मन्त्रीलाई कोट उपहार

सुर्खेत । साझा पार्टी कर्णाली प्रदेश कमिटीले कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री दल रावललाई कोट उपहार दिएको छ ।

आइतबार पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालको नेतृत्वमा दलित तथा विपन्नहरूलाई सिलाई–कटाई तालिम दिने बजेटबाट हुम्लाका सरकारी कार्यालयका प्रमुख र मन्त्रीका स्वकीय सचिवले कोट सिलाएको विरोधमा मन्त्री रावललाई साझा पार्टीले कोट उपहार दिएको हो ।

हुम्लामा केही दिनअगाडि विपन्न नागरिकको बजेटबाट जिल्लाका सरकारी अधिकारी र मन्त्रीका स्वकीय सचिवले कोट सिलाएका थिए । जसमा प्रमुख जिल्ला अधिकारी धोलकराज ढकाल, सामाजिक विकास मन्त्री दल रावलका स्वकीय सचिव नन्दबहादुर रोकायसहित ११ जना थिए ।

साझा पार्टी कर्णाली प्रदेश कमिटीले कोटसँगै सामाजिक विकासमन्त्रीलाई विभिन्न मागसहित सातबुँदै ज्ञापनपत्र पनि बुझाएको छ । ज्ञापन पत्रमा विपन्न समुदायका व्यक्तिहरूको क्षमता विकास तालिमको बजेटबाट प्रमुख जिल्ला अधिकारी, मन्त्रीका स्वकीय सचिवसहितका व्यक्तिहरूले कोट सिलाउनु दुर्भाग्यपूर्ण भएको उल्लेख गरिएको छ ।

मन्त्री रावलको आफ्नै जिल्लामा भएको बेथितिको कारवाहीमा चासो नदिएको भन्दै जिन्सको कोट दिइएको हो । साझा पार्टीका कर्णाली प्रदेश संयोजक गेहेन्द्रप्रसाद दाहालले गरिब जनताका लागि सीप सिकाउने कार्यक्रमबाट जिल्लाका हाकिम र मन्त्रीका स्वकीयले कोट सिलाएको विरोधमा जिन्सको रेडिमेट कोट उपहार दिइएको बताए ।

केही समयअघि साझा पार्टीले विकासलाई दिने अनुदानको रकम काटेर ५२ वटा गाडी खरिद गरेको विरोधमा खेलौना कार उपहार दिएको थियो । प्रदेश राजधानीमा रहेको खानेपानी अभाव पूर्ति गर्न, युवाहरूलाई स्वरोजगार बनाउन, डिजिटल कर्णालीको अवधारणालाई मूर्तरूप दिन, प्रदेश अस्पताललाई सुविधा–सम्पन्न बनाउनसमेत ज्ञापन पत्रमा माग गरिएको छ ।

ज्ञापनपत्रमा सरकारी विद्यालयले विद्यार्थीबाट शुल्क असुलेको र त्यसलाई तत्काल रोक्न प्रदेश सरकारसँग माग गरेको छ । वीरेन्द्रनगरमा रहेको प्रदेश अस्पताललाई सुविधायुक्त बनाउनुपर्ने, वीरेन्द्रनगरको खानेपानी समस्या समाधानका लागि पहल थाल्नुपर्ने पनि माग गरेको छ ।

प्रतिक्रिया