गायिका पवित्रा सम्मानित

काठमाडौं । नेपाली सांगीतिक क्षेत्रमा लामो समयदेखि योगदान दिएकी गायिका पवित्रा घर्ती मगरलाई सम्मान गरिएको छ ।

नेपाल मगर सांस्कृतिक संघ केन्द्रीय समिति र नेपाल मगर विद्यार्थी संघले कमलादिस्थित प्रज्ञा भवनमा नेपाली सुगम संगीतका लोकप्रिय गायक स्व. अरुण थापाको स्मृतिमा आयोजित कार्यक्रममा खानेपानी तथा सरसफाइ मन्त्री बिना मगरले उनलाई सम्मान गरिन् ।

कार्यक्रममा मन्त्री मगरले नेपाली गीत संगीतका क्षेत्रमा स्व. अरुण थापाले महत्त्वपूर्ण योगदान दिएको बताउँदै राज्यले उचित कदर गर्ने बताइन् । गायिका पवित्राले पाँच सयभन्दा बढी लोक तथा आधुनिक गीतमा आवाज दिएकी छन् ।

गायक स्व. थापाको २० औं स्मृति सभा तथा संगीत पुरस्कार वितरण समारोहमा विभिन्न गायक गायिकाले सांगीतिक प्रस्तुतिसमेत दिएका थिए । त्यस्तै, उनीहरूले गायक स्व. अरुण थापाले गाएका केही गीतसमेत गाएका थिए । स्व. थापाका ‘भुलूँ भुलूँ लाग्यो मलाई’, ‘ऋतुहरूमा तिमी हरियाली बसन्त हौ’, ‘जति माया गरे पनि जति कसम खाए पनि’ र ‘चोट के हो व्यथा के हो म जस्तो घाइतेलाई नसोध’ लगायतका गीत नेपाली संगीत क्षेत्रमा निकै चर्चित छन् ।

स्व. थापाको ४७ वर्षको उमेरमा ०५६ साल साउन ५ गते फोक्सोको क्यान्सरबाट निधन भएको थियो ।

प्रतिक्रिया