‘बाँके र बर्दियालाई कर्णालीमा मिसाउँछौँ’

बाँके । नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा.धवलशमशेर राणाले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउने आन्दोलनको सुरुआत गर्ने उद्घोष गरेका छन् । मेयर राणाले बाँके र बर्दिया जिल्लालाई कर्णाली प्रदेशमा मिसाउने आन्दोलन आगामी १५ दिन भित्रै सुरु गर्ने जनाएका छन् ।

बाँके र बर्दियाका व्यापारी अगुवाहरू उपस्थिति एक कार्यक्रममा मेयर राणाले बाँके र बर्दिया जिल्लावासीको भविष्य कर्णाली प्रदेशमा मिसिँदा नै उज्ज्वल हुने बताएका छन् । सो कार्यक्रममा बोल्दै मेयर राणाले भने, ‘बाँके र बर्दियालाई प्रदेश–५ मा बस्नुभन्दा कर्णाली प्रदेशमा मिसिँदा फाइदा हुन्छ । कर्णाली प्रदेशमा मिसिँदा सुर्खेत प्रशासनिक केन्द्र राजधानी भए पनि अरू सबैको केन्द्र नेपालगञ्ज नै हुन्छ । कर्णालीमा जाँदा हरेक कुराबाट फाइदा हुने भएकाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउन १५ दिनभित्र आन्दोलनको सुरुआत गर्छौं ।’

मेयर राणाले १५ दिनमा आन्दोलनको माहोल बनाउने बताए । राप्रपाका महामन्त्रीसमेत रहेका राणाले बाँके र बर्दियालाई कर्णाली प्रदेशमा मिसाउँदा अन्तर्राष्ट्रिय विमानस्थलदेखि जिल्लाले अहिले माग गरेका हरेक संरचना पाउने बताए । उनले प्रदेश–५ मा रहँदा सुदूरका बाँके र बर्दिया जिल्लाले प्राथमिकता नपाउने उद्घोष गरे ।

उनले नेपालगञ्ज पुरानो सहरमा मात्र काठमाडौं, विराटनगर, वीरगञ्ज र पाल्पापछि विकसित भएको सहर भएको जिकिर गरे । उनले भने, ‘भाइ सहरहरूको द्रुतगतिमा विकास भइरहँदा नेपालगञ्ज पछाडि नै परिरहेको छ । प्रदेश संरचनाले नेपालगञ्जलाई अझ पछाडि धकेलेको छ ।’

मेयर राणाका अनुसार दुई वर्षमा नेपालगञ्जबाट सरकारी र गैरसरकारी संस्थाका सात सय वटा संरचना अन्यत्र गइसकेका छन् । नेपालगञ्जमा रहेका कर्णाली प्रदेशका कार्यालय सुर्खेततिर सरेका छन् भने प्रदेश–५ का मुख्यमुख्य कार्यालय बुटवल, भैरहवा र दाङ गएका छन् । नेपालगञ्जका भौतिक संरचना प्रयोगविहीन हुने चिन्ता थपिएको छ ।

मेयर राणा सहभागी हुने कार्यक्रममध्ये प्रायः हरेक कार्यक्रममा कर्णाली प्रदेशमा मिसिने कुरा निकाल्दै गरेका राणाले यस कार्यक्रममा फेरि भने, ‘नेपालगञ्जलाई प्रदेश राजधानी बनाउन प्रयास नभएको भने होइन । केन्द्रमा पहुँच भएका ठूला नेताको अभाव रहेको बाँकेमा संघर्ष समिति बनाएर पनि त्यसले औचित्य पुष्टि गर्न सकेन ।’ उनले बुटवललाई राजधानी बनाउन लागिपरेको पार्टीको नेतालाई आन्दोलनको संयोजक बनाउने काम भएको र यो सरासर आत्मसमर्पण भएको जिकिर गरे ।

प्रतिक्रिया