इ-सेवामा २० लाख बढिले खोले खाता

काठमाडौं । पेमेन्ट गेटवे ‘इसेवा’ मा एकाउन्ट खोल्नेको संख्या २० लाख नाघेको छ । नेपालीहरु पछिल्ला दिनमा विभिन्न सेवा तथा किनमेलको भुक्तानी मोबाईल तथा इन्टरनेटमार्फत गर्न अभ्यस्त हुँदै गएपछि इसेवामा एकाउन्ट खोल्नेको संख्या तिब्र रूपमा बढ्दै गएएको हो ।

साथै इसेवाले पछिल्लो समय सुरु गरेको ‘रिफर एण्ड अर्न’ अफरका कारण पनि इसेवामा खाता खोल्नेको संख्या बढेको हो । २५ जनवरी २००९ बाट सेवा सुरू इसेवाको मोबाईल एप्स् डाउनलोड गरी कारोबार गर्नेको संख्या पनि करिब १३ लाख पुगिसकेको छ । त्यस्तै, देशभर रहेका जोन, पोइन्ट तथा मोबाईल बैंकिङमार्फत करिब एक करोड व्यक्तिले इसेवाका सेवा लिइरहेका छन् ।

हाल इसेवाका देशभर करिब ५५ हजार एजेन्ट (इसेवा जोन तथा पोइन्ट) छन् । त्यसैगरी इसेवामा रहेका मर्चेन्टको संख्या पनि २५ हजारभन्दा बढी पुगेको छ । पछिल्लो समय विभिन्न रेष्टुरेन्ट, होटल, किराना पसलदेखि विभिन्न डिपार्टमेन्टल स्टोरसम्म इसेवाको ‘क्युआर कोड’मार्फत रकम भुक्तानी गर्न सकिने भएपछि मर्चेन्टको संख्या ह्वात्तै बढेको हो ।

पान पसलदेखि ठुला डिपार्टमेन्टल स्टोरसम्म क्युआर कोडमार्फत भुक्तानी गर्न सकिने सुविधालाई इसेवाले आक्रामक रूपमा बढाउँदै लगेको छ । इसेवाबाट मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल–कलेजको शुल्कलगायत सेवाहरूको शुल्क भुक्तानी गर्न सकिन्छ ।

प्रतिक्रिया