कामै गर्न नसक्ने ठेकेदार

काठमाडौँ । नारायणी पुल निर्माण गर्न नसकेपछि सरकारले नै ठेक्का तोडेको ठेकेदार कम्पनी रमण कन्स्ट्रक्सनलाई अर्को ठेक्का दिने तयारी गरिएको छ । उक्त कम्पनीलाई भेरी बबई डाइभर्सन आयोजनाको हेडवक्स, पावरहाउसलगायतका संरचना निर्माणको ठेक्का दिन लागिएको हो । जबकि उक्त कम्पनीलाई सरकारले नै कालो सूचीमा राख्ने प्रक्रिया अगाडि बढाइरहेको सडक विभाग अन्तर्गत हुलाकी राजमार्ग निर्देशनालयले जनाएको छ ।

९ अर्ब २६ करोड रुपैयाँ लागतमा निर्माण गर्न लागिएको भेरी बबईमा रमण कन्स्ट्रक्सन जेभीले झण्डै ३ अर्ब १० करोड विलो कममा ठेक्का हालेको थियो । उक्त ठेकेदार कम्पनीले चीनको ग्वाङ्डोन युनाटियनसँग मिलेर उक्त परियोजनाका लागि टेन्डर संयुक्त हालेको थियो ।

भेरी बबईका आयोजना निर्देशक र ठेकेदारको मिलमतोमा उक्त ठेक्का ठेक्का लिने तर समयमा काम नगर्ने भनेर चिनिएको रमन कन्स्ट्रक्सनलाई दिन लागिएपछि आयोजनका असन्तुष्ट कर्मचारीहरुले नै यो सूचना लिक गराएका हुन् । कालो सूचीमा राख्न तयारी भइरहेको कम्पनीलाई ठेक्का दिन लागिएपछि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा असन्तुष्ट कर्मचारीहरुले रिर्पोट गरिसकेको बताइएको छ ।

यद्यपि त्यसको आधिकारिक पुष्टि भने भएको छैन् । अर्कोतिर आफूले काम गर्दैगर्दा सरकारले नै एकतर्फी ठेक्का तोडेकोले सडक विभागलाई नै विपक्षी बनाएर रमन कन्सट्रक्सन न्यायका लागि अदालत पुगेको बताइएको छ । उक्त ठेकेदार कम्पनी र सडक विभागबीच अहिले मुद्दा विचाराधिन भएकै कारण कालो सूचीमा तत्काल राख्न नसकिएको हुलाकी राजमार्ग निर्देशनालय स्रोतले बतायो ।

उता हुलाकी राजमार्ग निर्देशनालयले भने, रमण, पप्पु र जेभीले २०६९ मा ठेक्का लिएको उक्त पुल सम्झौता अनुसार २०७३ सालमै निर्माण गरिसक्नु पर्ने थियो । तर, अहिलेसम्म काम नै सुरु नगरेपछि गत असार १६ गते सम्झौता खारेज गर्ने निर्णय भएको हो ।

भेरी बबईको थप काम ठेक्का

भेरी बबई डाइभर्सन आयोजनाको सुरुङको काम गत चैत महिनामै सकिएको हो । आयोजनाका अनुसार अब दोस्रो प्याकेजमा बाँध, विद्युत गृह, सर्ज ट्रयाक निर्माण गर्न लागिएको छ । यो प्याकेजको ठेक्का पाउने कम्पनीले भेरी नदीमा पुलसहित बाँध निर्माण गर्नुपर्ने हुन्छ । उक्त बाँध निर्माणको समयावधि करिब ५ वर्ष लाग्ने अनुमान गरिएको छ । भेरी बबई डाइभर्सन आयोजनाको हात्तीखालबाट ४६.८ मेगावाट विजुली पनि उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

यो आयोजनाको काम आर्थिक वर्ष २०७९ र ८० सम्म सक्नुपर्ने भनिएको छ । आयोजनाका अनुसार भेरी नदीमा ११४ मिटर लामो र १४ मिटर अग्लो पुलसहितको ६ ढोका राखेर बाँध निर्माण हुनेछ । मुख्य रुपमा सिँचाईका लागि बनाइएको यो आयोजनाबाट वार्षिक करिब चार अर्ब ३ करोड रुपैया बराबरको विजुली उत्पादन गर्ने लक्ष्य राखिएको छ । पुरै आयोजना सम्पन्न गर्न ३३ अर्ब १९ करोड रुपैया खर्च हुने अनुमान गरिएको छ ।

प्रतिक्रिया