बा ! अब छोराहरू खाडीमा भेटिनेछन्

प्रिय बा, म तिम्रै अभागी छोरा । मैले तिमीजस्ता पाँच लाखभन्दा बढी बाहरूलाई पनि चिठ्ठी लेख्दैछु उनको छोराको तर्फबाट । अहिले उही सपनाको सहरबाट चिठी लेख्दैछु । ती लाखौँ मेरा शत्रुहरू हुन् । जो लोकसेवा नामको युद्धमा लड्ने जमर्को गरेका छन् । तर, जित्नेछन् जम्मा साढे नौ हजारले । तिम्रो छोरा साढे नौ हजारमा पर्ने नपर्ने समुन्द्रमा पौडी खेल्नुसरह भएको छ ।

मलाई थाहा छ बा, तिमी मसँग रिसाएका छैनौ । मैले यो सहरमा तिम्रो फोन उठाउने फुर्सद पाएन ‘बेरोजगारीको’ जागिरले । यहाँ लोकसेवाको फाराम भर्ने ठाँउमा लाइन लाग्दै थिएँ । तिमी त्यही अभागी छोराको अभिभावक हौ जसले एसएलसी पछी ‘खरिदार’ नै बन्ने सपना देखेको थियो । मेरो गाउँमा त्यतिवेला कोही ‘खरदार’ थिएन है बा । अनि म ‘खरिदार’ बनेँ भनेँ तिम्रो छाति गर्भले कति चौडा हुँदो हो ।

बा ! हामी दुवैको गल्ती हो है त्यतिवेला । प्लस टु नसकिँदै दुवैले कोरियाको सपना देख्यौँ । जतिवेला छिमेकी गाउँका बैरागी दाइ कोरिया पुगेर महिनाको दुई लाख कमाउँथे भन्ने खबर सुनेका थियौँ । उनका परिवार खुसी बाँड्दै हामीसामु किन आएहुन् बा ? अनि मान्छेको मन न हो बा, तिमीलाई पनि भित्री मनदेखि छोराले महिनाको दुई लाख कमाएर पठाओस् भन्ने सपना बुन्न बाध्यता आएको पक्कै हो । महिनाको दुई सय पनि तिमीले हात कमाएर दिन्थ्यौ । त्यही दुई सयको बदला दुई लाख कमाओस् भन्नु तिम्रो मुर्खता होइन । तर, कोरिया पनि सपनामै सीमित भयो ।

बा म एउटा बाहुन परिवारमा जन्मिनु मलाई ‘खरदार’ बन्ने सपनामा अभिसाप बनेको छ । खुल्लाबाट थोरै कोटा छन् । एसएलसीमा चालिस प्रतिशत ल्याएर पास भएको तिम्रो छोरो गाउँमा मात्रै जेहेनदार हो बा । अंग्रेजीमा ‘आई इट राइस’ र ‘माइ नेम इज…’ मात्र जानेको तिम्रो छोरो सहरमा फरर अंग्रेजी बोल्नेसामु हेरेको हेरै भएको छ । लोकसेवा तिम्रो छोराको लागि सपनाजस्तै बनिरहेको वेला अलि धेरै कोटा खुल्दा केही आशा पलाएको थियो । तर, फेरी बन्द हुने हल्ला चल्दै छ बा ।

बा, सानो छँदा मलाई ‘खरदार’ के हो ? यति थाहा थियो कि कुनै ठूलो पैसा पाइने पद जस्तै नेता, मुखिया आदि । कसले गाविस सचिव ‘खरदार’ हुन भन्ने पनि सुनाएका थिए । वा….. ! गाविस सचिव ? अनि सुरु भएकै हो गाविस सचिव भएर आफ्नो गाविसको सबैभन्दा ठूलो व्यक्ती बन्ने सपना ।

अँ बा म सम्झिन्छु गाउँका एउटा दाइले कक्षा नौ मा ऐच्छिक गणित पढ्, ‘खरदार’को तयारी गर्दा काम लाग्छ भने । अनि पढेँ । साइन ठिट्टा र कस ठिट्टा रातभरि पढेँ । बाटोमा हिँड्दै गर्दा पढेँ । तर, बा अहिले तिनी कहाँ गए मलाई थाहा छैन । कि म ‘खरदार’ नभएर मलाई छाडेका होलान् ?

