उपकप्तान), शिखर धवन, लोकेश राहुल, श्रेयस अय्यर, मनिष पाण्डे, ऋषभ पन्त, क्रुणाल पाण्ड्या, रवीन्द्र जडेजा, वासिङटन सुन्दर, राहुल चाहर, भुवनेश्वर कुमार, खलील अहमद, दिपक कुमार र नवदीप सैनी छन् ।

प्रतिक्रिया