जनताको आर्थिक जीवनस्तर सुधार गर्न सुझाव

दैलेख । कर्णाली प्रदेशसभाका सदस्य अम्मरबहादुर थापाले जनताको आर्थिक जीवनस्तर सुधार गर्न सकिने योजनामा केन्द्रित हुन सुझाव दिएका छन् । जिल्ला समन्वय समितिको आयोजनामा भएको जिल्लाको शैक्षिक अवस्था र गरिव परिचयपत्र कार्यक्रम सम्वन्धी सदरमुकाममा शनिबार भएको अन्तरक्रियामा उनले सो धारणा राखेका छन् ।

सदस्य थापाले स्थानीय तहका सबै जनप्रतिनिधिहरुलाई भूमिका दिन नगरपालिकाका प्रमुख तथा उप–प्रमुख र गाउँपालिकाका अध्यक्ष उपाध्यक्षहरुलाई सुझाव दिए । वडा सदस्यहरुलाई भूमिका नदिइएको विषयमा असन्तुष्टी उनको थियो ।

त्यस बखत दैलेखका प्रमुख जिल्ला अधिकारी लक्ष्मीप्रसाद बासकोटाले बास्तविक तथ्याकंको आधारमा गरिब परिचयपत्र बनाउन स्थानीय तहका अधिकारीहले प्रत्यक्ष निगरानी गर्न आग्रह गरे । कार्यक्रममा शिक्षा विकास समन्वय इकाईका प्रमुख तेजबहादुर थापाले शैक्षिक गुणस्तर सुधार गर्न स्थानीय तहको अगुवाई हुन आवश्यक भएको बताए ।

जिल्ला समन्वय समितिका प्रमुख प्रेमबहादुर थापाले त्यही सन्दर्भमा अनुगमन अधिकारको नाममा उपभोक्ता र ठेकेदारहरुलाई हैरान नपार्न नगरपालिकाका उपप्रमुख र गाउँपालिकाका उपाध्यक्षहरुलाई सचेत गराए । औपचारिक रुपमा थापाले सो सुझाव दिंदै गर्दा उपप्रमुख र उपाध्यक्षहरुले आफूहरुले त्यसो नगरेको भन्दै आक्रोसित भएका थिए ।

प्रतिक्रिया