बा ! अनि तिम्लाई मैले त्यतिवेला सोधेको हुँ । ‘खरदार’को जागिर कति हुन्छ र ? “त्यस्तै ३०-४० हजार अरे । ‘तिम्ले भनेको आज जस्तै लाग्छ बा । तिमीले पनि बिर्सियौ ‘खरदार’ अनि मैले पनि कोरियाको सपना देखेछु ।

तिम्रो छोराले तिम्रो घर छाडेर सहर जान सक्दैनथ्यो । कसरी अर्काको देशमा जाला ? भन्ने कहिल्यै सोचेनौ है । तिमी पनि पैसा कमाउन भारत गएर कति दुःख पाएर आएका थियौ त्यो सम्झेनछौ है । कति टाढा हो कोरिया ? त्यो पनि थाहा थिएन । विदेश हो रे । हो हामी सबैले पैसाको सपनाबाहेक केही देखेनौँ ।

तिम्रो ठूलो सपना पूरा नहुने देखेँ । कोरिया सपनामै सीमित हुने देखेँ । कोरियन भाषा पनि सहरमै बसेर पढ्नुपर्ने रे । नाम निकाल्नुपर्ने रे । स्वास्थ्य जाँच गर्नुपर्ने रे । ५२ किलो तौल हुनुपर्ने रे । शरिरमा घाउ नभएको हुनुपर्ने रे ।

तिम्रो छोरामा योग्यता पुगेन, घाँस काट्न जाँदा भिरमा लडेर शरिरभरि खतैखत (दाग) भएको तिम्रो ४५ केजीको छोराले भाषा तयारीमा सहर बसेर पढ्न लाख रुपैयाँभन्दा कम लाग्थेन । अनि त्यत्रो लाख तिम्ले कोबाट मागेर दिने ? म कोरिया जान सक्षम छैन तर तिम्लाई भन्न मन लागेको थिएन । किनकि, तिम्रा सपनाहरू भस्म खरानी भएको मान्ने थियौ तिम्ले सुन्यौ भनेँ ।

अँ साँच्ची कोरिया गएर के गर्नुपर्छ तिमीलाई थाहा थियो ? नाई मलाई पनि त थाहा थिएन । तिम्रो जवाफ आउला पैसा कमाउन । तर, उसै पैसा पाइदैन होला । अलिअलि काम गर्नुपर्छ होला । तर, तिम्रो अल्छी छोराले घरमा पनि काम गरेन ।

अनि तिमीलाई कस्ले कोरिया जान मेरो योग्यता पुग्दैन भनेर कुरा सुनाएको तिमी साँझ ‘उस्स……..’ गर्दै लामो साहस फेर्दै पिढिँको खाटमा बसेका थियौ है । हिजो जस्तै लाग्छ बा त्यो दिन । तर एक वर्ष वितिसकेको छ । तिम्रो घटुवा भयो एक्कासी त्यो दिनबाट । दुई लाखबाट घटेर अब मलाई मासिक तिस चालिस हजारको ‘खरदार’ बन् भन्न बाध्य भयौ ।

तिम्रो ऋणको दिन अनि मेरो मस्तिका दिन भनेजस्तै म सहर पसेँ । गाउँबाट ‘खरदार’को तयारी गर्न । पारिघरे साँइलाबासँग तिस हजार रुपैयाँ मागेर । ढाइ रुपियाँ ब्याजमा ।

म सहरमा लोकसेवा तयारी कक्षा लिँदैछु । अस्ति भर्खर ‘खरदार’को फारम पनि भरेको छु । पढाउने ठाउँमा पनि पैसा तिरिसकेँ । टमाटरको मूल्य त आकासिएको यो सहरमा तरकारी, दाल, चामल, नुन, तेल पनि किनिसक्नु थिएन बा । तिमी खाजा खाएस भनेर सय रुपियाँ दिन्थ्यौ तर त्यो मलाई एकै दिन पुग्थेन । पैसाको लागि तिम्रो र मेरो कहिल्यै राम्रो मेलमिलाप भएन है बा । तिमीले जहिले थोरै दिने मैले सँधै धेरै माग्ने ।

