ग्यारेथ बेलले रियल मड्रिड छोड्ने

एजेन्सी, मड्रिड । रियल मड्रिडका प्रशिक्षक जिनेदिन जिदानेले ग्यारेथ बेलले यसै सिजन रियल मड्रिड छोड्ने बताएका छन् । प्रि–सिजनमा शनिबार सम्पन्न बायर्न म्युनिकविरुद्धको खेलपछि पत्रकार सम्मेलनमा कुरा गर्दै जिदानले बेलको रिलज मड्रिड करियर अन्त्य हुन लागेको जानकारी दिए ।

बायर्नविरुद्धको खेलमा पनि बेल मैदानमा देखिएनन् । सो खेलमा रियल मड्रिड पराजित भएको थियो । जिदानले रियल मड्रिड सम्हालेपछि बेल बेन्चमा नै बस्दै आएका छन् । जिदानको रणनीतिमा बेल फिट नहुने भएपछि रियल मड्रिड बेललाई बेच्ने तयारीमा छ । रियल मड्रिडमा स्टार विंगर बेलको सम्झौता अझ तीन वर्ष बाँकी छ ।

बेललाई पूर्वक्लब टोटनह्याम, म्यान्चेस्टर युनाइटेड र बायर्न म्युनिकले अनुबन्ध गर्नका लागि चासो देखाएका छन् । शनिबारको बर्यानविरुद्धको खेलमा बेल किन खेलेनन् भन्ने प्रश्नको जवाफमा जिदानले भने,‘उनी छिटै क्लब छोड्दैछन्, त्यसैले उनी नखेलेका हुन् ।’ ‘आशा गरौँ उनी चाँडै बिदा हुनेछन् । यो नै सबैको लागि हितकारी हुनेछ, हामी उनलाई नयाँ टिममा पठाउनका लागि कार्य गरिरहेका छौँ ।’

‘अहिले टोलीमा परिवर्तनको आवश्यक छ,’जिदानेले भने,‘उनीसँग मेरो समस्या होइन । यो टोलीका लागि हो । त्यसैले परिवर्तनका निर्णय लिएका हौं ।’ जिदानेले २४ देखि ४८ घन्टाभित्र नै परिवर्तन भए सबै अवस्था ठिक हुनुका साथै बेल र क्लबका लागि पनि राम्रो हुनेछ । ६ सिजन अगाडि बेल महंगो मूल्यमा टोटेनह्यामबाट रियल मड्रिड आएका थिए । रियलले उनलाई बिक्री गर्ने समाचार बाहिरिएसँगै म्यानचेस्टर युनाइटेड, टोटनह्याम र बायर्नले बेललाई किन्न सक्ने चर्चा सुरु भएको छ ।

यता, जिदानेको त्यो अभिव्यक्तिसँगै बेलका एजेन्टले खेलाडीलाई अपमान गरेको आरोप लगाएका छन् । ‘जिदानेले बेलको निकै अपमान गरे,’बेलका एजेन्ट जोनाथन बर्नेटले भने,‘उनको यो भनाई खेलाडीप्रति जिदाने र रियलले कति सम्मान गर्छ भन्ने सावित हुन्छ ।’ जोनाथनले पनि बेलले छिट्टै रियलले छाड्ने बताए । ६ वर्ष अघि रियल आएपछि बेलले क्लबलाई स्पेनिस ला–लिगाको उपाधि र चार पटक च्याम्पियन्स लिगको उपाधि दिलाउन सफल भएका छन् ।

जिदाने रियलमा फर्किएपछि बेल पछिल्ला समयमा बेन्चमै सीमित हुँदै आएका छन् । बेल पुनः रियलमा फर्किएपछि ११ खेलमा तीन खेलमा अवसर पाएका बेलले मैदानमा ९० मिनेट मात्र बिताएका छन् । गत सिजन रियल बेटिससँग २–० ले पराजित भएपछि बेलप्रति जिदानेले भरोसा कम गर्दै आएका थिए ।

प्रतिक्रिया