मकैको खोस्टाको मुढा देशदेखि विदेशसम्म

चिप्लेढुुंगा । पछिल्लो समय सीपमा आधारित हस्तकलाको माग बढ्दै गएपछि सीप सिक्न गृहिणी महिलाको रुचि र जाँगर बढ्न थालेको छ । पोखरामा मकैको खोस्टाबाट बनाइएका मुढाको माग बढ्न थालेपछि तालिम सिक्ने र घरमै मुढा बनाएर आयआर्जन गर्ने महिला बढ्न थालेको कास्की पोखरा हस्तकला संघका अध्यक्ष एवं पद्मावती हस्तकला उद्योगका सञ्चालक हिरा भट्टराईले बताए । ‘हामीले यस उद्योगबाट विभिन्न तालिम प्रदान गर्छौँ । तर, पछिल्लो समय मकैको खोस्टाबाट बनाइएको मुढाको माग बढ्न थालेपछि यही तालिमलाई हामीले निरन्तरता दिँदै आएका छौँ’, भट्टराईले भने, ‘अहिले लायन्स क्लब अफ पोखरा गण्डकीको आयोजना र पद्मावती हस्तकलाको सहकार्यमा ३० जनाको टोलीलाई दुई हप्ताको तालिम दिइसकेका छौँ । लगत्तै अर्को टोली पनि इच्छुक भएर माग गर्नुभयो । यसलाई पनि निरन्तरता दिएका छाँै ।’

‘फेन्सी’ सामानले बजारमा हस्तकलाको व्यापार घटाइरहेको भन्ने कतिपय कुरामा पूरै सहमत छैनन् उद्यमी भट्टराई । उनका अनुसार मानिसका चाहना एकै किसिमका हुँदैनन्, सबैले फेन्सी तयारी सामान मात्रै मन पराउँछन् भन्ने लाग्दैन । अहिले प्राकृतिक र हस्तकलाका सामग्रीको बजार राम्रो हुँदै गएको छ । ‘बजारमा पाइने तयारी मुढालाई बाहिरबाट बिना रङरोगन मकैका खोस्टाको बुनाइले छोपिन्छ र आकर्षक बनाइन्छ । यो प्राकृतिक पनि देखिन्छ ।’ अहिले नियमित छ जना महिलाले घरमै मुढा बुनेर तयारी भएपछि ल्याउने गरेको भट्टराईको भनाइ छ ।

मकैको खोस्टाको मुढाको माग पछिल्लो समय विभिन्न होटलबाट आउन थालेको पद्मावती कोशेली घरका बजार व्यवस्थापक पूर्णिमा रिजालले बताइन् । ‘हामीलाई काठमाडौंबाट ५० मुढाको ‘अर्डर’ आएको छ । केही समय मागेका छौँ । यसका साथै पोखरा लेकसाइडका होटल घरमा र विदेशमा रहेका नेपालीको रोजाइमा पनि यो यस्तो मुढा पर्ने गरेको छ ।’ यस प्रकारको मुढालाई धेरै नेपालीले विभिन्न देश पु¥याउने गरेको उहाँको भनाइ छ । दुईदेखि साढे तीन केजीसम्मको तौल हुने भएकाले विदेश लान चाहनेलाई त्यति गाह्रो नहुने उनले बताए ।

६ महिनादेखि मुढा बनाउँदै आएकी हीरा कुँवरले आयआर्जनको राम्रो माध्यम भएको बताइन् । ‘मैले पद्मावतीबाट तालिम लिएँ र अहिले सिकाउँदै आएकी छु, व्यावसायिकरूपमा मुढा बुन्दै आएकी छु ।’ एउटा मुढा बनाएबापत एक हजार ज्याला पाउने उनको भनाइ छ । ‘घरको काम सबै सकेर बचेको समयमा मात्रै बनाउँछु, दुई तीन दिन लाग्छ । जति जाँगर चलायो उति कमाइ हुन्छ नि !’ तालिम लिएकी पोखरा महानगरपालिका वडा १४ काजी पोखरीकी ४४ वर्षीया लीला थापाले तालिमपश्चात यही सीपलाई व्यवसायमा परिणत गर्ने सोच भएको बताइन् । उनले भनिन्, ‘मैले पहिलोचोटि यो तालिम लिएकी हूँ, अब यसलाई व्यासायिकरूपमा अघि बढाउने सोच बनाइरहेकी छु ।’

झाडु कुचोको सानो पसल गर्दै आएकी मुना गुरुङले तालिमपश्चात पसलमा मुढा बनाएर बेच्ने बताइन् । ‘तालिमले अब एउटा सीप दिएको छ । अब आफ्नो व्यवसायमा यो अर्को उत्पादन थप्छु ।’ ‘फिनिसिङ’ नभएको सामान बिक्री गर्न गाह्रो हुने र त्यसलाई आर्कषक बनाउन थप मेहनत जरुरी हुने गुरुङले बताए । ‘मकैको खोस्टाबाट बनाएका मुढा हीरा भट्टराईको फेसबुकवालमा देखेपछि निकै आकर्षक लाग्यो तुरुन्तै उहाँसँग सम्पर्क गरेर छ वटा मुढा र छ वटा चकटी लगेर गएँ’, लायन्स क्लब अफ पोखरा गण्डकीका निर्वतमान अध्यक्ष मोना थापाले भने, ‘घरमा आउने पाहुनाले मुढा निकै मन पराएर सोधीखोजी गर्नुहुन्छ ।’

प्रतिक्रिया