स्थानीय तहको चुनावको वेला तिमीले रातादिन नभनी प्रचार गरेको गैराघरे काकाले वडा कार्यालयमा आफ्नै भतिज कर्मचारी राखेछन है । ‘आउँदो स्थानीय तहको चुनावमा… पार्टीका मेयर पदका उम्मेदवार… लाई जिताउँ’ भन्दा मेरो घाँटी नै सुकेको थियो । अँ तिनी डाँडाघरका मेयर काकाले आफ्नी साली लाई करारमा नगरपालिकामा कर्मचारी राखेछन अरे है । उपमेयर बनेकी हाम्रै साइँली माइजुले पनि आफ्नै देउरानीलाई लेखापाल राखिन् अरे है बा ।

तिम्रो अभागी छोरो सहरबाट तिनै पदको परीक्षा दिनलाई फारम भर्ने तयारीमा थियो । तर, तिमीलाई पनि थाहा भएन । अस्ति भर्खरै तिमीले भनेको भुल्यौ कि भुलेका छैनौ बा ? “आफ्नै ठाउँमा ‘खरदार’सरह खुलेको छ, करारमा । परिक्षा दिएर नाम निकाल्नुपर्छ । ‘तर तिनै मेयरका छोराले मलाई भनिसकोको थियो बा त्यहाँ अरूकै कुरा भएको छ भनेर ।

‘बा’ सायद तिमीले पनि ध्वाँसो लागेको पुरानो रेडियोमा लामो तार जोडेर सुस्साउँदै त्यही ‘खरदार’को विज्ञापन खुलेको छ भनेर सुनेको छौ होला । तर बा विज्ञापन बन्द हुने भनेर सुनेका छैनौ होला है । विवादमा छ रे । कसैले बन्द गर्ने पनि भनेका छन् । । ‘खरदार’को विज्ञापन गैरकानुनी भयो रे । सबैभन्दा धेरै कोटा खुलेको यसैपाली थियो बा ।

पल्लोगाउँको श्यामेले कोरिया गएर सहरमा महल बनाइसक्यो अरे । घट्टेखेतको काइलो कतार गएर माथिडाँडा बजारमा घर बनाएर पसल गरेको छ अरे है । हाम्रो घरको छानो पनि खरले छाएको चुहिने भएको छ रे है । अनि तिमीलाई भने पारिघरे काकाले ऋणको सावाँब्याज मागेर सताउँछन् अरे है ।

मलाई त पैसा पठाइमाग्न मन थियो । तर, कुन कारणले पठाइमागुँ बा ? बा मलाई माफ गर्न मिल्छ भने म एउटा कुरा भन्छु है । पल्लो खेत बेचेर ऋन तिर र बचेको पचास हजार मलाई पठाइदेउ ।

सबै पाँच लाख ‘बा’हरूले आफ्नो छोरालाई पठाइदेउ । म ‘फ्रि भिसा फ्रि टिकट’ भएको देशमा जान्छु अर्थात हामी पौने पाँच लाख जान्छौँ । तिमी पनि भारत भन्ने ठाउँमा गएर दुख गरेका थियौ । अब तिम्रा छोराहरू खाडीमा भेटिनेछन् बा । तिम्री धर्मपत्नी अर्थात् मेरी आमाले आफूले नखाएर खुवाएको गासको र दशधारा दूधको ऋण तिर्न खाडीको गर्मीमा तिम्रा छोराहरू हजारौँ धारा पसिना र रगत बगाउन रहर बनेको छ बा ।

मलाई माफ गर बा । म तिमीले सोचेको ‘खरदार’ पनि बन्न सकिन र कोरिया गएर मासिक दुई लाख पठाउन पनि सकिन । अब झुपडीको छानो टिनले छाउनुपर्छ पहिले ।

उही तिम्रो छोरा काशिराम
महँगो सपनाको सहरबाट

प्रतिक्रिया